फाकफोकथुममा आयोजित फुटबल प्रतियोगिताको उपाधि चुलाचुलीलाई

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि फुङनाम स्पोर्टिङ एफसी चुलाचुलीले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा कोलबोटे एफसीलाई टाब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै चुलाचुलीले उपाधिमाथि कब्जा जमाएको हो ।

निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि टाईब्रेकरको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।

कोल्बोटेले खेलको सुरुवातमा नै पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न नसक्दा उपाधि गुमाउनुपर्‍यो । दोस्रो हाफको सुरुवातमा कोलबोटेका रोशन आङ्देम्बेले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता १ मिनेट पनि कायम गर्न सकेन । कोल्बोटेले गोल गरेको लगत्तै चुलाचुलीका राजेन्द्र मगरले गोल गरी खेल बराबरीमा ल्याए । मगरले रिबाउन्स बललाई सदुपयोग गर्दै गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

जितसँगै चुलाचुलीले नगद १ लाख २५ हजार र ट्रफि हात पार्‍यो । उपविजेता कोल्बोटेले नगद ६५ हजार र ट्रफिमा चित्त बुझाउन बाध्य बन्यो ।

त्यस्तै फाइनल खेलको म्यान अफ दी म्याच विजेता चुलाचुलीका राजेन्द्र मगर घोषित भए । उत्कृष्ट खेलाडी विजेता चुलाचुलीका कप्तान दिवस श्रेष्ठ र उत्कृष्ट गोलरक्षक चुलाचुलीकै रुविन राई घोषित भए । सर्वाधिक गोलकर्ता उपविजेता कोलबोटेका शुकराज राई घोषित भए । उनले खेल अवधिभर ४ गोल गरेका थिए । उनीहरुले जनही २/२ हजार नगद पुरस्कार र ट्रफी प्राप्त गरे ।

आयोजक समितिका अध्यक्ष पदम लिम्बूको अध्यक्षतामा भएको समापन समारोहमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपप्रमुख कल्पना राई, कार्यक्रम संयोजक युवराज लिम्बू, स्पोर्टिङ इलाम डी मेचीका अध्यक्ष सुहाङ नेम्बाङलगायतले विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा १८ कात्तिकदेखि संचालित प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार