राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाईयो

इलाम : राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती शनिबार विविध कार्यक्रम गरी मनाईएको छ । किरात धर्म सम्बद्ध विभिन्न संस्था तथा किरात धर्मावलम्बीहरुले इलामसहित देशका विभिन्न जिल्लामा धुमधामका साथ फाल्गुनन्दको जन्मजयन्ती मनाएका छन् ।

सामूहिक पूजा, समसामयिक विषयमा अन्तरक्रिया, साँस्कृतिक कार्यक्रम, खेलकुदका कार्यक्रम, सम्मान कार्यक्रम तथा फाल्गुनन्दको शालिक अनावरण गरेर फाल्गुनन्दको जन्मजयन्ती मनाइएको छ ।

केन्द्रीय कार्यक्रम अन्तगत झापाको शिवसताक्षी नगरपालिका-९ स्थित ऐतिहासिक धार्मिकस्थल चिल्लागढमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको उस्थितिमा फाल्गुनन्दको जन्मजयन्ती मनाइएको छ ।

जन्मजयन्तीका अवसरमा त्यहाँ निर्मित किरातेश्वर हाङसाम माङहिम उद्घाटन एवं फाल्गुनन्दको पुर्ण कदको सालिक अनावरण गरिएको छ ।

त्यस्तै झापाकै अर्जुनधारा नगरपालिका-५ डाँडागाउँमा धर्मगुरु लिङदेनकै उपस्थितीमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित फाल्गुनन्द छात्रावास पनि लोकार्पण भएको छ ।

यता इलामको माङसेबुङ गाउँपालिका-५ स्थित निजी गुरु आश्रममा पनि १ हजार १ सय ३९ तामा गाग्रोको कलससहित विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाईएको छ  ।

माङसेबुङ गाउँपालिका-२ स्थित गाउँपालिकाको कार्यालय, माङसेबुङ गाउँपालिका-३ स्थित भञ्ज्याङ र चतुरेमा समते दीप प्रज्वलन एवम् शुभकामना आदानप्रदान गरी जन्मजयन्ती मनाईएको छ ।

फाकफोकथुम गाउँपालिका-७ स्थित एकतप्पाको रुपाटारमा सामूहिक पूजा र शुभकामना आदानप्रदान गरी जन्मजयन्ती मनाईएको छ । श्री सिद्ध किरात हाङसाम युमा माङहिमको जन्मजयन्ती मनाईएको हो ।

यस्तै फाल्गुनन्दको देहान्त भएको स्थान पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित सिलौटी र लब्रेकुटीमा समेत भव्य रुपमा फाल्गुनन्दको जन्मजयन्ती मनाइएको छ ।

किराती समुदायको बसोवास रहेका लिम्बुवानका जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभालगायत उत्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर र किरात धर्मावलम्बीको बसोबास रहेका  कास्की, उदयपुर, खोटाङ, भोजपुरलगायतमा  समेत विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाईएको छ ।

फल्गुनन्दले सांस्कृति करुपमा प्रयोग गरिने मदिरा, बलिप्रथा, महिला विभेद र जातिय विभेदका विरुद्ध राणा शासन कालमा नै अभियान सुरु गरेको र त्यसको सान्दर्भिकता अहिले प्रष्ट भएको धार्मिक अभियान्ताहरु बताउँछन् । सरकारले राष्ट्रिय विभूतीको रुपमा घोषित गरेपछि राष्ट्रिय पर्व मान्दै २५ कात्तिकमा सार्वजनिक बिदा दिदैं आएको छ । नेपाल सरकारले १६ मंसीर २०६६ मा तत्कालिन फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

इलामको माङसेबुङ गाउँपालिकाको इभाङस्थित चुक्चिनम्बामा २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दले ७ वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किरात धर्मालम्बीहरुको विश्वास छ । उनले देउमाई नगरपालिका ९ जितपुर खत्रक्पा खोल्सी माईखोलाको किनारमा ज्ञान प्राप्त गरेको किरात धर्मालम्बीहरुको दावी छ । भारतीय सेनामा समेत काम गरेका फाल्गुनन्दले फर्केर धर्म प्रचारमा लागेका थिए ।

माङसेबुङस्थित वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनका साईनोमा बाजे पर्ने फाल्गुनन्दले उतिबेला पाँचथरको लब्रेकुटी र सिलौटी, ताप्लेजुङको कावेली, निगुरादिन, कुम्भकर्ण, इलामको जितपुरलगायत स्थानमा किरात मन्दिर बनाएका थिए । समाज सुधारकसँगै किरात धर्मालम्बीहरु धर्मगुरुलाई दैवीशक्ति प्राप्त व्यक्तिको रुपमा सम्झन्छन् । धर्मगुरुको सम्मान र स्मृतिमा किरात बाहुल्य क्षेत्रमा मन्दिर निर्माण गरेर उनको सामाजिक सुधार र धार्मिक बाटोमा हिड्नेहरुको संख्या बढ्दो छ ।

किरातीहरुले प्रयोग गर्ने मुन्नधुमलाई लिपिवद्ध गर्ने काम पनि उनले गरेको जानकारहरु बताउँछन् । उनले प्रतिवादन गरेको धर्मलाई किरात हाङसाम साम्यो भनिन्छ । सत्य र शान्तिको मार्गमा लाग्न उनले धर्ममार्फत अभियान चलाएकाले यो धर्मालम्बीलाई सत्यहाङवा पनि भनिन्छ । १९८८ बैशाख २४ गते किरातीहरुको भेलाले सत्य र शान्तिको पक्षपाती भएकाले धर्मको नाम नै सत्यहाङवा राख्ने निश्कर्षमा पुगेका थिए । अहिले साझा रुपमा किरात धर्म भन्ने गरिएको छ ।

फाल्गुनन्दको निधन २२ चैत २००५ मा पा“चथरको फाल्गुनन्द गाउँपालिकास्थित सिलौटीमा भएको हो । उनले तपस्या गरेका स्थान, जन्मस्थान, निधन भएको स्थान र महत्वपूर्ण काम गरेका क्षेत्रलाई तिर्थस्थलकोरुमा लिइने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार