माङसेबुङमा माओवादीको अभियान : जनताको मन जित्न सुरुमै श्रमदान   

  नयाँ बुलन्द
434 Shares

इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) शहर पसेको झण्डै १६ वर्षपछि गाउँ फर्केको छ । २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादी केन्द्रले शनिबारदेखि ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लिएर गाउँ फर्केको हो । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरेका थिए ।

त्यसगरी देशभरका वडाहरुमा माओवादी केन्द्रले विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरेका छन् । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारा साथ सुरु भएको अभियानको पहिलो दिन शनिबार नै माओवादीले जनताको मन जित्ने प्रयास गरेका छन् ।

शनिबार इलामको १० वटै पालिकाका सबै वडामा एकैसाथ अभियान सुरु भएको छ । वडामा अभियान कमाण्डर तोकेर सुरु गरिएको अभियानमा कमाण्डरले आआफ्नो वडमा सम्हालेका थिए ।

माङसेबुङ गाउँपालिकामा माओवादीले अभियानको पहिलो दिन सार्वजनिक स्थलमा सरसरफाई र श्रमदान गरेको छ । माङसेबुङ गाउँपालिका-१ मा माओवादी वडा समितिले धार्मिक देवस्थल नावालुङ परिसरमा सरसफाई गरी वृक्षारोपण गरेको छ । जिल्ला सदस्य एवम् वडा कमाणण्डर भुपाल योङहाङको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरुद्वारा सरसफाई र वृक्षारोपण गरिएको हो । नावालुङ पर्यटकीय क्षेत्र हो ।

त्यसैगरी माङसेबुङ गाउँपालिका-३ मा  माओवादीले चतुरेस्थित जीवन ज्योति माध्यमिक विद्यालयको प्राङ्गण, चतुरे बजार, बजारको ढल र बाटो सरसफाई गरेको छ  ।

माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा माङसेबङ-३ जननिर्वाचित वडा अध्यक्ष जनम खम्बुको नेतृत्वमा माओवादी केन्द्र माङसेबुङ-३ वडा अध्यक्ष सजन राई, वाइसिएल इलाम जिल्ला सदस्य सरदजङहाङ राई, एकीकृत अखिल नेपाल शिक्षक संगठन माङसेबुङ सचिव बल बहादुर काफ्ले, भङ्ज्याङ टोल कमिटि अध्यक्ष बुद्धि बहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी माङसेबुङ गाउँपालिका-५ मा आगलागी पीडितको घर निर्माणमा श्रमदान गरेको छ । स्थानीय माङमिक्तोक्ला टोलमा निर्माण सुरु भएको घरको ढलाईमा श्रमदान गरेको हो । श्रमदानमा प्रेस सेन्टरका केन्द्रीय सदस्य राम योङहाङ, माओवादी केन्द्र वडा अध्यक्ष सन्तकुमार राई (जंग) लगायत स्थानीयत नेता कार्यकर्ताहरुको उपस्थिति थियो । केही महिना भएको आगलागीबाट सो टोलमा ७ जनाको घर जलेर नष्ट भएको थियो  ।

माङसेबुङ गाउँपालिका-२, ४ र ६ मा माओवादीले कार्यकता भेटघाट गरी अभियान उद्घाटन गरेको  छ ।

१५ मंसिरसम्म संचालन हुने तीन महिने अभियानमा पार्टीसँग सम्बन्धित र जनतासँग सम्बन्धित क्रियाकलाप संचालन हुनेछन् । अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभालगायतका पार्टीसँग सम्बन्धित क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवारसँग भेटघाट, जनश्रमदान एवम जनप्रदर्शनलगायतका जनतासँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्नेछ ।

माओवादीले तीन महिने अभियानको क्रममा जनताको साथ पाउने अपेक्षा गरेको छ । अभियानका क्रममा २५ लाख जनता र मतदातामा पुग्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार