माईपोखरी त्रिधार्मिक पर्यटन महोत्सवमा ३६ लाख संकलन (पूरा विवरण)

  नयाँ बुलन्द
322 Shares

सन्दकपुर : इलामको प्रमुख पर्यटकी गन्तव्य माईपोखरीमा आयोजित माईपोखरफ त्रिधार्मिक पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ ।
रामसार क्षेत्र माईपोखरी क्षेत्रमा गएको १ देखि ८ मंसिरसम्म संचालित त्रिधार्मिक पर्यटन उत्सवको आयव्यय सार्वजनिक गरिएको हो । सन्दकपुर गाउँपालिकाको कार्यालयको सभाहलमा जनप्रतिनिधिहरुको उपस्थितिमा आर्थिक आयव्यय सार्वजनिक गरिएको छ ।
त्रिधार्मिक महोत्सवमा ३६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ आम्दानी भएको छ । त्यसैगरी २८ लाख ७७ हजार २ सय ६७ खर्च भएको विवरण आयोजक समितिको कोषाध्यक्ष निर्मला निरौलाले प्रस्तुत गरेकी छन् ।  महोत्सवबाट ७ लाख ५६ हजार ५ सय ७७ रुपैयाँ बचत भएको देखिएको छ ।

मुख्य आम्दानीतर्फ बैंक खातामा आठ लाख ३७ हजार, आरती र भेटीबाट छ लाख ६५ हजार, इलाम नगरपालिकाबाट एक लाख ११ हजार, रोङ गाउँपालिकाबाट ४० हजार (प्राप्त हुन बाँकी) तथा विभिन्न दाताबाट ७८ हजार रुपैयाँ प्राप्त हुन बाँकी रहेको देखाइएको छ ।

खर्चतर्फ खाद्य तथा पूजा सामग्रीमा छ लाख २९ हजार, गुरु भेटी तथा दानदक्षिणामा आठ लाख ३२ हजार, व्यवस्थापकीय खर्च सात लाख २८ हजार, प्रचारप्रसारमा चार लाख १६ हजार तथा यातायातमा एक लाख ७७ हजार रुपैयाँ देखाइएको छ ।

‍आयोजक समितिका अध्यक्ष प्रेम नाछिरिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले महोत्सव सफलताका साथ सम्पन्न गरेकोमा समितिलाई बधाई दिए । सन्दकपुरको विकास पर्यटनबाट हुने भएकाले गाउँपालिकाले पर्यटन प्रवद्र्धनको कामलाई प्राथमिकताका साथ योजनाहरु कार्यान्वय गर्ने योजना बनाएको अध्यक्ष गुरुङ्गले बताए ।

गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले पर्यटनका माध्यमबाट गाउँपालिकाको अर्थतन्त्र सुधारका लागि काम गर्ने योजनालाई अझ भरोसा दिने गरी महोत्सव संचालन भएको बताए । पर्यटनबाट सन्दकपुरको अर्थतन्त्र विकासको काम गर्ने लक्ष्य भएकाले गाउँपालिकाले सुचना केन्द्र, पर्यटक गाइड, अतिथि सत्कार तालिम, यातायात व्यवसायीहरुसँग छलफल र पर्यटन पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएको उपाध्यक्ष लुङ्गेलीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार