‘नो कोशी’ भन्दै किरात याक्थुङ चुम्लुङको स्थापना दिवस, इलाममा ३ जनालाई छात्रवृत्ति

  नयाँ बुलन्द
56 Shares

इलाम : किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा इलाममा ४ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट कक्षा ९ र १० मा अध्ययरनत विद्यार्थीलाई प्रदान गरिने ५ हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रावृति खान्द्रङ माध्यमिक विद्यालय दउमाई नगरपालिका-७ की सोनिका लिम्बू (कक्षा १०) र अमर मावि इलाम नगरपालिका-५ का पुजन लिम्बू (कक्षा ९) ले पाएका छन् ।

यसैगरी किरात याक्थुङ चुम्लुङ इजरायल कल्याण कोषबाट नियमित रुपमा प्रदान गरिने १० हजार रुपैयाँको गरिब तथा जेहेन्दार छात्रावृति बालकन्या माध्यमिक विद्यालय इलाम-११ सोयककी बेबिसा लिम्बू (कक्षा १०) ले पाएकी छन् । सो छात्रावृत्ति यसवर्ष उनले अन्तिमपटक पाएकी हुन् । बेबिसाले सो क्षात्रावृत्ति कक्षा ३ देखि निरन्तर पाएकी हुन् ।

उनीहरुलाई इलाम नगरपालिकाका प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, किरात याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीलगायतले छात्रवृत्ति रकम र सम्मानपत्र प्रदान गरी गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले आफ्नो समुदायको भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन, विस्तार र विकासमा सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा इलाम नगरप्रमुख थापाले किरात याक्थुङ चुम्लुङले उठाउँदै आएको पहिचानको मुद्धामा समर्थन रहेको उल्लेख गर्दै त्यसमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले प्रदेश नामाङकनको विषउमा भइरहेको आन्दोलन राजनीतिक सहमतिको आधारमा समाधान गर्ननुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले संविधानले सबैलाई शान्तिपूर्ण तरिकाले आफ्ना मागहरु राख्न पाउने व्यवस्था गरेको उल्लेख गर्दै किरात याक्थुङ चुम्लुङले प्रदेश पुन:नामाङ्कनको सन्दर्भमा गर्दै आएको आन्दोलन शान्तिपूर्ण तवरले नै वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । उनले आफूहरु राज्यको आदेश पालक भएकाले राज्यले जे अह्राउँछ त्यही गर्ने कामदारी भएको उल्लेख गरे ।

पोखरेलले राज्यले  सबै नागरिकलाई समान दृष्टिले हेर्ने  बताउँदै चुम्लुङले आन्दोलनकै रुपमा मनाएको स्थापना दिवसले सार्थकता पावोस् भन्ने कामना समेत व्यक्त गरे ।

कार्यक्रममा चुम्लुङका संघीय सल्लाहकार मोहनसिंह थेवे, नेपाल आदिवासी जनजाति महासंघ इलमका सचिव याम बाङदेललगायतले मन्तव्य राखेका थिए ।

चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राम योङहाङ र स्वागत सहसचिव याम माबोहाङले गरेका थिए ।

स्थापना दिवसको अवसरमा लिम्बू जातिको मौलिका नाच धाननाच (या:लाङ) र च्याब्रुङ नाच (के:लाङ) समेत प्रस्तुत भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार