स्वीकृति नलिई नियुक्त गरेका आंशिक शिक्षकको नियुक्ति रद्ध गरेन

त्रिविको निर्देशन मरव क्याम्पसद्वारा अवज्ञा

इलाम सदरमुकामस्थि महेन्द्र रत्‍न बहुमुखी क्याम्पस । तस्वीर : नयाँ बुलन्द

इलाम : त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखाले गत १४ असोजमा ‘निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा’ विषयको पत्र सबै क्याम्पस र केन्द्रीय विभागलाई पठायो ।

पत्रमा त्रिवि कार्यकारी परिषदको ४ असोज २०८० मा बसेको बैठकको निर्णयबाट अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका जारी भएको १ भदौ २०७७ उप्रान्त केन्द्रीय कार्यालयको स्वीकृति नलिईकन नियुक्त गरिएका सबै आंशिक शिक्षकहरुको नियुक्ति ३ दिनभित्र रद्ध गर्न क्याम्पस प्रमुख/विभागीय प्रमुखलाई निर्देशन दिने निर्णय भएको जानकारी गराउँदै निर्णय कार्यान्वयन गरी महाशाखालाई जानकारी गराउन अनुरोध गरेको थियो ।

साथै तोकिएको अवधिभित्र निर्णय कार्यान्वयन नगरी सो प्रकृतिका आंशिक शिक्षकहरुलाई कक्षा लिन लगाई पारिश्रमिक भुक्तानी भएमा मुक्तानी भएको रकम निकाय प्रमुख र लेखा प्रमुखबाट असूल उपर गर्न लेखापरीक्षण महाशाखा र निजहरुमाथि विभागीय कारवाही आरम्भ गर्न कर्मचारी प्रशासन महाशाखालाई निर्देशन दिने समेत निर्णय भएको व्यहोराको जानकारी पत्रमा उल्लेख थियो ।

तर, इलाम सदरमुकामस्थिम महेन्द्ररत्न बहुमुखी क्याम्पसले सो निर्देशनसिहतको पत्रको अवज्ञा गरेको छ । सो क्याम्पसले न त्रिवि कार्यकारी परिषदको निर्णय कार्यान्वयन गर्योन, न त महाशाखालाई निर्णय कार्यान्वयनको बारेमा कुनै जानकारी नै गरायो ।

महाशाखाबाट निर्णय कार्यान्वयन गर्न पत्राचार भएको एक साता बितिसक्दा समेत क्याम्पस गैरजिम्मेवार बन्दै चुपचाप बसेको छ । उसले त्रिवि कार्यकारी परिषदबाट स्वीकृति नलिई नियुक्त गरेका आंशिक शिक्षकहरुको नियुक्ति रद्ध नगरी नियमित कक्षा लिन लगाईरहेको छ ।

सो क्याम्पसले त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिकाको बर्खिलाप हुनेगरी बिना कुनै प्रक्रिया पूरा गरी आफूखुशी ३ जना आंशिक शिक्षक नियुक्त गरी अध्यापन कार्यमा संलग्न गराई पारिश्रमिक उपलब्ध गराईरहेको छ । दुई जना अंग्रेजी र एक जना व्यवस्थापनका आंशिक शिक्षक बिना कुनै प्रक्रिया आफूखुसी नियुक्त गरेको पाईएको हो ।

क्याम्पसले गत आर्थिक वर्षमा दुई फरक विषयका लागि एक/एक जना आंशिक शिक्षक आवश्यकता सम्बन्धी विज्ञापन प्रकाशन गरी वैकल्पिक भएका तीन जनालाई बिना कुनै प्रक्रिया आफूखुसी नियुक्त गरेको पाईएको हो । प्रकाशित विज्ञापन बमोजिम दुई फरक विषयका लागि एक/एक जना आंशिक शिक्षक छनौट गर्न भएको परीक्षाबाट सफल भएका एक/एक जना सो क्याम्पसमा अझै कार्यरत छन् । तर उनीहरुका वैकल्पिक समेतलाई क्याम्पसले नियुक्त दिएको पाईएको हो ।

आंशिक शिक्षक छनौट परीक्षाबाट सफल दुईजना त्रिवि कार्यकारी परिषदबाट स्वीकृति प्राप्त भएपछि निकाय प्रमुखले छनौट समिति गठन गरी सार्वजनिक सूचना मार्फत निवेदन माग गरी छनोट गरेको भएपनि वैकल्पिकमा रहेका तीन जना भने क्याम्पसले बिना कुनै प्रक्रिया आफूखुसी नियुक्त गरेको पाईएको हो ।

क्याम्पसले ७ भदौ २०७९ मा (विज्ञापन नं. १०/०७९/०८० र विज्ञापन नं. ११/०७९/०८०) विज्ञापन प्रकाशित गरी व्यवस्थापन विषयको एक र अंग्रेजी (व्यवस्थापन) विषयको एक जना आंशिक शिक्षक पदमा आवेदमा माग गरेको थियो । प्राप्त आवेदनका आधारमा २१ र २२ माघ २०७९ मा मौखिक परीक्षा र कक्षा अवलोकन गरी सफल भएका दुवै विषयका लागि एक एक जना आंशिक शिक्षक नियुक्त गरेको थियो । पछिल्लो पटक सोही परीक्षामा वैकल्पिक भएकाहरुमध्ये दुई जना अंज्रेजी र एक जना व्यवस्थापन विषयमा सोझै नियुक्त गरेको पाईएको हो ।

त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७० मा विश्वविद्यालयका आंगिक क्याम्पस/केन्द्रीय विभाग/स्कुल विभाग कार्यक्रममा पूर्णकालीन शिक्षकहरुलाई तोकिएको कक्षाभार भन्दा बढी कक्षाभार भई कार्यरत शिक्षकहरुले सो बढी भएको कक्षाभार दिन नसक्ने अवस्था भएर आंशिक शिक्षक राख्नुपर्ने भएमा निकाय प्रमुखले कक्षाभार र कक्षा तालिका उल्लेख गरि विभागीय प्रमुख कार्यक्रम संयोजकको सिफारिस सहित स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाउनु पर्ने र केन्द्रीय कार्यालयको सिफारिसमा कार्यकारी परिषदबाट स्वीकृति प्राप्त भएपछि निकाय प्रमुखले छनौट समिति गठन गरी सार्वजनिक सूचना मार्फत् निवेदन माग गरी छनोट प्रक्रिया सुरु गर्नु पर्ने व्यवस्था उल्लेख छ ।

तर सो व्यवस्थाको बर्खिलाप हुनेगरी केही क्याम्पसहरुबाट बिना कुनै प्रकृया पुरा गरी आफुखुशी आंशिक शिक्षक नियुक्त गरी अध्यापन कार्यमा संलग्न गराई पारिश्रमिक समेत उपलब्ध गराइएको पाइएको भन्दै महाशाखाले ३ दिनभित्र त्यस्ता शिक्षकहरुको नियुक्ति ३ दिनभित्र रद्ध गरी महाशाखालाई जानकारी गराउन अनुरोध गरेको थियो ।

यता, क्याम्पसले भने सबै प्रक्रिया पूरा गरेर नै आंशिक शिक्षक नियुक्त गरेको दावी गरेको छ । क्याम्पस प्रमुख खगेन्द्रप्रसाद चापागाईले क्याम्पसको आवश्यकतामा नियमानुसार नै आंशिक शिक्षक नियुक्त गरेको दावी गरे । ‘हामीले आफूखुसी टपक्क टिपेर कसैलाई पनि नियुक्त गरेका छैनौं । कुनै न कुनै परीक्षामा सामेल भएकाहरुलाई नै नियुक्त गरिएको छ’ क्याम्पस प्रुमख चापागाईंले भने, ‘त्रिवि कार्यकारी परिषदबाट स्वीकृति लिएर परीक्षा गर्नुपर्योी भने १ वर्ष बित्छ ।

क्याम्पसलाई तत्काल शिक्षक आवश्यकता पर्यो । विद्यार्थीको पढाईमा असर नपार्नका लागि वैकल्पिकबाटै नियुक्त गरिएको हो ।’ क्याम्पस प्रमुख चापागाईंले स्वायत्त क्याम्पसले कतिपय नियम आफैं बनाउन सक्ने बताउँदै सोही बमोजिम आंशिक शिक्षक नियुक्त गरिएको समेत दावी गरे ।

क्याम्पस प्रमुख चापागाईंले त्रिवि रजिष्ट्रारको कार्यालयबाट कर्मचारी महाशाखाबाट निर्णय कार्यान्वयन गर्ने निर्देशनसहित पठाइएको पत्रबारे क्याम्पसको असहमति रहेको बताए । उनले सो पत्रको विषयमा क्याम्पसले दशैंको विदाअघि जवाफ पठाउने समेत बताए । ‘कतिपय कानुनी र व्यवहारिक पक्षमा तालमेल मिलेको छैन । हामी यो सबै विषय खुलाएर दशैंअघि पत्र पठाउँछौं’ क्याम्पस प्रमुख चापागाईंले भने ।

यस्तो छ पत्र :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार