जिल्ला प्रशासन कार्यालयबाट दुई करोड ६९ लाख बढी राजस्व सङ्कलन

  राम योङहाङ
182 Shares

जिल्ला प्रशासन कार्यालय इलाममा राहदानी (ईपासपोर्ट) का लागि तस्बिर खिचाउँदै एक सेवाग्राही । सेवाग्राहीको राहदानीको फाराम कार्यालयबाटै नि:शुल्क भर्ने व्यवस्था समेत गरेको छ । तस्बिर : नयाँ बुलन्द

इलाम : जिल्ला प्रशासन कार्यालय इलामले छ महिनाको अवधिमा रु दुई करोड ६९ लाख ३४ हजार पाँच सय ९७ राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष आव २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्म सो परिमाणको राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत कट्टेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानी (ईपासपोर्ट) शुल्कबाट दुई करोड ६२ लाख १७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयको अभिलेख अनुसार छ महिनामा जिल्लाका पाँच हजार दुई सय २५ जना नागरिकले राहदानी बनाएका छन् । जसमध्ये एक हजार नौ सय जना महिला र तीन हजार दुई सय ५४ जना पुरुषले राहदानी बनाएको प्रशासकीय अधिकृत कट्टेलले जानकारी दिए ।

त्यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट पाँच लाख ६२ हजार आठ सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख २२ हजार सात सय ९७ रुपैयाँ र हातहतियारको इजाजतपत्र दस्तुरबाट ३१ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले गत आव ०७९।०८० मा राहदानी शुल्कबाट सात करोड २० लाख चार हजार सात सय ५० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा १२ हजार छ सय ९६ जनाले राहदानी बनाएका थिए । जसमध्ये चार हजार नौ सय पाँच जना महिला र सात हजार सात सय ९१ जना पुरुषले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

राहदानी बनाउनेमा युवा पुस्ता बढी रहेको कार्यालयको तथ्याङ्क छ । पछिल्लो समय केही युवाहरु अध्ययनका लागि विदेश जाने प्रयोजमा राहदानी बनाउने गरेको पाईएपनि अधिकांश युवाहरु वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया राहदानी बनाउने गरेका छन् ।

कार्यालयबाटै नि:शुल्क फाराम भर्ने व्यवस्था

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको राहदानीको फाराम कार्यालयबाटै नि:शुल्क भर्ने व्यवस्था समेत गरेको छ । कार्यालयले बिचौलिया अन्त्य गर्नका लागि राहदानीको फाराम नि:शुल्क भर्ने व्यवस्था गरेको हो । बिचौलियाले रु दुई सयदेखि १० हजारसम्म शुल्क लिने गरेकोमा कार्यालयले नि:शुल्क अनलाइन फाराम भर्ने व्यवस्था गरेको हो । कार्यालयले आवश्यक जनशक्तिको व्यवस्थापन गरी बिहान ७ देखि साँझ ९ बजेसम्म सेवा प्रवाह गरिरहेको छ ।

राहदानीको फाराम भरेको करिब दुई सातापछि सम्बन्धित कार्यालयबाटै राहदानी पाउने व्यवस्था छ । त्यसका लागि रु पाँच हजार राजस्व तिर्नुपर्ने प्रावधान छ । सिधै राहदानी विभाग गए एक सातामा डबल दस्तुरमा र अतिआवश्यक भए रु १५ हजार शुल्क तिरेर दुई दिनमै लिन सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार