सडकमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयको विरोध

  राम योङहाङ
896 Shares

निर्माणाधीन देउमाई-फाकफोक दोभान-नावालुङ-देउराली-हुलाक सडकमा गुणस्तरहीन समाग्री प्रयोग भएको जनगुनासो आएपछि अनुगमन र निरीक्षण गर्दै माङसेबुङ गाउँपालिका १ का वडाअध्यक्ष भूपाल योङहाङ, प्राविधिक कर्मचारी दीपक चौधरीसहितको टोली ।

इलाम : इलाममा निर्माणाधीन देउमाई-फाकफोक दोभान-नावालुङ-देउराली-हुलाक सडकको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

जिल्लाको माङसेबुङ गाउँपालिका-१ मा पर्ने सो सडक खण्डको सब-बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । ठेकेदार कम्पनीले  लापरवाही ढङ्गले काम गरेको उनीहरुको आरोप छ । उनीहरुले गुणस्तरहीन काम रोक्न ठेकेदार कम्पनी देउमाई निर्माण कम्पनीलाई चेतावनी दिएका छन् ।

देउमाई-फाकफोक दोभान-नावालुङ-देउराली-हुलाक सडक आयोजनाको करिब पाँच किलोमिटर सडक सब-बेसमा गुणस्तरहीन सामग्री प्रयोग माङसेबुङ गाउँपालिका-१ का वसन्त योङहाङले बताए । स्थानीयले वडा अध्यक्ष भूपाल योङहाङ र प्राविधिक कर्मचारी दीपक चौधरीसहित स्थानीय राजनीतिक दलहरुलाई अनुगमन र निरीक्षण समेत गराएका छन् ।

ठेकेदार कम्पनीले सब-बेसमा खोलाको ढुङ्गा-गिटी-बालुवा (रिभरबेस) हाल्नुपर्नेमा खानीको माटो प्रयोग गरिएको योङहाङले बताए । ‘हामीले पहिलेदेखि नै ठेकेदार कम्पनीलाई गुणस्तरीय काम गर्न अनुरोध गरेका हौं । तर उहाँले वेवास्ता गर्नुभयो’ उनले भने, ‘ठेकेदार कम्पनीले सब-बेसमा माटो मात्र प्रयोग गरेका छन् । यस्तो तरिकाले त राज्यको पैसा दुरुपयोग भएको छ ।’

उनले छिट्टै सरोकारवालाहरु भेला भई दवाव समूह गठन गरी गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दवाव दिने र भुक्तानी रोक्न गाउँपालिकामा अनुरोध गर्ने तयारीमा रहेको बताए ।

वडा अध्यक्ष भूपाल योङहाङले अनुगमनका क्रममा ठेकेदार कम्पनीको लापरवाही देखिएको बताए । ‘स्थानीयको चर्को विरोधपछि प्राविधिक कर्मचारीसहित हामीले अनुगमन र निरीक्षण गरेका थियौं । प्राविधिक कर्मचारी दीपक चौधरीले काम गुणस्तरीय नभएको फिल्डमा नै भन्नुभयो’ वडाध्यक्ष योङहाङले भने, ‘माटो र ढुङ्गा मात्र हालेको पाइयो । ठेकेदार कम्पनीले बलमिच्याइँ गरेको जस्तो देखिन्छ । यस विषयमा हामी गाउँपालिकामा कुरा उठाउँछौं ।’

अनुगमन र निरीक्षणका क्रममा ठेकेदार कम्पनीले खोलाको ढुङ्गा-गिटी-बालुवा प्रयोग गर्नुपर्नेमा स्थानीय घोर्लेभीर (खानी) को माटो प्रयोग गरेको पाईएको उनले बताए ।

यता ठेकेदार कम्पनी देउमाई निर्माण सेवाका प्रोपाईटर रमेश बस्नेतले भने गुणस्तरहीन सामग्री नै प्रयोग गरिएको जिकिर गरे । ‘हामीले बाटो बलियो बनाउने हो । खोलाको मात्र ढुङ्गा-गिटी-बालुवा प्रयोग गरे बाटो बलियो हुँदैन । त्यसका लागि खानीको माटो पनि मिसाउनुपर्ने हुन्छ’ उनले भने, ‘बेन्डिङ गर्न खानीको माटो मिसाउनु नै पर्छ । स्टिमेट अनुसार गुणस्तरको सामग्री नै प्रयोग गरिएको छ ।’

सो सडकमा १० सेन्टीमिटर सब-बेस हाल्न माङसेबुङ गाउँपालिकाले रु एक करोडमा ठेक्काको सूचना प्रकाशन गरेकोमा देउमाई निर्माण सेवाले ४६ लाखमा ठेक्का पारेको थियो । निर्माण कम्पनीले काम अघि बढाएपनि गुणस्तरहीन सामग्री प्रयोग गरेपछि प्रयोग गरेपछि विवाद उत्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार