मतदाता सम्झिन्छन् सुवास, अवाक बन्छन् सुहाङ

इलाम : इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ बुधबार बिहान ७ बजे चुनावी प्रचारप्रसार र घरदैलोमा जान ठीक्क परेका थिए । झापाको दमकस्थित पाथीभरा होटल अगाडि सवारी साधन तयारी अवस्थामा थिए भने प्रचार सामाग्री र पम्पलेट बोरामा कसिदै थियो ।

चुलाचुली गाविसको तल्लो क्षेत्रमा मंगलबार चुनावी प्रचारप्रसार गरेका सुहाङलाई भेट्न इलाम घर भएका तर झापाको दमक आसपासमा बस्ने कार्यकर्ता, शुभचिन्तक र मतदाता होटलको कोठाबाट निस्केर भेला भए । एक छिनमा कालो कोट, कालै भादगाउँले टोपी र कालो छालाको ब्याग बोकेर झरे सुहाङ । लिम्वू शैलीमा भुइँ सोर्दै नमस्कार गरपछि सुहाङ केहीबेर होटलको लविमा नेता तथा कार्यकर्तासँग गफिए । अनि चढे बोलेरो गाडीमा ।

एमालेको चुनाव चिन्ह बाँधिएको बोलेरो २० मिनेट हुइँकिएपछि माङसेबुङ गाउँपालिकाको वडा नम्बर ४ मार्चेबुङमा रोकियो । मार्चेबुङमा पुग्दा युवा संघका केही नेता तथा कार्यकर्ता भेला भइसकेका थिए । चाउचाउ र भुजा खाएपछि केहीबेर युवासंघका नेता तथा कार्यकर्ताहरूसँग भलाकुसारी गरे । छेउमै बसिरहेका थिए ६८ वर्षीय हर्क साँवा । भुइँ सोर्दे सुहाङले नमस्कार गरेपछि साँवालाई भने, ‘म तपाईँकै छोरा भतिजा हो, यसपटक चुनावमा उठेको छु विश्वास गर्नु होला ।’

सुहाङले यति भनेपछि साँवाले केहीबेर सुहाङलाई हेरेर भने, ‘बाउजस्तै पो रैछ । पहिलो पटक देखेँ हौ । ठ्याक्कै उस्तै रैछ ।’

मुसुक्क हाँस्दै सुहाङले भने, ‘बुबाले गर्न नपाएका अधुरा काम गर्न पार्टीले जिम्मेवारीसहित उम्मेदवार बनाएको छ । यसपटक जिताइदिनु होला ।’

साँवाले जवाफ दिए, ‘हामीले पहिले पनि भोट दिएको हो । यसपटक पनि पक्का । बुवाले यो बाटोमा बनाउनु थाल्नु भयो । अझै बनिसकेको छैन । बिचरा यस्तो भयो ।’

उनले सुवास नेम्वाङ सम्झाउँदा सुहाङको अनुहार मलिन देखियो । त्यसपछि केहीबेर मोटरसाइकल चढेर घरदैलोमा पुगेका सुहाङले बारीमा मकै गोड्दै गरेका खेतलाहरूलाई भेटे । खेतालासँग मत मागेपछि उनी पुगे रनमाया राईको नजिक । ८१ वर्षीया राईलाई उनकै भाषामा सुहाङसँगै रहेका एमाले कार्यकर्ताहरूले सुवासको छोरा हो भनेर चिनाए ।

उनले सुहाङको अनुहार हेरिन् र भनिन्, ‘सुवास त बिते होइन ?’

सुहाङले बुवा बितेपछि आफू चुनावमा उठेको भन्दै मत दिन आग्रह गरे । रनमायाले सुवास नेम्वाङ आफ्नो घरमा आएर भात खाएको सम्झिन् । उनले त्यो सुनाउँदा सुहाङ भावुक देखिए ।

निकैबेरको मौनता तोडेर उनले भने, ‘यसपटक विश्वास गर्नुहोला । अरूलाई पनि चुनावमा उठेको छ भनेर सुनाइदिनु होला ।’

यसरी सुहाङ नेम्वाङको घरदैलो र चुनावी कार्यक्रममा सबै मतदाताले दिवंगत सुवासकै नाम लिए, उनका गुणहरूको बखान गरे ।

सुहाङ भने मौन बस्थे । कहिले काहीँ भावुक बन्थे । माङसेबुङ गाउँपालिका वडा नम्बर ४ सिमल टारमा भएको कार्यक्रममा स्थानीयले समस्याहरू सुनाए ।

अघिल्लोपटक प्रतिनिधिसभाको निर्वाचनका बेला सिमालटारमा बिजुलीको समस्या थियो । दमक राँके चिसापानी सडक खण्डको मार्चेबुङबाट झण्डै ९ किलोमिटर भित्र पुगेपछि पुगिने सिमलटारमा बिजुलीको समस्या समाधान गरिदिन मतदाताले सुवाषसमक्ष आग्रह गरेका थिए । एक हप्ताअघि मात्र सिमालटारमा बिजुली बलेको कोणसभामा सहभागीहरूले बताए ।

कोणसभामा बिजुलीको समस्या लगभग समाधान भए पनि खानेपानीको समस्या रहेको स्थानीयले गुनासो गरे । सिमलटारबाट पारी महमाई जाने बाटोको ट्र्याक मात्रै खुलेकाले स्तरोन्नतिको माग गरे । स्थानीय धनमाया साँवाले मह माई जाने बाटो नहुँदा समस्या भएको बताइन् ।

‘हामीले सुवासलाई पटकपटक भोट दियौं,’ उनले भनिन्, ‘उहाँले काम पनि गर्नुभयो, तर अझै काम गर्नुपर्ने छ ।’

साँवाले बाटो र खानेपानीको समस्या हुँदा गाउँका धेरैजसो झापा झरिसकेको र गाउँ खालि भएको बताइन् ।

‘हामीलाई पानीको समस्या छ । बुबाको प्रतिनिधिको रूपमा तपाईँ आउनु भएको छ, हाम्रो समस्या सम्वोधन होस्,’ उनले माग राखिन् ।

स्थानीयसँगको छलफल पछि सुहाङले आफू बुवाकै सपना पुरा गर्न चुनावमा होमिएको बताए ।

‘हामीलाई सबै कुरा थाहा छ । राजनीतिक परिवारमा हुर्किएको हुनाले मलाई यस क्षेत्रका समस्याहरू थाहा छन् । समस्या समाधान गर्न लाग्नेछु । यसपटक मत दिनु होला,’ उनी भन्दै थिए ।

सुहाङसँगै चुनावी कार्यक्रममा रहेका एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानाले जनताका माझामा यसअघि गरेका बाचा पूरा गर्न आफूहरू लागेको बताए । माओवादी केन्द्रका इलाम इन्चार्ज कान्छा लावतीले यसपटक बामपन्थीहरुको एकता लिएर चुनावमा भोट माग्न आएकाले सुहाङलाई मत दिन आग्रह गरे ।

-सुमन पुरी/नेपाल प्रेस 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार