इलाम गोल्डकपको खेल तालिका सार्वजनिक, एक विदेशीसहित आठ टोलि सहभागी

  राम योङहाङ
1.1k Shares

इलाम : आउँदो माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तराष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आज (शुक्रबार) आयोजक रेडहर्ष फुटबल क्लबले ठूलो टुँडीखेलमा पत्रकार भेटघाट गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार भेटघाटमा आयोजकले खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्षले विदेशी टोलि मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको सामना गर्नेछ ।

प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोलिको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब न्युरो टिम (एनआरटी) काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवाक्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब र विदेशी टोलि मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत सहभागी हुनेछन् ।

प्रतियोगिताको फाइलन माघ १३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद रु ५ लाख र उपबिजेताले रु ३ लाख पाउने आयोजकका अध्यक्ष साङ्गे योल्मू  योल्मूले जानकारी दिए । यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदयीमान खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष योल्मूले बताए ।

प्रतियोगितामा दर्शकका लागि बाँसको अस्थायी प्यारापेट निर्माण गरिएको छ । चार हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापेट टुँडिखेलको तीन क्षेत्रतर्फ निर्माण गरिएको आयोजक रेडहर्ष फुटबल क्लब इलामले जनाएको छ ।

मैदानको एकातर्फ जमिनको भूभाग भएपनि अन्य तीन भागमा बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपरेको क्लबका सचिव प्रकाश घिमिरेले बताए । मैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार