इलाम गोल्डकपको तयारी पूरा, उद्घाटन खेलमा आयोजक रेडहर्ष र मानेभञ्ज्याङ भिड्ने

  राम योङहाङ
476 Shares

इलाममा शनिबारदेखि सञ्चालन हुने प्रथम इलाम गोल्डकपको तयारी सम्बन्धी जानकारी दिन आयोजक रेडहर्ष फुटबल क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारीहरु ।

इलाम : शनिबारदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तरर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आज (बिहीबार) आयोजक रेडहर्ष फुटबल क्लबले पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको  छ ।

ठूलो टुँडीखेलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्ष र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भिड्ने भएका छन् । प्रतियोगितामा एक विदेशीसहित आठ फुटबल टोलीको सहभागिता छ ।

नेपालका ‘ए’ डिभिजन क्बल न्युरो टिम (एनआरटी) काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवाक्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब इलाम र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतको सहभागिता छ ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु समेत विभिन्न टिमबाट इलाममा खेल्नेछन् । राष्ट्रिय खेलाडी विमल घर्तीमगर, सिमान्त थापा र राजेश परियार पाँचथरबाट खेल्नेछन् । त्यस्तै, सन्तोष महत बुटवलबाट, हिसुब थपलिया, अभिषेक वराई, प्रशान्त लक्सम र देवेन्द्र तामाङ झापाबाट खेल्नेछन् । त्यसैगरी, दिपक कार्की इटहरीबाट, छिरङ गुरुङ र उत्सव राई आयोजक इलामबाट खेल्ने निश्चित भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल माघ १३ गते शनिबार हुनेछ । विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मूले जानकारी दिए । यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयीमान खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा दर्शकका लागि प्रवेश शुल्क रु एक सय राखिएको क्लबका सचिव प्रकाश घिमिरेले बताए । सेमीफाइनमा दुई सय र फाइलनमा तीन सय राखिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने नि:शुल्क प्रवेश गर्न पाउने व्यवस्था गरिएको उनले बताए ।

सदरमुकाममा विगत वर्षमा भ्याईभ्याली गोल्डकप आयोजना हुँदै आएकोमा ४ वर्षयता इलामेली दर्शकहरुले स्तरीय फुटबल प्रतियोगिताको मनोरञ्जन लिन पाएका छैनन् । आर्थिक र प्राविधिक कारण देखाउँदै माईभ्याली गोल्डकप सातौं संस्करण हुन सकेन । तर फुटबलको मजा दिन रेडहर्ष फुटबल ब्लकले प्रथम संस्करणको इलाम गोल्डकप आयोजना गरेको हो ।

प्रतियोगितामा दर्शकका लागि बाँसको अस्थायी पारापिट बनाईएको छ । चार हजार दर्शक अटाउने क्षमताको पारापेट निर्माण गरिएको सचिव घिमिरेले बताए । टुँडीखेलको एकातर्फ जमिनको भूभाग भएपनि अन्य तीन भागमा बाँसको अस्थायी पारापेट निर्माण गर्नुपरेको उनले बताए ।—

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार