इलाम : इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको गजुरमुखी धाम धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल हो ।
इलामको पुरानो बजार मंगलबारे हुँदै पुगिने गजुरमुखीधाम पहिले बिकट रहेको थियो भने अहिले बिगतको तुलनामा धेरै सुविधा सम्पन्न भएको छ ।
पहिला गजुरमुखी पुग्ने बाटो अत्यन्तै कच्ची थियो । अहिले ग्राभेलनै भए पनि सवारी साधन अटो रिक्सा पनि सहज रुपमा चल्ने गरी बनाइएको छ । गजुरमुखीमा खान र बस्नको लागि राम्रा सुविधायुक्त होटल लजहरु सञ्चालनमा आएका छन् ।
स्थानीय बाजवीर लिम्बूले पत्ता लगाएको भनिएको गजुरमुखीबाट नै गजुरमुखीधाम नामकरण भएको बताइन्छ । यसको उत्पत्ति करिव २ सय ५० वर्ष अगाडि भएको किम्बदन्ती छ । विशेष गरेर निःसन्तानहरु सन्तान माग्न र शिशुहरुको बोली नआए बोली फुट्ने विश्वासमा श्रद्धालु त्यहाँ जाने बताइन्छ ।
स्थानीय अग्रजहरुको भनाइ अनुसार ‘निःसन्तान र कुनै बालकको बोली आउँदैन भने बोली आउने यहाँको प्रमुख विशेषता हो । भाकल बुझाउन बर्षेनि धेरै मानिसहरु यहाँ आउने गर्दछन् ।’
गजुरमुखीमा एकपटक मात्रै गएर नहुने मान्यता छ । गजुरमुखीसँग केही माग्न आए पूरा भएपछि पुनः आफूले मागेको कुरा पूरा भएको खवर पुर्याउन जानुपर्ने मान्यता छ ।
यही मान्यता अनुसार भक्तजन दुई पटक त्यहाँ पुग्ने गर्दछन् । शनिवार र मंगलबार भक्तजनहरुको घुइँचो लाग्ने गजुरमुखीमा नजिकै रहेको देउमाई खोला किनारामा कात्तिके पूर्णिमामा ठूलो मेला समेत लाग्ने गरेको छ ।