
इलाम : इलामको देउमाई नगरपालिकाको मुख्य प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नौ करोड, ७२ लाख १३ हजार रुपैयाँको लगानीमा निर्माण सुरु भएको भवनको ८५ प्रतिशत काम पूरा भएको इन्जिनियर प्रतिक दवाडीले जानकारी दिए ।
इन्जिनियर दवाडीका अनुसार भवनको संरचनाको सम्पूर्ण काम सम्पन्न भएको छ । झ्याल-ढोका र फायर फाइटिङ विद्युतिकरणको काम ९० प्रतिशत, टायल-मार्वलको काम ९५ प्रतिशत र रङ्गरोकनको काम ८० प्रतिशत सम्पन्न भएको इन्जिनियर दवाडीले जानकारी दिए ।
लिफ्टसहितको ६ तले सुविधासम्पन्न भवनमा ३६ कोठा र चार सय जना क्षमताको एक हल निर्माण भएको छ ।
भवन निर्माणको ठेक्का कविन्द्र नव सीर्जनशील जेभीले लिएको थियो । भवन निर्माणका लागि नगरपालिकाले रु १४ करोड ५१ हजारको अनुमानित लागत तयार गरेको थियो । तर लागत अनुमानभन्दा ३१ प्रतिशत न्युन लागतमा कविन्द्र नव सीर्जनशील जेभीले निर्माणको जिम्मा लिएको थियो ।
२०८० मङ्सिर २६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी २०७८ असोज २६ गते सम्झौता भएको थियो । तर सो अवधिमा निर्माण सम्पन्न नभएपछि २०८० फागुन २६ गते सम्मका लागि म्याद थप भएको इन्जिनियर दवाडीले जानकारी दिए ।
भवन निर्माणका लागि संघीय सरकार र देउमाई नगरपालिकाको ५०/५० प्रतिशत साझेदारी रहेको छ ।
नया प्रशासनिक भवनबाट आउँदो वर्षदेखि सेवा प्रवाह गर्न सुरु गरिने देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले बताए । ‘प्रशासनिक भवन निर्माणको काम सम्पन्न भयो । अब झ्याल-ढोका, टायल-मार्वल, रङ्गरोकन र विद्युतिकरणको काम मात्र बाँकी छ । त्यसलाई पनि चाँडै सकेर आउने नयाँ वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारीमा छौं’ नगरप्रमुख पोख्रेलले भने ।















































