किरात याक्थुङ चुम्लुङ माङसेबुङ-१ को ‘चुम्लुङ हिम’ उद्घाटन (तस्विरहरु)

माङसेबुङ : किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँपालिका-१ वडा समितिको चुम्लुङ हिम (कार्यालय भवन) उद्घाटन भएको छ ।

माङसेबुङ गाउँपालिका-१ कोक्मा पाङ्भे (डाँडागाउँ) मा निर्मित चुम्लुङ हिम बिहीबार उद्घाटन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले च्याब्रुङ बजाएर चुम्लुङ हिम उद्घाटन गरे ।

साथै चुम्लुङहिम परिसरमा निर्मित सिलामसाक्मा समेत अनावरण भएको छ । गाउँपालिका अध्यक्ष राई र किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् लिम्बुवान प्रदेश समिति सल्लाहकार यामप्रसाद लिम्बूले सिलामसाक्मा अनावरण गरेका हुन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङको तर्फबाट के:लाङ (च्याब्रुङ नाच), किरात राई यायोक्खाको तर्फबाट साकेला नृत्य, नेपा देय दवुको तर्फबाट लाखे नाच र याक्थुङ आइडल टप ५ की रिपना लिम्बुले पालम प्रस्तुत गरेकी थिइन् ।

यसैगरी जेष्ठ नागरिकहरुलाई सम्मान र फुटसल प्रतियोगितामा विजेता किरात याक्थुङ चुम्लुङका खेलडीहरुलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा चुम्लुङ हिम निर्माण आर्थिक समितिका संयोजक मणीबिक्रम योङहाङले ९ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ माङसेबुङ-१ का अध्यक्ष गोविन्द योङहाङ (बसन्त) को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रत्ना लवातीले र स्वागत पदम आङदेम्बेले गरेका थिए ।

चन्दा संकलनबाट चुम्लुङ हिम निर्माण

किरात याक्थुङ चुम्लुङ माङसेबुङ-१ ले आफ्नै स्वामित्वको चुम्लुङ हिम उद्घाटन गरेको छ । १ रोपनी ६ आना जग्गासहित ढुङ्गा र काठबाट निर्मित दुईतले भवन खरिद गरेर चुम्लुङ हिममा रुपान्तरण गरेको हो । त्यसका लागि चुम्लुङले आर्थिक संकलन अभियान नै संचालन गरेको थियो ।

माङसेबुङ गाउँपालिकाले ३ लाख सहयोग गरेको छ । वैदेशिक रोजगारीका शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुबाट २ लाख २६ हजार संकलन भएको छ । अन्य रकम स्थानीय समाजसेवीहरुबाट संकलन भएको आर्थिक समितिका संयोजक मणीविक्रम योङहाङले जानकारी दिए ।

योङहाङ परिवारद्वारा सिलामसाक्मा सौजन्य

चुम्लुङ हिम परिसरमा निर्मित फलामबाट निर्मित सिलामसाक्मा स्थानीय योङहाङ परिवारले सौजन्य गरेका हुन् ।

स्थानीय पूर्णसिंह योङहाङ परिवारले आफ्नी स्व. पत्नी कृष्णकुमारी शेर्मा योङहाङको स्मृतिमा सिलामसाक्मा निर्माण गरी चुम्लुङलाई उपलब्ध गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार