
इलाम : इलाममा ‘जनतासँग माओवादी विषेश रुपान्तरण अभियान’ सम्बन्धी शुक्रबार अभिमुखीकरण सम्पन्न भएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ मूल नारा साथ आउँदो १६ भदौदेखि सुरु हुने नेकपा (माओवादी केन्द्र) को तीन महिने विशेष अभियान सम्बन्धी अभिमुखीकरण भएको हो ।
माओवादी केन्द्र इलामले इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य, जिल्ल्लाका पदाधिकारी र सदस्य, पालिका कमिटिका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारीहरुसहित अगुवा कार्यकर्तालाई विशेष अभियान सम्बन्धी अभिमुखीकरण गरेको हो । कार्यक्रममा डेढ सय बढी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूर्वकृषिमन्त्री समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सचिव चन्द्रप्रकाश खनाल ‘बलदेव’, प्रदेश कमिटि अध्यक्ष हर्कबहादूर नेम्बाङ ‘मिक्सो’ केन्दिय सदस्य एवम् इलाम इञ्चार्ज कुलप्रसाद साँवा ‘कुसल’ केन्द्रीय सदस्यहरु हरि राना, लक्ष्मी न्यौपाने, रञ्जित तामाङ, लालबहादूर मगर, केपी बरालले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य उर्मिला तामाङ केन्द्री किमिटि र प्रदेश कमिटीको सर्कुलरबारे जानकारी गराएकी थिइन् । त्यस्तै इलामको माओवादी पार्टीको अवस्थाबारे जिल्ला सहइञ्चार्ज कान्छा लावतीले रिपोर्टिङ गरेका थिए ।
माओवादी केन्द्रका सचिव बलदेवले बलिययो मुद्धा बाकेर स्थापित माओवादी पार्टी जनताबाट टाढा भएको भान भएकाले तीन महिने बिषेश अभियान संचालन गरिको बताए । उनले अभियानको क्रममा जनयुद्धमा झैं जनताको घरघरमा पुगेर माओवादीको नेतृत्वमा भएको अहिलेसम्मको उपलब्धि र अब गर्नुपर्ने कामका विषयमा प्रष्ट पार्ने काम हुने उनले बताए ।
इलाम इञ्चार्ज कुसलले अभियानबाट नतिजा दिने गरि काम गर्न कार्यकर्तालाई निर्देशन दिए । प्रदेश कमिटि अध्यक्ष मिक्सोले पार्टी र जनताबिचको दुरी घटनाउने तीन महिने अभियानले बिषेश भूमिका निर्वाह गर्ने बताए ।
केन्द्रिय सदस्य हरी रानाले डर, रहर र कहरका साथ यो अभियान सुरु भएको बताउँदै जनतामाझ सरकार र पार्टीले गरेका राम्रा कामको जानकारी दिँदै जनताकै सुझावबाट पार्टी र सरकार चलाउने योजनाका साथ तीन महिने अभियान संचालन भएको बताए ।
केन्द्रिय सदस्य रञ्जित तामाङले परिवर्तन र संविधान रक्षाको लागि माओवादी नेता, कार्यकर्ता एक भएर जनतामा जानुपर्ने आवश्यकता भएकाले तीन महिने अभियान संचालन गरेको बताए ।
केन्द्रिय सदस्य लक्ष्मी न्यौपानेले हजारौँको बलिदानबाट स्थापित गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षा गर्न सफल पार्टी माओवादी भएकाले अब देशको सवृद्ध बनाउने काम माओवादीकै नेतृत्वमा हुने बताइन् ।
केन्द्रीय सदस्य लालबहादुर मगरले संगठन बलियो भएमात्र निर्वाचन जित्न सकिने बताउँदै संगठन बजबुद बनाउन अभियान संचालन गरिएको बताए ।
केन्द्रिय सदस्य केपि बरालले जनतासँग पुगेर उनीहरुका दुःखसुखका कुरासँगै जनताकै मागमा आधारिक कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्न तीन महिने अभियान संचालन गरको प्रष्ट पारेका थिए ।
तीन महिने अभियानका क्रममा जनताका घरघरमा पुग्ने योजनामा रहेको जिल्ला संयोजक बिजय खम्बूले बताए । संयोजक खम्बूको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव शान्ता बसन्तले गरेकी थिइन् ।
तीन महिने अभियानका क्रममा माओवादीले सदस्यता नविकरण र नयाँ सदस्यता, सदस्यता नविकरण, भेला, प्रशिक्षण, सम्मेलन, सभा, जनप्रदर्शन एवम् जनतासँग भेटघाटलगायतको क्रियाकलाप संचालन गर्नेछ । त्यस्तै घाईते, अपाङ्ग, बेपत्ता तथा शहिद परिवार भेट्ने कार्यक्रम रहकाे जनाईएकाे छ । त्यसैगरी सम्पूर्ण पार्टी सदस्यले ३ दिने श्रमदान गर्ने, किसानहरूकाे घरघरमा गएरमा काम गर्ने जनाईएकाे छ ।
माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपश्चात पहिलो पटक जनताको घरघरमा जान लागेको हो । जनयुद्धमा जनसँगै रहने र जनताको हरेक समस्यामा सारथि बन्ने गरेका माओवादी शान्ति प्रक्रियासँगै शहर पसेका थिए । शहर पसेपछि जनतामाझ जान नसकेकै कारण पछिल्लो समय माओवादी खुम्चँदै गएको छ । सोही कुरालाई मध्यनजर गर्दै माओवादीले देशैभर जनताको घरघरमा पुग्नेगरी अभियान संचालन गर्दैछ ।
अभियानको १६ भदौमा छ हजार सात सय ४३ वटै वडामा एकसाथ उद्घाटन हुनेछ । अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डिजिटल माध्यमबाट एकसाथ सम्बोधन गर्नेछन् ।




















































