इलाम : राष्ट्रिय परिचयपत्रका लागि इलामबाट एक लाख ४३ हजार बढीले विवरण दर्ता गराएका छन् । नेपाली नागरिकताको कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउने उद्देश्यले बन्ने बहुउपयोगी राष्ट्रिय परिचयपत्रका लागि इलामबाट एक लाख ४३ हजार नौ सय ३९ जनाले विवरण दर्ता गराएका हुन् ।
२०७७ साउन साउन १४ गतेदेखि विवरण सङ्कलन सुरु गरेको जिल्ला प्रशासन कार्यालयले २०८० पुस मसान्तसम्म सो परिमाणमा विवरण सङ्कलन र दर्ता गरिएको राष्ट्रिय परिचयपत्र फोकल पर्सन तथा प्रशासकीय अधिकृत हरिकुमार थापाले जानकारी दिए ।
थापाका अनुसार विवरण दर्ता गरिएकामध्ये ३७ हजार पाँच सय ७९ जनाको परिचयपत्र छपाई भएर आएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १६ हजार तीन सय ६३ महिला र २१ हजार दुई सय १६ पुरुषको परिचयपत्र छपाई भएर आएको प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।
जिल्लाका दुई हजार आठ सय १७ जनाले आफ्नो परिचयपत्र समेत प्राप्त गरिसकेका छन् । एक हजार ३९ महिला र एक हजार सात सय ७८ पुरुषले आफ्नो परिचयपत्र परिचयपत्र प्राप्त गरेको उनले बताए । जिल्ला प्रशासन कार्यालयले २०८० साउन १८ गतेदेखि कार्यालयबाटै परिचयपत्र वितरण सुरु गरेको थियो ।
‘हामीले सार्वजनिक सूचना जारी गरेर गत साउन १८ गतेबाट नै कार्यालयबाटै परिचयपत्र वितरण गरिरहेका छौं । अहिलेसम्म दुई हजार आठ सय १७ जनाले बुझिलिइसक्नुभएको छ,’ उनले भने, ‘मोबाइलमा म्यासेज जाने सिस्टम छ । कतिपयको नम्बर परिवर्तन भएकाले थापा नपाएर पनि नआएको हुनसक्छ । परिचयपत्र बुझ्न बाँकीहरुले समेत कार्यालयमा आएर बुझिलिन अनुरोध गर्दछु ।’
जिल्ला प्रशासन कार्यालमा अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न आउनेको भिड लाग्ने गरेको छ । यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने गरिएपनि पछिल्लो समय परिचयपत्रै लागि मात्र आउने सेवाग्राही पनि बढेको थापाले बताए ।
सरकारले विद्युतीय राहदानी (ईपासपोर्ट) वितरण सुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर (एनआइएन) अनिवार्य गरेपछि जिल्लामा परिचयपत्र बनाउने सेवाग्राहीको भिड लाग्ने गरेको उहाँले बताउनुभयो । एनआइएनको आधारमा राहदानीको फाराम भर्न सकिने भएकाले राहदानी बनाउन तयारी सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय पुग्ने गुरेका छन् ।
तत्कालका लागि परिचयपत्र छपाई भएर नआएपनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले एनआइएन भने पाउन सक्छन् । विवरण प्रविष्ट गरेको २४ घण्टभित्र व्यक्तिले एनआइएन प्राप्त गर्छन् । एनआइएन विभागबाट प्रदान गरिने १० अङ्कको नदोहोरिने पृथक नम्बर हो । परिचयपत्र उपलब्ध नभएसम्म आवश्यक परेका ठाउँमा सोही एनआइएन भए पुग्छ ।
राष्ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान हो । नागरिकको फोटोसहितको स्मार्ट कार्डमा व्यक्तिगत विवरण तथा बायोमेट्रिक विवरण (आँखाको नानीको फोटो, १० औंलाको छाप विद्युतीय हस्ताक्षर) समावेश हुन्छ ।
राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा राहदानी लिन, सामाजिक सुरक्षा भत्ता लिन, राहत अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद बिक्री गर्न, व्यक्तिगत घटना दर्ता गर्न र बैंक खाता खोल्न तथा कारोबार गर्न, मोबाइलको सिमकार्ड लिन वा त्यस्तो सेवा सुविधाको माग गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भनिएको छ । तर, हाल राहदानी लिनुपर्दा र सामाजिक सुरक्षा भत्ता लिनुपर्दा मात्र राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार इलामको जनसङ्ख्या दुई लाख ७९ हजार पाँच सय ३४ रहेको छ । जसमध्ये एक लाख ४० एक सय तीन महिला र एक लाख ३९ हजार चार सय ३१ पुरुष रेका छन् ।