
इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले आफ्नो आठौं वार्षिक उत्सव कार्यक्रम सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । संघीयता कार्यान्वयनमा सहयोगी बन्ने भन्दै पहिलोपटक सदरमुकाम बाहिर जिल्लाको माङसेबुङ गाउँपालिकामा वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८१ सार्वजनिक भएको छ । प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईसहित, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, माङसेबुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष भूपाल योङहाङ, वडा नं. २ का अध्यक्ष कृष्णबहादुर बस्नेत, वडा नं. ३ का अध्यक्ष लक्षुमन राई जनमसहित उपस्थित जनप्रतिनिधि, कर्मचारी एवम् जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरे ।
यस्तै नयाँ बुलन्द डटकमको वार्षिक उत्सवको अवसरमा बर्सेनि एक जना इलामका पत्रकारलाई पुरस्कृत गर्ने गरी स्थापना गरेको १० हजार राशीको ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ बाट जिल्लाका क्रियाशील युवा पत्रकार प्रकाश नेपाल पुरस्कृत भएका छन् । उनलाई प्रमुख अतिथि माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले दोसल्ला र सम्मानपत्र सहित १० हजारको चेक हस्तान्तरण गरे ।

नेपाल इमेज टेलिभिजन र हिमालय टाईम्स राष्ट्रिय दैनिकका जिल्ला संवाददाता हुन् । उनी नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन ।
पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान सहित पुरस्कृत गरिएको नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए । ‘नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन पुर्याएको महत्वपूणर् योगदानको कदर गर्दै सम्मान सहित पुरस्कृत गरिएको हो’ सम्पादक योङहाङले भने, ‘वार्षिक रूपमा एकजना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेछौँ ।’
यस्तै ‘संघीयता कार्यान्वयनमा पत्रकारिता र स्थानीय तहको सहकार्य’ विषयक अन्तरक्रिया भएको छ । कार्यक्रममा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले ‘संघीयता कार्यान्वयनमा पत्रकारिता र स्थानीय तहको सहकार्य’ छलफलपत्र प्रस्तुत गरेका थिए । सो छलफलपत्रमा विभिन्न वक्ताहरुले सुझावसहित टिप्पणी गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले संघीयता कार्यान्वयनलाई बलियो बनाउनका लागि पत्रकारिता र स्थानीय तहको सहकार्य अपरिहार्य रहेको बताए । गाउँपालिका अध्यक्ष हेमन्त राईले पत्रकारिता क्षेत्रबाट र स्थानीय सरकारबीच विगतदेखि हुँदै आएको सहकार्य निरन्तर जारी रहने प्रतिवद्धता जनाए । ‘हामीले पत्रकारिता क्षेत्रसँग विगतदेखि नै निरन्तर सहकार्य गरिहरेका छौं, आगामी दिनमा समेत यो सहकार्य जारी रहनेछ’ उनले भने, ‘पत्रकारिता क्षेत्रले नराम्रा मात्र नभएर राम्रा कामहरुको प्रचारप्रसार गरेर सहयोग गर्न अनुरोध छ ।’
यस्तै प्रमुख प्रशासकीय अधिकृत चौहान, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भट्टराई, माङसेबुङ गाउँपालिका वडा नं. १ का अध्यक्ष योङहाङ, वडा नं. २ का अध्यक्ष बस्नेत, वडा नं. ३ का अध्यक्ष राई, नेपाल प्रेस युनियनका प्रतिनिधि विजयशेखर भट्टराई, प्रेस चौतारी इलामका अध्यक्ष भीम चापागाई, राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बलराम बराइलीलगायतले संघीयता प्रवर्द्धनमा पत्रकारिता क्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक उपसम्पादक युद्धबहादुर बोहोराले र स्वागत नयाँ बुलन्दकर्मी बालकृष्ण बस्नेतले गरेका थिए ।
कार्यक्रममा माङसेबुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र इलामका सञ्चारकर्मी गरी ४० जनाको सहभागिता थियो । सूचना तथा प्रशारण विभागमा दर्ता गरी २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ । नयाँ बुलन्द प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डमा समेत सूचिकृत छ ।















































