इलामको गजुरमुखी धाममा पूर्णिमा मेलाको तयारी पूरा (भिडियो)

  नयाँ बुलन्द
357 Shares

इलाम : परम्परातग रुपमा कात्तिक पूर्णिमाको अवसरमा इलामको माङसेबुङ गाउँपालका-१ स्थित गजुरमुखी धाममा लाग्दै आएको गजुरमुखी धार्मिक मेला आइतबारदेखि लाग्दैछ । धार्मिक महत्वको गजुरमुखी धाममा बुधबारसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको मेला आयोजक गजुरमुखी पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।

मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन, प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिताको फाइलन खेल र सांस्कृतिक कार्यक्रम तय गरिएको छ । गजुरमुखी धाम गोल्डकपको फाइनल सोमबार दिउँसो हुनेछ । साँस्कृतिक कार्यक्रम सोही दिन साँझ हुनेछ ।

साँस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन-४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन-५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको प्रस्तुती रहनेछ ।

मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङलगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण बर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा अहिले दैनिक सयौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।

मेची लोकमार्ग अन्तरगत इलामको नेपालटार-मंगलबारे-धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । झापाको दमकबाट माङसेबुङ-चतुरे-इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।

वर्षाको समयमा कच्ची सडकमा केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।

जिल्लाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका आगन्तुकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार