पर्यटकको रोजाईमा श्रीअन्तु (भिडियोसहित)

  राम योङहाङ
147 Shares

इलाम : इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटकको घुइँचो लागेको छ । सूर्योदय नगरपालिका-५ मा अवस्थित श्रीअन्तु पर्यटकको रोजाईको क्षेत्र बनेको हो । यहाँ हिजोआज आन्तरिक र बाह्‍य पर्यटकको चहलपहल बढेको छ ।

सूर्योदयको दृश्यावलोकनसँगै अन्तुपोखरी, हरियाली चियाबारी, चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय श्रोत साधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिहरुको कला-संस्कृतिको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकको चाप बढ्न थालेको हो ।

अहिले दैनिक तीनदेखि चार हजारको सङ्ख्यामा पर्टकहरु श्रीअन्तु पुग्ने गरेका छन् । सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको श्रीअन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए । ‘यतिबेला दैनिक तीनदेखि चार हजारको संख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्’ श्रीअन्तु पर्यटन व्यावसायी संघका अध्यक्ष रुद्र घिमिरे भन्छन्, ‘तीमध्ये करिब ७५ प्रतिशत पर्यटक सूर्योदयको दृश्यावलोकन गर्न अन्तुडाँडासम्म पुग्दछन् । करिब २५ प्रतिशत पर्यटक चाँही अन्तुपोखरी र चियाबारी मात्र घुमेर फर्कने गरेका छन ।’

यतिबेला श्रीअन्तुका प्राय सबै रिसोर्ट, होटल, कटेज र होमस्टेहरु पर्यटकले भरिभराउ छ । अग्रिम बुकिङ नगरे श्रीअन्तु बस्ने ठाउँ नै पाउन मुस्किल हुने गरी पर्यटकले भरिभराउ हुने गरेको संघका अध्यक्ष घिमिरेले बताए । ‘यहाँ ७० वटा होटल, रिसोर्ट र कटेजहरु तथा ४० वटा होमस्टेहरु छन् । ती सबै पर्यटकले भरिभराउ छ’ घिमिरेले भने, ‘पछिल्लो समय यहाँ पर्यटकको घुइँचो लागेको छ । विशेषगरी शुक्रबार बेलुका बास बस्न व्यवस्थापन गर्न निकै मुस्किल हुने गरी पर्यटकहरु आउने गरेका छन् ।’

होटल, रिसोर्ट, कटेज र होमस्टेमा बसेका पर्यटकहरु सूर्यको पहिलो किरणको दृश्यावलोकन गर्न झिसमिसेमा नै उठेर अन्तुडाँडातर्फ लम्कन्छन् । श्रीअन्तु क्षेत्रमा बास बसेका हज्जारौं सयौँ पर्यटकको बिहानै अन्तुडाँडामा ताँती देखिन्छ । ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य अन्तुडाँडाबाट सूर्योदयको पहिलो किरणको दृश्यावलोकनबाट पर्यटक उत्साहित हुन्छन् । सूर्योदयसँगै कञ्चनजङ्घा र भारतीय पर्यटकीय शहर दार्जिलिङ, खसार्ङ, मिरिक नजिकै देखिन्छ ।

श्रीअन्तुमा हिउँद वर्षात नै पर्यटकको बाक्लो उपस्थिति हुन्छ । सामान्यतया असोज पहिलो सातादेखि पुस पहिलो सातासम्म र फागुन पहिलो सातादेखि जेठ पहिलो सातासम्म सूर्योदय दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । अन्तुडाँडा सूर्योदय दृश्यावलोकनका लागि प्रसिद्ध छ । दुई हजार तीन सय मिटर उचाईमा अवस्थित अन्तुडाँडाबाट नेपालबाट सबैभन्दा पहिले सूर्योदय देख्न सकिने उक्ति प्रख्यात छ ।

यातायातको सुविधाका कारण धेरै पर्यटकहरु एक रात बस्नकै लागि भएपनि श्रीअन्तु पुग्ने गरेका छन् । सूर्योदयको दृश्यावलोकन र अन्तुपोखरीमा डुङ्गा सयर गर्न पाउने भएकाले श्रीअन्तु पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

पहिलो पटक श्रीअन्तु पुग्ने जो कोहीले स्वर्गीय आनन्द प्राप्त गरेर फर्कन्छन् । श्रीअन्तसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी समेत सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ । सूर्योदय नगरपालिको सेवाकेन्द्र फिक्कल बजारबाट १३ किलोमिटर पक्की सडकको यात्रापछि श्रीअन्तु पुग्न सकिन्छ ।

श्रीअन्तसमा सञ्चालित होमस्टेमा स्थानीय स्तरमा उत्पादित अर्गानिक खानाका परिकारहरु एवम् सिजन अनुसारका फलफूल खान पाइने भएकाले समेत पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

पछिल्लो समय श्रीअन्तुमा युगल जोडीहरु थुम्काथुम्कामा लहलह भएका चियाबारी घुम्ने, चियाका बोटमा रमाउने र चियाका बोटमा सयौं सेल्फी खिच्नेको समेत घुइँचो लाग्ने गरेको छ । क्षणभरमै मौसम परिवर्तन हुने विशेषता रहेको श्रीअन्तुमा परिवर्तनशील मौसमले समेत पर्यटकको मन लोभ्याने गर्दछ ।

श्रीअन्तुमा बर्सेनि नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौं पर्यटक आउने गरेका छन् । सूर्योदयको दृश्यावलोकन गर्न नगरपालिकाले ५० रुपैयाँ शुल्क तोकेको छ । पर्यटकलाई शुल्क तोकेर नगरपालिकाले श्रीअन्तुलाई आम्दानीको श्रोतको माध्यम समेत बनाएको छ । त्यहाँबाट प्राप्त श्रोत नगरपालिकाले श्रीअन्तुकै विकासमा खर्चेको छ । भ्यूटावर मर्मतसम्भार र पर्यटकलाई सहजताका लागि भौतिक पूर्वाधार निर्माणको काममा नगरपालिकाले खर्च गरिरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार