
दशैताका देखि पूर्वेली श्रष्टा तथा लेखक प्रकाश थाम्सुहाङ आफ्ना निवन्ध कृति शब्द थुम लिएर पाठकहरुको सामुन्द्रीक यात्रमा दौडिरहेका छन् ।लाग्छ लेखकको दौडार्इ महान योद्दा चँगेज खाँ को घोडाचढीको चम्कार्इ भन्दा कम छैन । शब्द थुम भन्ने शब्द पाठकहरुलार्इ निश्चय नै यहाँ दुर्इ वटा भाषाको संयोजन छ भन्ने आभास हुन्छ र हो पनि । लेखक स्वयम पनि यही शब्द थुम कृति लिएर देश तथा विदेशको साहित्यक दौडाहमा निस्कीएका छन् ।महिना दिनको हडकङ यात्रा पछि हाल दमक-धरानको साहित्यिक यात्राको दौरान लेखकलार्इ पाठकहरुले थुम भन्ने शब्द अर्थको जिज्ञासा पोखिरहेका छन् । वास्तवमा थुम भन्ने शब्द थोरैले सुनेका धेरैले नबुझेको शब्द पनि हो । यसै क्रमममा लेखकले दमकको एक कार्यक्रममा पाठकको जिज्ञासामाथी आफ्ना धारणा राखे – थुम भन्ने शब्द मेरो मातृभाषामा रहेको शब्दकोषको हो – थुम शब्दको उच्चारण बाक्य अनुसार अनेक अर्थ राख्दछ । जस्तो थुम भनेको लिम्बू भाषामा पहाड पनि हुन्छ । त्यसै गरी थुम भन्ने अर्थले जिल्ला वा मुकाम भन्ने अर्थ पनि राख्छ । थुमले प्रशासनिक क्षेत्र भन्ने अर्थ पनि दर्साउछ । विगतमा पूर्वको नेपाली भूगोललार्इ दश लिम्बूवान सत्रथुम भनिएको दस्तावेजहरु छन् ।तेसै गरी थुम भन्ने अर्थ शक्ति भन्ने अर्थ पनि राख्दछ । शब्द थुम भनेको शब्दको शक्ति पनि हो त्यसैले यो कृतिको नाम शब्द थुम राखे अर्थात शब्दको शक्ति ।
लेखकले भने जस्तै शब्दहरुको शक्ति लिएर साहित्यिक मैदानमा शब्द थुम दौडिरहेको छ । लेखकको सौन्दर्यचेत बहुआयामिक देख्छु । लेखक अध्ययनशिल भएर हुनु पर्छ शब्द थुम कृति विभिन्न सूचनाहरुको स्रोतको रुपमा लिन सक्छौ जुन कुरा अन्य कृतिहरुमा विरलै पाउन सक्छौ । लुङमाहिम साइलाको मेटाफोर्मिस शिर्षकमा स्वयम लेखक बाल्यकालमा बुवाको पछि-पछि चकलेटको लोभमा दौडिन्थे हाल आफै बुवा भएकोले आफ्नो पछि छोरो दौडीरहेको छ ।उसवेला लुङमाहिम साइलाको मातृभाषाप्रतिको चेत, शिक्षा प्रतिको जागरण, राजनैतिक र धार्मिक विचलन वर्तमानमा स्वयम लेखकले वोध गरीरहेका छन् । बि.स.२०१३ सालमा लुङमाहिम साइला अर्थात लेखकका बुवा स्व.गणेश बहादुर थाम्सुहाङ (बि.स.१९९४-२०६५) मा लिम्वूवानको किपट भूमी कायम गराउन श्री ५ महेन्द्रकोमा लिम्बूवानी टोलिको सदस्यको रुपमा सहभागी थिए । राजनैतिक तथा प्रशासनिक शक्तिको कारण किपट (किनबेच नहुने भूमी) भूमीहरु रैकर (किनबेच) कायम भर्इ किपट गुमेको गोप्य झलक निवन्धको यो शिर्षकमा पाउछौ ।
भुर्इकुहिरो भित्रको एक साधक शिर्षकमा श्रष्टा गणेश रसिकले साहित्य र संगितमा विभिन्न आरोह अवरोहको सामु जीवनको लामोकाल खण्ड विताएको पाउछौ । जुन एउटा जीवन जिउने प्रेरणाको स्रोतको रुपमा लिन सकिन्छ । लेखकमा कवित्वको भावना उजगार भएर पनि होला रसिकको स्वरमा रहेको धेरै सम्झे धेरै हुन्छ , थोरै सम्झे थोरै हुन्छ जस्ता कालजयी शब्द संगीतले भित्रैदेखि छोएको हुनु पर्छ । लेखकको अगुवार्इमा २०८० सालको भानु जयन्तीमा साधक गणेश रसिकलार्इ इलामको अरनिको संग्राहलयको प्राङगणको स्टेजमा जीवनको लयहरु सुनाउन लगाउदा भुइकुहिरो सहितको सिमसिम पानी झरीमा इलामे दर्शकलार्इ मन्त्रमुग्ध बनाएको क्षण सम्झना योग्य हुनु पर्छ ।

शब्द थुमको दौडाहमा अधिकास युवापुस्ताहरुको क्रेज देख्छु । हालका युवा पुस्ता पाठकहरुको लेखकप्रति पठनिय घनिष्टता बढ्नुमा लेखकको भाषिक सरलता, शिल्प र शैलीको फेरोले तानिएर पनि हुनु पर्छ । निबन्धमा संगीत सृजना मोह देखि खेलप्रतिको एडिक्सन पनि पाउछौ ।आत्महत्याको सौन्दर्य शिर्षकमा लेखकले गीतसंगित बारे भनेका छन् ग्रीक मिथकमा संगीतलार्इ स्वर्ग चढने लिस्नो भन्छन् । पश्चिममा क्लासिक साधकहरु निर्भाना, विटल्स, गुल्मी सन्डे समूहले जीवनको नैराशता विसङगति गाएको रहेछ । सायद आजभोलीका अधिकास युवा पुस्ताका पाठकहरु नजन्मेको समय हुन पर्छ । सन् १९९४ को विश्वकप फुटबलको माहासागरमा इटलीका सर्वश्रेष्ट स्ट्राइगर रोबर्टो बाजियोको खेल कौशल र कपालको शैलीप्रति फूटबल प्रेमीहरुको क्रेजले पनि लेखक कतिसम्मको खेलप्रति झुकाब राख्दो रहेछ भन्ने महसुस हुन्छ ।
सालिक र साहित्य विमर्शमा नेपाली मौलिक साहित्यको विशाल तत्वमा अन्य समुदायको सँस्कृति र भाषिक सृजनाहरु पनि अवयव हुन भन्ने विमर्श गरिएको छ ।विज्ञानको भाषामा जसरी एउटा तत्वले पूर्णता पाउनलार्इ अन्य अवयवहरुको भूमिका हुन्छ । त्यसैले भारतीय लेखक निर्मल बर्मा भन्छन् – भाषा-मिथक र स्मृतिका अन्तर सम्बन्धले नै कुनै पनि समुदायको सामुहिक स्मृतिलार्इ एकत्रित गर्छ ।
निवन्धकार पठनशील भएर हुनुपर्छ सीमान्त संस्कृतिको दुMखमा सत्य तथ्यपरक सन्दर्भहरुको शब्द शक्तिको भण्डारण छ । अमेरीका कोलम्बसले पत्ता लगाए झै युरोपका डच नाविक तासमानले सन् १६४२ मा न्यूजिल्याण्ड पत्ता लगाए ।सयबर्ष पछी सन् १७६९ मा वेलायती नाविक जेम्स कुक पनि न्यूजिल्याण्ड पुगेको प्रसंग छ । नयाँ मानिसहरु नयाँ भूगोलमा पुग्न त पुगे, तर त्यो जमिन नयाँ थिएन । त्याहँ पहिल्यै अरुजाती समुदायको बसोबास थियो । जसरी कोलम्बस पुग्नु अगावै अमेरिकामा रेडइन्डियनहरुको बसोबास थियो । बसोबास गर्ने क्रममा त्याहाँ पहिलादेखि बसिरहेका मूलवासीहरु विरुद्द नयाँ मानिसहरु दमनमा ओर्लिए ।नयाँ मानिसहरु नयाँ प्रविधिविरुद्द मूलवासीहरुको प्रतिरोध क्षणिक सावित भइदियो । उनीहरुले सम्झौता गरे । फलस्वरुप नयाँ मानिसहरुले क्रमश.. जमिन कब्जा गर्दै आफ्नो देशबाट मानिसहरु बोलाउदै बस्ती बसाउन थाले । मुलवासीहरु कमजोर र अल्पसंख्यकमा परे । वर्तमानमा पनि न्यूजिल्याण्डमा राष्ट्रप्रमुख बेलायतका महारानी छिन् । त्यस कारण न्यूजिल्याण्डका माओरी आदिवासीहरु टार्इलार्इ आफ्नो जातीय दमनसँग जोडेर हेर्छन् र लगाउन अस्विकार गर्छन् । उनीहरु पहिचान र भूमी फिर्ताको लडार्इमा छन् भन्ने तथ्यको जानकारी पाउछौ भने ओसामा विन लादेनको आतंकको कारण मुस्लिमहरु आतंकबादी हुन्छन् भन्ने संकुचित सोचको मनोविज्ञान फैलन्दै गएको छ । त्यसै गरी म्यानमारका भिक्षु आसिन विराथुले – मुभमेन्ट ९६९ (बुद्दको ९ गुण-६कर्म-९ स्थापत्य ) को शंखघोष गर्दा म्यानमारी सेना र रोहिंग्या मुसलिमवीचको दन्द सृजना भएको व्यहोरा उल्लेख गरिएको छ । यसको मतलब विश्वभरी प्राय- क्लायस अफ सिभिलाइजेसन-को विजारोपण भई रहेको छ . विभेद र छुवाछुत जस्ता कंलक अझै पनि भारत र नेपालमा जरी गाँडेर बसेको छ जुन कुरा वर्तमानमा दुखदायी संस्कार हो । लेखक भन्छन् – आफ्नो नश्ल मात्र महान, आफ्नो सँस्कृति मात्र उम्दा, आफ्नो धर्म मात्र उत्कृष्ट भन्ने गलत सोच नै – क्लायस अफ सिभिलाइजेसनको- कारण हो । जहाँ इतर सस्कृतिलार्इ निषेध गरिन्छ । ह्याट उच्चबर्गको पहिचान तर हिजाबबुर्का लाउनु आतंकको निसानी सोच्नु साँस्कृतिक दन्दलार्इ बढवा दिनु हो । हिटलरको आर्य सुपरमेसीबाट चेत नखुलेको ट्रम्पको श्वेत सुपरमेसी, मोदीको हिन्दु हार्डलाइन, ओलिको राम मोह, वर्णव्यवस्थाको विद्रुप अनुहारजस्ता विचार वर्तमान विश्वको मष्तिष्कमा पलाएको ट्यूमर हो । यो ट्यूमरको शल्यक्रिया गर्न मुस्किल छ मुस्किल ।तर पनि सुन्दर समाजको खातिर लडाई निरन्तर छ ।
शब्द थुम निबन्ध कृतिलार्इ श्रटा प्रकाश थाम्सुहाङले ३ खण्डमा दौडाएका छन् । पहिलो व्यक्तिविम्बमा जम्मा १३ वटा शिर्षकलार्इ आफैले देखे भोगेका पात्रहरुको अनुभव, विचार, जीवन शैलीहरुलार्इ शिलशिलाबद्द शुरुवात गरी अन्त्य गरेका छन् । जसमा हामी माटोको सुगन्ध भित्र रैथाने परिवेशहरु महसुस गर्न सक्छौ । दोस्रो खण्डमा चिन्ता र चिन्तनलाई छ वटा शिर्षक दिएका छन् । जहाँ हामी वर्तमानमा साहित्यिक विचारहरुको विमर्श देखि पहिचानरुपी साहित्यिक आन्दोलनको आयामहरु पाउछौ । तेस्रो खण्डमा आत्मकथन जहाँ लेखकले आफ्नै जीवनमा प्रत्यक्ष भोगेका अनुभव गरेका स्मरणलाई थप पठनीय बनाएका छन् जसको मिठास वा पेट्रोन कति मार्मिक र टची छ भन्ने स्वयम अध्ययन गर्दा मात्र महसुसु हुन्छ ।
निवन्धमा अन्य कहकिला, पठनीय, लेखनमा पाइन चढेका शिर्षकहरु पनि उतिकै छन् । Æजनमले मृत्युलार्इ हरपल जितोस् Æ मा आयामेली कवि बैरागी काइँलाले इथ्निक मिथकको प्रयोग उनीबाटै भएको रहेछ । बैरागी काइँलाको मातृभाषा मोहकै कारण कुलपति भएको समयमा नेपा प्रज्ञा प्रतिष्ठानमा त्यस वेला सम्म गठन हुन नसकेको मातृभाषा विभाग गठन गरेको प्रसंग प्रसंनिय छ । Æकाइँला यो के गरेको < Æ शिर्षकमा एकेडेमीबाट श्रष्टाहरुलार्इ आजिवन उपलब्ध गराउने भत्ताको कटौती बैरागी काइँला कुलपति हुदा गरेको प्रसंगमा इश्वर बल्लभले दुखेसो पोखेका छन् । पछी उनै मदन पुरस्कार विजेता एउटा वागी कविको अन्तिम संस्कार कति हलुका हुँदो रहेछ । यस प्रसंगले शहरमा मानविय समवेदना हराउदै गएको , मन विचारहरु आत्मकेन्द्रीत हुँदै गएको झल्को दिन्छ ।
समग्रमा शब्द थुममा पढन छुटाउ नै नहुँने शिर्षकहरुको संगालोहरु छन् ।Æबल दाई, यात्री र काठमाण्डौ Æ कवि कृष्ण भूषण बलले अब केन्द्रीकृत राज्य सत्ता विकेन्द्रीत हुन पर्छ भन्ने आसय पन्चायत कालमा नै साहित्य मार्फत उजागार गरेका रहेछन् । त्यसै गरी – एउटा सालिन मानिसको अवसान– मा एक कुशल राजनीतिज्ञ, कवि एवं प्रकृति प्रेमी स्व.अमर नेम्बाङको व्यात्तित्व बारेमा चर्चा छ । नेम्बाङ विश्व प्रसिद्द कवि पाब्लो नेरुदा जस्तै प्रकृति प्रेमी थिए । नेरुदा सँग माउन्ट माच्चिपिन्चु थियो भने नेम्बाङसँग फाल्गुन्दको सिलौती डाँडा थियो । सुम्हालुङ कवि– मा थाम्सुहाङ पुष्प सुब्बाले लिम्बू भाषा साहित्य र किरात संवत येलेतङ्वेको पुन M प्रतलनकर्ता मात्र होइन खस र लिम्बू साहित्यका सुम्हालुङ थिएछन् । बराल दाइको लीला-मा कृष्ण बराल , एक भाइरल कवि शिर्षकमा रङ्वादी कवी धर्मेन्द्र विक्रम नेम्बाङको हरियो समाजवाद, शान्त नदीमा कवि चन्द्रवीर तुम्बापोको बेजोड चरित्र भेटछौ । – रिफ्युजी कथा- मा जिवित पात्र याम थुलुङको मातृभूमीप्रतिको मोह, रुचाल दाइमा सामाजिक विभदेको दृष्टी र उनको दिनचर्या कम घतलाग्दै छैन ।
यस कृतीमा कुनै एक शिर्षकमा मात्र डिसकोर्स गर्न पनि समय र शब्दहरु कमै हुन्छ । शब्द थुम आफैमा शब्दहरुको शक्ती बोकेर अविरल यात्रामा दौडीरहेको छ । यस निवबन्ध संग्रहमा काब्यिक चेत बेजोड छ । प्राय शिर्षकहरु वितेर जानु भएका अग्रजहरुको जीवन दर्शनसँग केन्द्रीत छ । जुन भावी पुस्ताहरुलाई मार्ग दर्शन हुनेछ । निवन्धकारलाई एक अध्ययनशिल, बैचारिक, शालिन शैली र शिल्पका सतिसाल ठान्छु । निबन्धमा सत्यतथ्यपरक सूचनाहरु भेटिन्छ ।धेरै लेखरचना र श्रटाहरुसँग परिचित भएको कारण पनि शब्द थुममा शक्ति संचित रहेको छ । समाजभित्र रहेका राजनीति, विद्रोह, सास्कृतिक अपन्त्व, संगीत, खेल, विकास आदीको सकरात्मक चेत हुनुले नै शब्द थुमको शक्ति अंग्रेजी लेखक ड्यानियल डेफोको सन् १७१९ को आख्यान -रविन्सन क्रुसोको समुन्द्री यात्राको दौड भन्दा कम छैन । सफल यात्राको कामना ।
















































