इलाम : ६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले उत्कृष्ट प्रहरी र विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा १३ जना प्रहरी र तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
पुरस्कृत हुनेहरुमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक बिष्णुबहादुर खड्का, प्रहरी वरिष्ठ नायव निरीक्षक भोजकुमार रंजितकार, प्रहरी नायव निरीक्षक तारा कटुवाल र चन्द्र लिम्बू, प्रहरी सहायक निरीक्षक मन्जु चौधरी र जोशन तामाङ रहेका छन् । त्यसैगरी प्रहरी वरिष्ट हवल्दार बिजय राई, प्रहरी हवल्दार पुष्प भट्टराई, रिद्धि खनाल, गोपाल राई, प्रहरी सहायक हवल्दार सन्जय माबोहाङ लिम्बू, राजेश श्रेष्ठ र प्रहरी जवान यमुना पोखरेल पुस्कृत भएका छन् ।
त्यस्तै प्रहरी दिवसकै अवसरमा ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक निबन्ध प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका तीन विद्यार्थीलाई सम्मानपत्रसिहत पुरस्कृत गरेको छ ।
निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गरेका नन्द माध्यमिक विद्यालयकी मनिषा पाख्रिन, द्वितीय स्थान हासिल गरेकी जोति सदन बोर्डिङ स्कुलकी कृपा चाम्लिङ राई र तृतीय स्थान हासिल गरेकी आदर्श माध्यमिक विद्यालयकी प्रज्ञा न्यौपानेलाई पुरस्कृत गरेको हो । प्रतियोगितामा इलामका विभिन्न विद्यालयहरुबाट १२ जना विद्यार्थीहरुको सहभागिता थियो ।
त्यस्तै अमर प्रहरी कर्मचारीहरुको परिवारलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला र जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले सम्मान गरेका थिए ।
कार्यक्रममा कर्तब्य पालनाको शिलशिलामा वीरगति प्राप्त अमर प्रहरी कर्मचारीहरुको सम्मानमा शोक सलामी दिई वीरगति प्राप्त अमर प्रहरी स्मारकमा रेथ अर्पण तथा माल्यार्पण समेत गरिएको थियो ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाका प्रमुखहरु, पूर्वप्रहरीहरु, अमर प्रहरी परिवारजन, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
२०१२ साल असोज ३१ गते प्रहरी ऐन, २०१२ ले प्रहरी संगठनलाई वैधानिकता प्रदान गरेको दिनलाई प्रहरीले प्रहरी दिवसको रुपमा मनाउने गरेको छ ।
तस्विरहरु :