श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजको स्मरणपत्र (भिडियोसहित)

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै महासंघ केन्द्रीय समितिलाई सात दिने अल्टिमेटमसहित स्मरणपत्र पत्र बुझाएको छ ।

मङ्गलबार फोनिज इलामले नेपाल पत्रकार महासंघ इलाम शाखामार्फत केन्द्रीय समितिमा स्मरणपत्र बुझाएको हो । फोनिज इलामका अध्यक्ष राम योङहाङ नेतृत्वको टोलिले महासंघ इलाम शाखा अध्यक्ष विप्लव भट्टराई र सचिव भीम चापागाईंलाई स्मरणपत्र बुझाएका हुन् । फोनिजको टोलिमा प्रदेश १ सदस्य अतित योङहाङ, सहसचिव सिर्जना श्रेष्ठ, कोषाध्यक्ष सुनिता राई, कार्यसमिति सदस्य सरीता राईलगायत सहभागी थिए ।

स्मरणपत्र बुझाउँदै फोनिज अध्यक्ष योङहाङले तथ्य र प्रमाणका आधारमा श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष कायम गर्न जिल्ला शाखाको तर्फबाट केन्द्रीय समितिलाई आवश्यक पहल गर्न आग्रह गरे । स्मरणपत्र बुझ्दै महासंघ इलाम शाखा अध्यक्ष भट्टराईले तत्काल केन्द्रीय समितिमा पठाउने प्रतिवद्धता जनाउँदै केन्द्रीय स्तरबाट नै समस्या समाधान हुनुपर्ने धारणा राखे । ‘यो स्मरणपत्र हामी तुरुन्त केन्द्रीय समितिमा पठाउँछौं, यस्तो समस्या केन्द्रीय स्तरमा नै छलफल गरेर टुङ्ग्याउने विषय हुन्’ उनले भने, ‘हामी केन्द्रीय समितिलाई पनि सोही सुझाव दिन्छौं ।’

फोनिजले तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको दाबी गरेको छ । श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत माग गरिएपनि गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएपछि निर्णायक आन्दोलनमा उत्रिएको फोनिजले जनाएको छ ।

सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीति विरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको ज्ञापन पत्रमा उल्लेख छ । ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महाससंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्र सहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने चेतावनी फोनिजले दिएको छ ।

भिडियो हेर्नुहोस् :

यस्तो छ ज्ञापनपत्र :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार