आत्मानन्द कप ८ मंसिरदेखि संचालन हुने

इलाम : १६ औं संस्करणको आत्मानन्द कप अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता ८ मंसिरदेखि इलामको धार्मिक क्षेत्र माङसेबुङमा सञ्चालन हुने भएको छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा ८ देखि २० मंसिरसम्म प्रतियोगिता सञ्चालन हुने बिहीबार माङसेबुङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने निश्चित भएको आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।

प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटान समेत सहभागी हुने निश्चित भएको आयोजक समितिका अध्यक्ष ‍आङबुहाङले जानकारी दिएका छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।  त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मपवित्र खेलकुद समितिले किरात धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार