इलाम–२ मा मतदाता फकाउँदै उम्मेदवार, अनेक आश्वासन बाँड्दै घरघरमा

  राम योङहाङ
91 Shares

इलाम : आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेद्वारहरु मतदाताहरुलई आफूतिर तान्न कसरत गरिरहेका छन् । उपनिर्वाचन नजिकिदै गर्दा उम्मेद्वारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । यो क्षेत्रमा राजनीतिक दलका १२ र स्वतन्त्र सात गरी १९ उम्मेद्वारहरु छ वटै पालिकाका टोलटोलमा पुगेका छन् । उनीहरु विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन् । उनीहरुले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । मतदाता फकाउन उम्मेद्वारले अनेक शैली अपनाउने गरेका छन् । उम्मेद्वारहरु झुकेरै मतदाताको मन आकर्षित गरिरहेका दृश्य देखिन्छन् । भौगोलिक रुपमा विकटभएपनि उम्मेद्वारहरु मतदाताका घरघरमा पुग्दा मतदाताहरु मख्ख हुन्छन् । उम्मेद्वार टोलटोलमा पुगेर आफ्नो घोषणापत्र र प्रतिवद्धतापत्र मतदातामाझ प्रस्तुत गरिरहेका छन् ।

२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेकपा एमालेका उम्मेद्वार सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए । तर उहाँको २०८० भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एकमात्र क्षेत्रमा निर्वाचन हुन लागेपनि देशभरका राजनीतिक सरोकारवालाहरुको ध्यान यतिबेला इलाम-२ मा खिचिएको छ । यो उपनिर्वाचन पुराना र नयाँ दलहरुको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ ।

इलाम-२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेद्वारी कायम रहेपनि मुख्य प्रतिष्पर्धा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै प्रतिष्पर्धा हुनेछ ।

एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, नेपाल परिवार दलको समर्थन छ । राम्रो सङ्गठन र जनाधार भएकाले एमाले निकै बलियो मानिन्छ । उम्मेद्वार नेम्बाङले आफू एमालेको मात्र नभई चार दलको साझा उम्मेद्वार भएकाले विजय निश्चित रहेको दावी गर्छन् । ‘म एक्लै चुनाव लडिरहेको छैन, चार दल र साथमा यहाँका जनताको पनि साथ छ,’ उनले भने, ‘मेरो बाबु स्वर्गीय सुवासचन्द्र नेम्बाङको अधुरो कामलाई पूरा गराउनका लागि पनि यहाँका जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’ उनले गाउँगाउँका मतदातामाझ पुगेर आफ्ना आवश्यकता, समस्या, चाहनालाई आफू र पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी कागजमा टिपाइदिन अपिल समेत गर्दै आएका छन् ।

सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका स्वर्गीय सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । सो निर्वाचनमा समानुपातिकमा एमालेले २६ हजार पाँच सय ६२ र माओवादी केन्द्रले पाँच हजार एक सय ५३ मत प्राप्त गरेको थियो ।

उता २०७९ को निर्वाचनमा एमाले उम्मेद्वार सुवासचन्द्र नेम्बाङसँग एक सय १४ मतले मात्र पराजित भएका कांग्रेस जिल्ला सभापति समेत रहेका खड्का यस पटक हारको बदला लिने दाउमा छन् । उनी कार्यकर्ता भेटघाट, अन्तरक्रिया तथा घरदैलोमा व्यस्त छन् । ‘विगत लामो समयदेखि यस क्षेत्रमा एकैजनाले मात्र जित्दा विकास केही भएन, यस क्षेत्रको विकास गर्न मैले जित्नैपर्छ,’ खड्काले भने, ‘म यहाँको प्रतिनिधि नभएपनि यस क्षेत्रका गरीब, असहाय, वृद्धवृद्धा तथा युवाहरुका लागि थुप्रै राम्रा कामहरु गरेको छु, त्यसैले यहाँका मतदातासँग मेरो पनि गठबन्धन छ, यस पटक चुनाव जितिन्छ ।’

नेम्बाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए । तर सो मत कांग्रेस एक्लैको नभएर तत्कालीन गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत थियो । कांग्रेले त्यतिबेला समानुपातिकमा २२ हजार तीन सय ३३ मत पाएको थियो । त्यसैले उहाँलाई यो निर्वाचन जित्नका लागि त्यति सहज छैन । यो निर्वाचनमा माओवादी केन्द्रले एमाले उम्मेद्वार नेम्बाङलाई समर्थन गर्नु र एकीकृत समाजवादीले आफ्नै उम्मेद्वार उठाउनुले कांग्रेस उम्मेद्वारको मत घट्ने देखिन्छ ।

त्यसैगरी पत्रकारिता छाडेर नयाँ राजनीतिक दलमा आवद्ध भइ निर्वाचनमा होमिएका रास्वपाका उम्मेद्वार लिम्बूले विगतदेखि त्यहाँ जित्दै आइको एमाले र निकट प्रतिष्पर्धी कांग्रेससँग प्रतिष्पर्धा गर्नका लागि प्रचारप्रसार तीव्र बनाएका छन् । परम्परागत दलहरुप्रति बढ्दो अविश्वासको बीचबाट उदय भएको रास्वपाबाट लिम्बूले एमाले र कांग्रसेका उम्मेद्वारलाई राम्रै धक्का दिने विश्लेषण गरिन्छ ।

आफूलाई इलामको अर्गानिक उम्मेद्वार दावी गर्दै आएका लिम्बूले पुराना राजनीतिक दलको अकर्मन्यताबाट नागरिकमा निराशा र आक्रोशित मतदाताहरुले यसपटक चामत्कारिक रुपमा मत परिवर्तन गर्ने दावी गर्छन् । ‘पुराना दलहरुसँग यहाँका मतदाताहरु सन्तुष्ट छैनन्, अधिकतर मतादाता हाम्रो अभियानमा जोडिरहनुभएको छ’ उनले भने, ‘यस पटकको उपनिर्वाचनमा इलामेली मतदाताले चमत्कार गर्दैछन्, धेरैलाई विश्वास छैन तर हाम्रो झण्डा फहरिनेछ ।’ रास्वपाले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा एक हजार तीन सय ८० मत र समानुपातिकमा चार हजार छ सय ८६ मत पाएको थियो ।

उता पहिचानवादी ४१ घटकका उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमले समेत आफ्नो प्रचारप्रसार तीव्र बनाएका छन् । थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोशी प्रदेशमा आन्दोलनरत ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ को तर्फबाट साझा उम्मेद्वार खडा भएका हुन् । तत्कालीन प्रदेश १ लाई कोशी नामाकरणपछि त्यसका विरुद्ध आन्दोलनको नेतृत्वमा रहनुभएका थेगिमले संघीयतालाई बलियो बनाउँदै पहिचान, समान अधिकार, शान्ति र दीगो विकासको अजेण्डा लिएर मतदातामाझ पुगिरहेका छन् ।
उनले प्रदेश पुनःनामाकरणको मुद्धालाई प्रतिनिधिसभा मार्फत राष्ट्रिय मुद्धा बनाउने अभियानका लागि यस पटक मतदाताले पहिचान पक्षधर उम्मेद्वार नै चाहेको दावी गरे । ‘पहिचान पक्षधर उम्मेद्वार पनि भएकाले यस पटक मतदाताहरु उत्साही भएको पाइएको छ,’ उनले भने, ‘विगतमा पहिचान पक्षधरलाई दलहरुले धोका दिएका छन्, यस पटक आफ्नै उम्मेद्वार भएपछि उहाँहरु खुसी हुनुहुन्छ, अब पहिचान पक्षधरलाई कसैले रोक्न सक्दैन ।’

‘मुढा’ चुनाव चिन्ह पाएका उनलाई सत्ता साझेदारी दल जनता समाजवादी पार्टीसहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।

बलिया मानिएका यी चारैजना उम्मेद्वारहरु एक अर्कालाई रोकेर आफू प्रतिनिधि सभामा प्रवेश गर्ने रणनीतिमा छन् । यी बाहेक सो क्षेत्रमा नेकपा एकीकृत समाजवालीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टिका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनीबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली समेत चुनावी प्रचारमा लागेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल र उहाँहरुको टोलि अहिले मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

निर्वाचन आयोले उम्मेद्वारहरुलाइ गत चैत २८ देखि वैशाख १२ गते सम्मका लागि चुनावी प्रचारप्रसारको अवधि तोकिदिएको छ । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार