वडामै योजना सम्झौताले फाकफोकथुमका उपभोक्ता उत्साहित

योजना सम्झौता गर्न इलामको फाकफोकथुम गाउँपालिका-४ नं. वडा कार्यालय पुगेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहितको गाउँपालिकाको कर्मचारी टिम । तस्बिर : नयाँ बुलन्द

इलाम : फाकफोकथुम गाउँपालिका-७ एकतप्पाका पञ्चबहादुर योङहाङ बुधबार उत्साहित देखिन्थे । स्थानीय सिद्ध किरात हाङसाम युमा माङहिम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका योङहाङ वडामै योजना सम्झौता भएपछि उत्साहित भएका हुन् ।

विगतमा योजना सम्झौता गर्नकै लागि एक दिन समय खर्चे गाउँपालिका धाउँदै आएका योङहाङ यसपटक भने घर वडाबाटै योजना सम्झौता भएपछि उत्साहित भएका हुन् । वडाबाटै योजना सम्झौता भएपछि समय र पैसा बचत भएको भन्दै फाकफोकथुमबासी उपभोक्ताहरु उत्साहित भएका हुन् ।

‘विगतमा योजना सम्झौता गर्नका लागि गाउँपालिकाको केन्द्र आमचोकसम्म सचिव र कोषाध्यक्षसहित हामीले दुई/तीन पटकसम्म धाउनुपर्दथ्यो । गाउँपालिकासम्म जान आउन गाडीभाडा, खाना, खाजालगायतको खर्च व्यक्तिगत रुपमै व्यहोर्नुपर्ने हुन्थ्यो’ अध्यक्ष योङहाङले भने, ‘वडाबाट एकैछिनमा योजना सम्झौता भयो । वडामै योजना सम्झौता गर्न पाउँदा सयमको त बचत भयो नै, पैसाको समेत बचत भएको छ ।’

फाकफोकथुम गाउँपालिका-२ का गणेश खत्रीले पनि पोख्रेल गाउँ-बोहोरा गाउँ-झुल्केधारा-एक्लो गाउँ तिवाखोला-मलामी टहरा-जसे खोल्सा खानेपानी आयोजनाको सम्झौता वडाबाटै गरेका छन् । गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको बताए ।

गाउँपालिकाले वडामा नै योजना सम्झौता गर्ने व्यवस्था मिलाएपछि उपभोक्ताको समय र पैसा दुवै बचत भएको उपभोक्ताहरुले बताएका छन् ।

फाकफोकथुम गाउँपालिकाले शिविर सञ्चालन गरी वडाबाटै योजना सम्झौता गरेको हो । फाकफोकथुमले पहिलो चरणमा ५ वटा वडामा पुगेर विभिन्न ५३ वटा योजना सम्झौता गरेको योजना शाखा प्रमुख माधव दाहालले जानकारी दिए । उनका शिविरमार्फत वडा नं. १ मा १० वटा, वडा नं. ४ मा ११ वटा, वडा नं. ५ मा ७ वटा, वडा नं. ६ मा १६ वटा र वडा नं. ७ मा ९ वटा योजना सम्झौता भएका छन् । ७ वटा वडा रहेको फाकफोकथुमले वडा नं. ३ गाउँपालिकाको कार्यालय भएको र वडा नं. २ सँगै जोडिएकाले कार्यालयबाटै योजना सम्झौता गरिने उनले बताए ।

फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूको नेतृत्वमा पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहितको कर्मचारीको टोली वडावडामा पुगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत लिम्बूले साना योजना सम्झौता गर्न समेत गाउँपालिका पुग्नुपर्ने भएकाले उपभोक्ताले धेरै दुःख पाईरहेकाले उपभोक्ताको सहजताका लागि वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाईएको बताए । ‘ससाना योजनाहरु समेत सम्झौता गर्न उपभोक्ताले गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यता र कतिपयको एकै पटकमा काम नहुँदा धेरै दुःख पाइरहेको पाइयो’ उनले भने, ‘उहाँहरुको सहजताका लागि वडामै योजना सम्झौताको व्यवस्था मिलाईएको हो ।’

यसैबीच फाकफोकथुमले उपभोक्ता समितिका लागि अभिमुखीकरण समेत सञ्चालन गरेको छ । उपभोक्ता समितिका पदाधिकारीलाई एक दिवसीय अभिमुखीकरण सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताए ।

वडामै पुगेर योजना सम्झौता र अभिमुखीकरणले बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्युनीकरण गर्न उपभोक्ता समितलाई सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । फाकफोकथुम गाउँपालिकाले चालु आव २०८०।०८१ का लागि रु ५८ करोड ७७ लाख ८८ हजारको बजेट ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार