माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई सोमबार गाउँपालिका कार्यालयको प्राङ्गणमा सम्पन्न गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय र विषयगत शाखाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ६६ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा १० जना सेवाग्राहीले प्रत्यक्ष र २ जन सेवाग्रहीले अप्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा अनुजा कार्की, होनिसा लिम्बू, मनिषा आले, गजेन्द्र खवास, कमलदेवी खत्री, यामहादुर बस्नेत, समिक्षा खड्का, मित्रकुमार खड्का, युवराज बस्नेत, धनकुमार लोरिन्देन प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । त्यस्तै सचित राई र टेकबहादुर कार्कीले अप्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
सेवाग्राहीले बालबालिका लक्षित कार्यक्रम सञ्चालन नगरिएको, मुटुको बिरामीले गाउँपालिकाबाट सहयोग नपाएको, स्वास्थ्य चौकीमा नियमित औषधि उपलब्ध नभएको, सूचना प्रवाह प्रभावकारी नगराइएको, डोलटार खेलमैदान र सडक निर्माण पारदर्शी नभएको, उर्जा विकास कार्यक्रम अन्तरगत सामग्री खरिद पारदर्शी नभएको भन्दै प्रश्न गरेका थिए । त्यस्तै सार्वजनिक पद धारण गरेका व्यक्तिले छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय व्यवहारिक नभएको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत लक्षित विपन्न व्यकिले तोकिएको अवधिको रोजगार नपाएको, सामुदायिक वन अतिक्रमण बढेको, शिक्षकहरुलाई तालिम नदिइएको, गाउँपालिकाको सेवाकेन्द्र टुङ्गो नलगाइएकोलगायतका गुनासो राखेका थिए ।
सेवाग्राहीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा, पूर्वाधार विकास शाखा प्रमुख युवराज दाहाललगायतले दिएका थिए ।
उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा अनुसरण गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उदेश्यसहित स्वागत सूचना प्रविधि अधिकृत ओमप्रकाश खड्काले गरेका थिए । त्यस्तै सेवाप्रवाहबारे शाखागत रुपमा शाखा प्रमुखहरुले प्रस्तुत गरेका थिए । आर्थिक प्रशासन शाखा प्रमुख मञ्जु भट्टराई, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा, पशुसेवा शाखा प्रमुख सहायक चिकित्सक मनोज ठगुन्ना, योजना र प्रशासन शाखा प्रमुख मनिमा भट्टराई, पूर्वाधार विकास शाखा प्रमुख युवराज दाहाल, कृषि विकास शाखा प्रमुख विवेक दास, रोजगार सेवा केन्द्रका रोजगार सहायक सुरेश राई, लघुउद्यम विकास कार्यक्रम (मेड्पा) का उद्यम विकास सहजकर्ता दिपेन्द्र शाही, पञ्जीकरण शाखा प्रमुख मनकुमार मगर, सुरक्षित वैदेशिक रोजगार कार्यक्रम (सामी) प्रमुख विपिन खुलाल र अपाङ्गता रोकथाम पुनर्स्थापना कार्यक्रम सहजकर्ता चण्डिका लिम्बूले सेवाप्रवाह सम्बन्धीको प्रगतिविवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट सहजकर्ता पत्रकार विप्लव भट्टराईले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ ।
नागरिक अभिमतबाट कार्यालयमा भएको नागरिक बडापत्रबारे सेवाग्राहीलाई जानकारी दिनुपर्ने र सोहीअनुसार सेवा प्रवाह गरिनुपर्ने, पालिका तहमा सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति बढाइनुपर्ने, गाउँपालिकाको आर्थिक श्रोत बढाउने उपाय अवलम्बन गर्नुपर्ने, गाउँपालिकाको आम्दानी र खर्च बाहिर सूचना पाटीमा नियमित टाँस गर्ने व्यवस्था गरिनुपर्ने सुझाव औंल्याइएको छ ।
त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । बहिर्गमन अभिमतबाट सूचनाहरु समावेशी र पारदर्शी हुनुपर्ने, बाटोघाटो सुधार गर्नुपर्ने, योजनाको कामहरु निक्ष्पक्ष गर्नुपर्ने, भएका विकासका कामहरु संरक्षण गर्नुपर्ने, सेवासुविधा समावेशी बनाउनुपर्ने, पालिका केन्द्र स्थायी रुपमा व्यवस्थापन र निर्माण गर्नुपर्ने, विकासको काममा ठाउँअनुसार बजेट विनियोजन गर्नुपर्ने, आलुको बीउ गुणस्तरहीन वितरण गरिएकाले आगामी दिनमा गुणस्तरीय मात्र वितरण गरिनुपर्ने, विद्युत र खानेपानी नभएका ठाउँमा विस्तार गरिनुपर्नेलगायतका सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।
कार्यक्रमको सञ्चालन र सहजीकरण राम योङहाङले गरेका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda र हरप्रहर न्युजबाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमका तस्विरहरु :