फिक्कल (इलाम) : इलामको माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन् ।
उनले माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा विगत सात वर्षदेखि व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका छन् । काठमाडौंमा शिक्षण पेसा गर्दै आएका उनले २०७३ सालमा शिक्षण छाडेर ‘इलाम एग्रो फार्म’ सुरु गरेका हुन् । कार्कीको फार्म अहिले नमूना फार्मका रूपमा परिचित छ । व्यावसायिक बाख्रापालन गरी गाउँमै धेरै आम्दानी गर्ने किसानका रूपमा समेत परिचित छन् ।
देशकै राजधानीमा लामो समय बिताउँदासमेत जीविकोपार्जनमा समस्या भएपछि आफ्नै गाउँ फर्केर सात वर्षदेखि बाख्रापालन गर्दै आएको कार्कीले बताए । ‘१० वर्षसम्म काठमाडौंका विभिन्न कलेजमा पढाएँ तर सोचेजस्तो आम्दानी गर्न सकिनँ, सहरमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा केही गर्छु भनी गाउँ फर्केर सात वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु’, उनले भने, ‘वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म कमाइरहेको छु, यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ ।’
उनले सहरमा बगाउने पसिना गाउँमा नै बगाए गाउँलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने बताए । कार्कीले व्यवसायमा निरन्तरता दिए गाउँमा बसेर राम्रो आम्दानी गर्न सकिने बताए ।
उनले सञ्चालन गरेको फार्ममा अफ्रिकन बोयर, खरी र जमुनापारि जातका माउ, ब्याड बोका र पाठापाठी गरी एक सयको हाराहारीमा बाख्रा रहेका छन् । त्यहाँ उत्पादित बाख्रा खपतका लागि बजारको समेत कुनै समस्या छैन । व्यापारीहरू बाख्रा र पाठापाठी खरिद गर्न फार्ममा आउने गरेको कार्कीले बताए । उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरूका लागि उदाहरण बन्न सकिन्छ कि भनेर जागिर छाडेर बाख्रापालन सुरु गरेको दाबी गरे ।
‘बिउ उत्पादन गर्ने सोचका साथ सुरुमा अफ्रिकाबाट बोयर बोका र माउ ल्याएर बाख्रापालन सुरु गरियो, अहिले यही व्यवसायबाट खर्च कटाएर बचेको पैसाले घरखर्च चलेको छ’, उनले भने, ‘बिक्रीका लागि बजारको समस्या छैन, यहाँ उत्पादित बाख्रा र बोका इलामसहित देशभरका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ ।’
कार्कीको फार्ममा दुईजना युवाले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक दुई जना कामदारलाई रोजगारी दिएको उनले बताए । ‘फार्ममा हामी आफैं पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई युवालाई कामदारका रूपमा रोजगारी दिएको छु,’ कार्कीले भने, ‘आफू स्वरोजगार भई अरूलाई समेत रोजगारी दिन पाउँदा आनन्द लाग्दोरहेछ ।’
उनले बाख्रापालनमा सहजताका लागि उन्नत जातको घाँसखेती लगाएका छन् । ४० रोपनी जमिनमा उन्नत जातको घाँस लगाएको उनले बताए । कार्कीले रोजगारीको अवसर नभएको भन्दै विदेशिने युवालाई गाउँघरमै कुनै न कुनै व्यवसाय गरेर आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।
उनले सरकारबाट समेत सहयोग राम्रै पाएका छन् । कार्कीको फार्मले प्रोत्साहनस्वरूप तीन वर्षअघि तत्कालीन प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट व्यावसायिक नमूना बाख्रा फार्म कार्यक्रमअन्तर्गत ७ लाख रुपैयाँ अनुदान पाएको बताए ।
सो अनुदानबाट आधुनिक खोर निर्माण गरेका छन् । ब्याड बोका, माउ बाख्रा, खसी, बोका एवं पाठापाठी राख्ने खोर अलगअलग बनेको छ ।
-फरकधार