इलाम : निर्माणाधीन राँके-गैंडे सडक अन्तरगत इलामको माङसेबुङ गाउँपालिकास्थित इभाङ खण्डमा ढलानको क्रममा प्रयोग गरिएको फलामे छडप्रति स्थानीयले प्रश्न उठाएका छन् ।
सडक ढलान गर्ने क्रममा ढलानले छोपिने भागमा प्रयोग गरिएको छड र बाहिर देखिने भागमा प्रयोग गरिएको छडको आकार फरक पाइएपछि प्रश्न उठाएका हुन् । ढलानले छोपिने भागमा १० र १२ एमएम को छड बिच्छ्याइएको छ भने बाहिर निकालेको भागमा १६ एमएमको छड लगाईएको छ ।
९० मिटर ढलान हुन लागेको उक्त सडक खण्डको ढलानमा देखिने छड र प्रयोग गरिएका छड फरक पाएपछि स्थानीयले प्रश्न उठाउन थालेका हुन् । लामो समयसम्म चर्चा पाइरहेको उक्त सडक थकाई मार्दै निर्माण भएपनि निर्माणको काममा गुणस्तर छ या छैन भन्नेमा स्थानीय चिन्तित छन् । बहुवर्षे योजनाका रूपमा रहेको उक्त सडक निर्माणमा ढिला भइरहँदा निर्माणको काममा हुने लापरबाहीले सडक निर्माण सम्पन्न नै नभई बनाएको ठाउँ भत्किन थाल्ने हो कि भन्नेमा चिन्तित छन् ।
माङ्सेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राईले उक्त सडक ढलानमा दुई खालको छड प्रयोग गरेको देखिएको बताए । ‘लगत स्टिमेटमा के छ थाहा छैन । तर छोटा छडलाई जोडेर बाहिर निकालेको देखेपछि बुझ्न खोज्दा त्यहाँ कोहि पनि नभएको हुँदा तत्काल बुझ्न पाईएन’ प्रवक्ता राईले भने, ‘आफू सदरमुकाम आउँदै गर्दा देखेको हुँ । पालिका गएर त्यस विषयमा बुझ्नेछु ।’
माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले प्रदेश र सङ्घबाट सञ्चालनमा आएका योजना अनुगमान नमिल्ने रहेछ भन्दै यस विषयमा जिल्ला समन्वय समितिलाई तत्काल अनुगमन गरिदिन आग्रह गरेको बताए । ‘अनुगमन गर्न नमिल्ने भन्दै त्यसै छाडिदिने चाँहि होइन, त्यहाँको कामको विषयमा चासो राखेर जिल्ला समन्वय सँग समन्वय गरिरहनेछु’ अध्यक्ष राईले भने ।
यता जिल्ला समन्वय समितिका प्रमुख जय प्रकाश राईले गलत काम गरेको रहेछ भने त्यसलाई पुन: काम गर्न लगाउनु पर्ने भन्दै उक्त सडकको अनुगमनका लागि आफू इन्जिनियर लिएरै जाने बताए । स्टिमेटमा के छ, त्यो अनुसार अनुगमन गर्ने भन्दै जिसस प्रमुख राईले देखिने ठाउँमा मात्रै ठुलो छड लगाएको पाइएमा बनाएको सबै ढलान भत्काएर पुन: बनाउन लगाउने बताए ।
सडक निर्माणको जिम्मा पाएको पूर्वाधार विकास कार्यालय चन्द्रगडीका प्रमुख रमेश श्रेष्ठले कार्यालयको इन्जिनियर त्यही बसेर हेरिरहेको भन्दै काम गर्ने क्रममा गलत गरेको पाए तत्काल कारबाही गर्ने र स्टिमेट अनुसार नै काम गर्न लगाउने बताए ।
यता उक्त आयोजनाको साइड इन्जिनियर अमित चौधरी भने स्टिमेट भन्दा फरक काम नभएको बताउँछन् । उनले स्टिमेटमा १० र १२ एमएम कै छड लगाउने भएको भन्दै सडकको तल्लो साइडको ढलानसँग जोड्नका लागि ठुलो छड प्रयोग गरेको बताउँछन् । स्टिमेटमा एउटा र काम कुनै हालतमा नहुने भन्दै आफूले स्टिमेट भन्दा अलिकति पनि बाहिर रहेर काम नगर्ने बताउँछन् ।
जिल्लाकोको फाकफोकथुम भएर माङ्सेबुङ् गाउँपालिका हुँदै झापा जोड्ने राँके गैँडे सडक लामो समयसम्म निर्माण नहुँदा यस क्षेत्रका बासिन्दाले समस्या भोगिरहेका छन् । ५२ किलोमिटर यात्रामा तराई जोड्ने उक्त सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी शिलान्यास गरिए पनि निर्माणले गति लिन नसक्दा समस्या भइरहेको छ ।
राँके गैँडे सडकमा पर्ने देउराली फलाँटे गजुरमुखी इभाङ् सडक खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने गर्ने गरी काम थालिए पनि निर्माणले तीव्रता पाउन सकेको छैन ।
६८ करोडमा निर्माण सम्पन्न हुने उक्त सडक दुई प्याकेजमा ठेक्का सम्झौता भई ठेक्का लागिसके पनि निर्माणमा ढिलाई हुँदा स्थानीय चिन्तित छन् । सडक निर्माणको सुस्थता सँगै उक्त सडक खण्डमा पर्ने खोलामा पुल समेत नहुँदा बर्खामा झन् ठुलो समस्या आउने गरेको छ । त्यस क्षेत्रका बासिन्दा सडक बन्छ कि भन्ने आशामा हिउँदको समयमा धुलो र बर्खामा हिलोको समस्या वर्षैदेखि बिताइरहेका छन् ।
राँके गैँडे सडक निर्माणको ठेक्का लिएका सन्तोष कटुवाल २६ किलोमिटरको ठेक्का ७० करोडको हाराहारी लागे पनि वार्षिक रूपमा पाँच देखि सात करोड सम्म बजेट विनियोजन हुने र यस वर्ष त चार करोड विनियोजन भएको छ भन्दै अव अरू कति वर्ष यो ठेक्का रुँगेर बस्नु पर्ने हो टुङ्गो नभएको बताउँछन् । उनी आफूले ठेक्का पारेको सडक निर्माणका क्रममा गुणस्तरलाई प्राथमिकतामा राखेर सडकको ग्यारेन्टी समेत दिने बताउँदै आएका छन् ।