इलामको गजुरमुखी धाममा पूर्णिमा मेलाको तयारी (भिडियो)

  राम योङहाङ
3.1k Shares

इलाम : परम्परातग रुपमा कात्तिक पूर्णिमाको अवसरमा इलामको माङसेबुङ गाउँपालका-१ स्थित गजुरमुखी धाममा लाग्दै आएको गजुरमुखी धार्मिक मेला यस वर्ष पनि लाग्ने भएको छ ।

पश्चिमी इलामको धार्मिक महत्वको गजुरमुखी धाममा आउँदो १०, ११ र १२ मंसिरमा विभिन्न कार्यक्रमसाथ गजुरमुखी धार्मिक मेला आयोजना गर्न लागिएको हो ।

गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा मेला लाग्ने भएको हो । विगतमा मेला आयोजक समिति गठन गरेर मेलाको आयोजना गरिदैं आएको भएपनि यस वर्ष पर्यटन विकास केन्द्रकै आयोजनामा मेलाको तयारी सुरु भएको हो ।

परम्परागत रुपमा लाग्दै आएको धार्मिका मेलालाई यसवर्ष पनि निरन्तरता दिन तयारी सुरु गरिएको गजुरमुखि पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्बाङले नयाँ बुलन्दलाई जानकारी दिए ।

मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिता तय गरिएको छ । गजुरमुखी धाम गोल्डकप ६ मंसिरदेखि संचालन हुनेछ ।

मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङलगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण बर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा अहिले दैनिक सयौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।

मेची लोकमार्ग अन्तरगत इलामको नेपालटार-मंगलबारे-धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । झापाको दमकबाट माङसेबुङ-चतुरे-इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।

वर्षाको समयमा कच्ची सडकमा केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।

जिल्लाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका आगन्तुकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार