जनैको आयात रोक्न महिलालाई जनै बनाउन सिकाउँदै इलाम नगरपालिका (तस्बिरहरु)

  राम योङहाङ
434 Shares

जनै बनाउन सिक्दै  इलाम नगरपालिका-७ का एकल महिलाहरु ।  हिन्दु धर्मावलम्बीहरुले प्रयोग गर्ने जनै स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्यले इलाम नगरपालिकाले तालिम दिएको हो । तस्बिर : नयाँ बुलन्द

इलाम : विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले इलाम नगपालिकाले जनै बनाउने तालिम सुरु गरेको छ ।

हिन्दु धर्मावलम्बीहरुले प्रयोग गर्ने जनैको आयात रोक्न नगरपालिकाले वडा नं. ७ का एकल महिलाहरुलाई जनै बनाउने सम्बन्धी तीन दिने तालिम बुधबारदेखि गरेको हो ।

बाहिरबाट आयात हुने जनै प्रतबन्ध गरी स्थानीय स्तरमा नै उपलब्ध गराउने उद्देश्यले जनै बनाउने तालिम सञ्चालन गरिएको इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू दाहालले बताइन् ।

‘तालिमपश्चात महिलाहरुले सिकेको सीप र सानो लगानीबाट नै घरैमा बसेर आत्मनिर्भर बन्न सक्नुहुनेछ’ उपप्रमुख दाहालले भनिन्, ‘उत्पादित सामानले बजार नपाउलाकी भन्ने चिन्ता लिनुपर्ने छैन । नगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ ।’ इलाम नगरपालिकाले ‘उपमेयर सीप विकास कार्यक्रम’ अन्तरग एकल महिलाहरुलाई तालिम दिईएको उनले बताइन् ।

स्थानीय मानव अधिकारका लागि महिला एकल महिला समूहको व्यवस्थापनमा तालिम सञ्चालन भइरहेको छ । तालिममा इलाम नगरपालिका-७ का १५ जना एकल महिलाहरु सहभागी छन् । उनीहरुलाई पुरोहित गंगाप्रसाद बरालले सहजीकरण गरिरहेका छन् ।

स्थानीय उत्पादनलाई प्राथमिकता, संस्कृतिको संरक्षण एवम् धागोले वैदिक विधिअनुसार जनै बाट्ने परम्परागत शैली लोप हुन लागेपछि यसको संरक्षणमा जोड दिदैं महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालिकासँगको साझेदारीमा तालिम सञ्चालन गरिएको मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष दीपा ढकालले बताइन् । बाहिरबाट जनै आयात भइरहेकोकाले त्यसको निरुत्साहित गरी स्थानीय श्रोत, साधन र जनशक्तिको परिचालन गर्न तालिमले सार्थकता पाउने उनको विश्वास छ ।

सनातन वैदिक परम्परामा जनैको विशेष महत्व छ । जनैलाई (यज्ञोपवीत), यज्ञसुत्र र ब्रह्मसुत्र पनि भनिन्छ । हिन्दुत्वका सोह्र संस्कार र अन्य देव, पितृ कुनैपनि पूजाकर्ममा जनैको अपरिहार्यता रहन्छ । जनैविना कुनैपनि यज्ञ कर्म हुँदैनन् भने जनै नलगाएसम्म यज्ञको अधिकारी भइदैन भन्ने हिन्दु धर्मावलम्बीहरुमा विश्वास छ ।

हेर्नुहोस् तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार