इलाम : परम्परागत रुपमा हरेक माघे सक्रान्तिको असरमा इलामको माई र जोगमाई खोलाको सङ्गमस्थलमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा लाग्दै आएको मेला यसवर्ष पनि धुमधाम साथ लागेको छ ।
भोलि मङ्गलबारसम्म लाग्ने मेलाको रौनक आज सोमबार बिहानैदेखि सुरु भएको हो । नदीको पानी बगेको छेउछाउमा मकर नुहाउने र पूजाआजा गर्ने सयौं समूहरु देखिएका छन् । माईबेनी मेला भर्न इलाम जिल्लाका विभिन्न ठाउँका आउँछन् नै, छिमेकी भारतको दार्जिलिङ, सिक्किम, आसामलगायतका स्थानबाट पनि समेत भक्तजनहरु आएका छन् ।
भारतीय क्षेत्राबाट आउने भक्तजनहरु माईबेनीमा एक रात बास बसेर मकर नुहाई शिवालयको दर्शन गरेर फर्कने गर्छन् । माईबेनी मेलामा मकर नुहाएर शिवालय धाममा दर्शन गर्ने धर्मावलम्बीहरुका लागि विशेष व्यवस्था गरिएको छ ।
माघे सक्रान्तिको दिन आइपुगेका भक्तजनहरुले माई र जोगमाई खोलाको सङ्गमस्थलमा मकर नुहाएर शिवालयको दर्शनसँगै पूजाआजा गर्ने चलन छ । माईबेनीमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ । नजिकै रहेको शिवालउमा सद्वीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ ।
कतिपयले घरको शुद्धिशान्तिका लागि, कतिपयले भाकल पूरा गर्न र कतिपयले चिताएको पूरा गरिमाग्न पूजा गर्ने प्रचलन छ । माईखोलामा परेवा उडाउने र भाकल गर्नेहरुले पनि त्यसै दिन परेवा उडाउँछन् ।
मकर सक्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ । माघे सक्रान्तिका दिन जिल्लाका अन्य मुख्य शहरहरु नै सुनसान हुन्छन् । ती शहरका व्यापारी र ग्राहकहरु सबै माईबेनी मेला पुग्ने गर्दछन् ।
बालबालिकादेखि वृद्धवृद्धासम्म मेला भर्न माइबेनी पुग्ने गर्दछन् । सिजनअनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ । मेलामा सयौं अस्थायी पसलहरु खोलिएका छन् । ती पसलहरुमा राडीपाखी, गलैंचा, लुगाफाटा, भाडावर्तन, श्रृङ्गारका सामग्री र तरुलको व्यापार हुने गर्दछ । त्यसबाहेक स्थानीय कृषिजन्य उत्पादनहरु समेत प्रदर्शनी र बिक्रिका लागि राखिएका छन् ।
यो वर्ष माईबेनी मेलामा रमाईलो मेला अर्थात् केटाकेटी खेल्ने साधनहरु पनि राखिएको छ । फराकिलो खेत र खोलाको किनारमा लाग्ने मेला पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बन्दै गएको छ ।