‘संघीयता प्रवर्द्धन गर्न पत्रकारिता र स्थानीय तहबीच सहकार्य अपरिहार्य’

  नयाँ बुलन्द
14 Shares

इलाम : संघीयता कार्यान्वयनका गर्नका लागि पत्रकारिता र स्थानीय तहबीच सहकार्य अनिवार्य रहेको एका कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

इलामको माङसेबुङ गाउँपालिकामा सोमबार आयोजित ‘संघीयता प्रवर्द्धनका लागि पत्रकारिता र स्थानीय तहको सहकार्य’ विषयक अन्तरक्रियाका वक्ताहरुले त्यस्तो बताएका हुन् ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको आठौं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले सबैभन्दा नजिकबाट नारिकलाई सेवा प्रदान गर्ने सरकार स्थानीय सरकार भएकाले राम्रा कुराको प्रचार र नराम्रा कुराको खबरदारीका लागि दुइ पक्षबीच सहकार्य अपरिहार्य रहेको बताए ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले पत्रकारिता र गाउँपालिकाको सहकार्य भइरहेको उल्लेख गर्दै गाउँपालिकाले गरेका राम्रा कामको प्रचार गर्न र नराम्रा कामको खबरदारी गर्न अनुरोध गरे । उनले पत्रकारिता क्षेत्रबाट र स्थानीय सरकारबीच विगतदेखि हुँदै आएको सहकार्य निरन्तर जारी रहने प्रतिवद्धता जनाए । ‘हामीले पत्रकारिता क्षेत्रसँग विगतदेखि नै निरन्तर सहकार्य गरिहरेका छौं, आगामी दिनमा समेत यो सहकार्य जारी रहनेछ’ उनले भने, ‘पत्रकारिता क्षेत्रले नराम्रा कामको खबरदारीसँगसँगै राम्रा कामहरुको प्रचारप्रसार गरेर सहयोग गर्न अनुरोध छ ।’

प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले पत्रकारिता क्षेत्र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । ‘पत्रकारिता प्रतिपक्ष मात्र होइन, सत्ता पक्ष पनि हो’ उनले भने, ‘सबैको अन्तिम लक्ष विकास र समृद्धि हो, त्यसको एकमात्र बाटो सुशासन हो, सुशासनका लागि सबै पक्षको सहकार्य अनिवार्य छ ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले व्यवस्था परिवर्तनका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अवस्था परिवर्तनका लागि समेत उत्तिकै भूमिका निर्वाह गर्ने बताए । उनले व्यवस्थाको रक्षा गर्दै अवस्था परिवर्तन गर्न पत्रकारिता क्षेत्र सधैं तत्पर रहेको प्रतिवद्धता जनाए ।

नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि विजयशेखर भट्टराईले स्थानीय नागरिकलाई अधिकार र पहुँच वृद्धिका लागि कानुन कार्यान्वयनमा जोड दिए । प्रेस चौतारी नेपालका अध्यक्ष भीम चापागाइले पत्रकार आचारसंहिताको अधिनमा रहेर पत्रकारिताले स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारिता न्याय, समानता, संघीयत, धर्मनिरपेक्षतालगायतको पक्षमा रहने बताए । राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बलराम बराईलीले तीनै तहको सरकारले पत्रकारिता क्षेत्रसँग सहकार्य गरेर सुशासनको यात्रामा अघि बढ्नुपर्ने बताए ।

माङसेबुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष भूपाल योङहाङ, वडा नं. २ का अध्यक्ष कृष्णबहादुर बस्नेत, वडा नं. ३ का अध्यक्ष लक्षुमन राई जनमसमेतले पत्रकारिता र स्थानीय तहबीच सहकार्य गरेर संघीयतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नयाँ बुलन्दका सम्पादक राम योङहाङले ‘संघीयता प्रवर्द्धनका लागि पत्रकारिता र स्थानीय तहको सहकार्य’ विषयक छलफल प्रस्तुत गर्दै दुई पक्षको सहकार्यले मात्र संघीयता बलियो गरी कार्यान्वयन हुनेमा जोड दिए । उनले सर्वसाधारण नागरिकले समेत संघीयताको प्रतिफल अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले संघीयता कार्यान्वयनमा स्थानीय तहमा पत्रकारिताको भूमिका, स्थानीय तहले पत्रकारितासँग राख्नुपर्ने सम्बन्ध, स्थानीय तह र पत्रकारिताले गर्नुपर्ने सहकार्यहरुलगायतका विषयहरु छलफलपत्रमा उल्लेख गरेका थिए । सो छलफलपत्रमा विभिन्न वक्ताहरुले सुझावसहित टिप्पणी गरेका थिए ।

नयाँ बुलन्दले संघीयता कार्यान्वयनमा सहयोगी बन्ने भन्दै पहिलोपटक सदरमुकाम बाहिर जिल्लाको माङसेबुङ गाउँपालिकामा वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८१ सार्वजनिक भएको छ । प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईसहित, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, माङसेबुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष भूपाल योङहाङ, वडा नं. २ का अध्यक्ष कृष्णबहादुर बस्नेत, वडा नं. ३ का अध्यक्ष लक्षुमन राई जनमसहित उपस्थित जनप्रतिनिधि, कर्मचारी एवम् जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरे ।

यस्तै नयाँ बुलन्द डटकमको वार्षिक उत्सवको अवसरमा बर्सेनि एक जना इलामका पत्रकारलाई पुरस्कृत गर्ने गरी स्थापना गरेको १० हजार राशीको ‘नयाँ

बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ बाट जिल्लाका क्रियाशील युवा पत्रकार प्रकाश नेपाल पुरस्कृत भएका छन् ।  उनलाई प्रमुख अतिथि माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले दोसल्ला र सम्मानपत्र सहित १० हजारको चेक हस्तान्तरण गरे ।

नेपाल इमेज टेलिभिजन र हिमालय टाईम्स राष्ट्रिय दैनिकका जिल्ला संवाददाता हुन् । उनी नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन ।

पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान सहित पुरस्कृत गरिएको नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए । ‘नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्‍याएको महत्वपूणर् योगदानको कदर गर्दै सम्मान सहित पुरस्कृत गरिएको हो’ सम्पादक योङहाङले भने, ‘वार्षिक रूपमा एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेछौँ ।’

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक उपसम्पादक युद्धबहादुर बोहोराले र स्वागत नयाँ बुलन्दकर्मी बालकृष्ण बस्नेतले गरेका थिए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र इलामका सञ्चारकर्मी गरी ४० जनाको सहभागिता थियो । सूचना तथा प्रशारण विभागमा दर्ता गरी २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ । नयाँ बुलन्द  प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डमा समेत सूचिकृत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार