इलाम : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार इलामको माङसेबुङ आउने भएका छन् ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन प्रधानमन्त्री प्रचण्ड माङसेबुङ आउन लागेका हुन् ।
हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरूको उपस्थिति हुने जन्मोत्सवमा यस वर्ष प्रधानमन्त्री आउने तय भएको मूल समारोह समितिका सचिव शक्ति साँवाले जानकारी दिए ।
‘यतिबेला प्रधानमन्त्री विदेश भ्रमणमा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं । तरपनि उहाँ कार्यक्रममा आइपुग्ने कुरा छ’ सचिव साँवाले भने, ‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं ।‘
विगतका वर्षझैँ यसवर्ष पनि माङसेबुङ गाउँपालिका-५ माङसेबुङ (लारुम्बा) मा विविध कार्यक्रमसहित लिङदेनको जन्मोत्सव भव्य रूपमा मनाउने तयारी छ । जन्मोत्सवका अवसरमा सञ्चालित आत्मानन्द कप भलिबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ । त्यसैगरी आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनल आइतबार हुँदैछ ।
सोमबार लिङदेनको ७० औं जन्मोत्सव तथा धर्मगुरुमा साँवा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोह-२०८० समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै सावायेहाड नुमाडगेन्ना सेवा (माडगेन्ना सेवा मुन्धुम ७० जना माङसेवासाबा माङसेवासामाबाट वाचन), साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुड इक्ला गायन प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै मंगलबार धर्मगुरु र धर्मगुरुमाबाट माङ आशीर्वचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद-पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माडगेन्ना चामल वितरणपछि साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुड इक्ला गायन प्रतियोगिता सञ्चालन हुनेछन् । बुधबार माङगेन्ना चामल वितरणसँगै विदाईको कार्यक्रम तय भएको छ ।
माङसेबुङ गाउँपालिका-२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मंसिर २०११ मा जन्मिएका लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरूले मान्ने गरेका छन् ।
किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती हुने गर्दछ ।
धूम्रपान मध्यपान निशेधित क्षेत्र
माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र पनि हो । माङसेबुङ गाउँपालिकाको वडा-३ र ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमांस, धुम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा भएको छ ।
सार्वजनिक विदा
यसैबीच किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवमा माङसेबुङ गाउँपालिकाले सोमबार ९१८ मंसिर० सार्वजनिक विदा दिएको छ ।
गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा सोमबार (१८ मंसिर) मा माङसेबुङ क्षेत्रभित्र स्थानीय बिदा दिइएको जनाएको छ ।
धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा विगतदेखि नै दिदैं आएको सार्वजनिक विदा यसवर्ष पनि निरन्तरता दिएको हो ।
पहिलो कार्यकालमा गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले धर्मगुरुको जन्मोत्सवमा हरेक वेर्ष १८ मंसिरमा दिन सुरु गरेका थिए । दोस्रो कार्यकालमा समेत निरन्तरता पाएको छ ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ गाउँपालिका-५ मा १८ मंसिरमा बर्सेनि जन्मोत्सव विशेष धार्मिक कार्यक्रम हुने गरेको छ । यो निर्णयलाई किरात धर्मावलम्बीहरूले स्वागत गरेका छन् ।