फोनिजको स्थापना दिवसमा इलाममा पुरस्कार वितरण र अन्तरक्रिया

  नयाँ बुलन्द
105 Shares

इलाम : नेपाल आदिवी जनजाति पत्रकार महासंघ फोनिज इलामले फोनिजको २४ औं स्थापना दिवसको अवसरमा सोमबार आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार र अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारबाट पत्रकार ज्ञानु केदेम पुरस्कृत भएका छन् । फोनिजको स्थापना दिवसको अवसरमा केदेमलाई पुरस्कृत गरेको हो । कार्यक्रममा इलाम नगरका प्रमुख केदार थापा र प्रमुख जिल्ला खधिकारी श्रवणकुमार पोखरेलले पत्रकार केदेमलाई दोसल्ला, सम्मानपत्र र १० हजार रुपैयाँको चेक प्रदान गरे ।

विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव हुन् । इलामको माङरेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनका उपसम्पादक केदेम फोनिजका प्रदेश सदस्य समेत हुन् ।

फोनिज इलामले स्थापना गरेको सो पुरस्कारबाट यसअघि अग्रज पत्रकार सटेन्द्र जवेगू पुरस्कृत भएका थिए । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी फोनिजले पुरस्कार कोष स्थापना गरेको छ ।

पुरस्कार कोषमार्फत बर्सेनि एक जना आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ ।

फोनिज इलाम शाखाकोसदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस/पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूणर् योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।

यसैबीच फोनिजको स्थापना दिवसकै अवसरमा संवैधानिक व्यवस्था र इलाममा मिडियामा समावेशी अवस्था विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ । 

सञ्चारकर्ममा लाग्ने सञ्चरकर्मीले सीप र दक्षतालाई ध्यान दिनु पर्ने अन्तरक्रियामा सहभागिले बताएका छन् । उनीहरूले पत्रकारिकताको मुल मर्म र धर्मलाई ध्यानमा राखेका काम गर्न समेत सुझाएका छन् । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख थापाले पहिचानको विषयलाई सहि तरिकाले उठान गरेर लान सञ्चारकर्मीलाई आग्रह गरे । उनले आदिवासीका जनजातिका विषयलाई राज्यले गम्भिर भएर सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेले समावेशिताको सवालमा राजनीतिक दलका नेतृत्वमा प्रष्टता अवश्यक भएको बताउँदै उनिहरूले नै राज्यका सबै समुदायलाई यो देश मेरो हो भन्ने भावनाको विकास गर्नु सूझाव राखे ।

नेपाल आदिवासी जनजाति महासघ इलामका अध्यक्ष अभिषेक येक्तेनले आदिवासी जनजातिको मुद्दामा सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । उनले सञ्चारकर्ममा सामाजिक सञ्जालले सञ्चारकर्मको धर्मलाई भूल्दै गएकोमा दुख समेत व्यक्त गरे । फोनिजका पूर्व केन्द्रीय उपाध्यक्ष दिपिन राईले राज्यको मुलधारले आदिवासी जनजातिको विषयलाई बुझेर सम्बोधन गर्न आग्रह गरे । उनले समावेशीताको नाममा आदिवासीको मुद्दालाई पैरवी गर्दै लान सञ्चारकर्मीमा सीप र क्षमता विकासमा समेत जोड दिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लभ भट्टराईले समावेशी सवालको सवालको साथमा बर्गिय मुद्दालाई समेत समेटेर लानुपर्नेमा जोड दिए । सबै खालको आवाजलाई समेट्न सकेको खण्डमा मात्रै समावेशीताको सार्थक अर्थ लाग्ने बताए ।

फोनिज इलामका अध्यक्षा राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष याम माबोहाङले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार