
इलाम : इलाम नगरपालिकाका प्रमुख केदार थापाले विभिन्न जातजातिको भाषा र संस्कृति नेपालको सम्पत्ति भएको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ इलामले २९औं विश्व आदिवासी दिवसको अवसरमा बुधबार इलाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त कुरा बताएका हुन् ।
‘जातीय विविधता नेपालको पहिचान हो । यहाँका जातीय विविधता, भाषिक, विविधता र सांस्कृतिक विविधता हाम्रा सम्पत्ति हुन्’ नगरप्रमुख थापाले भने, ‘यसको उचित संरक्षण र सवर्द्धन गर्नु राज्यको दायित्व र कर्तव्य हो । हामी त्यसका लागि गम्भीरतापूर्वक लागिरहेका छौं ।’
नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै आदिवासी जनजातिहरुको भाषा, संस्कृति र समाधिस्थलहरुको संरक्षण र संवर्द्धन गर्ने नीति समावेश गरेको बताउँदै उनले आदिवासी जनजातिहरुको विभिन्न क्षेत्रलाई सम्बोधन गर्दै लगिने प्रतिवद्धता जनाए ।

प्रमुख थापाले लोकतान्त्रिक व्यवस्था विश्वको उत्कृष्ट व्यवस्था रहेको उल्लेख गर्दै लोकतन्त्रमा सबैलाई उटाउन सकिने धारणा राखे । उनले धार्मिक सहिष्णुता र जातीय सद्भाव कायम राख्नमा भने सबै सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले आदिवासी जनजातिहरु आफ्नो हक र अधिकार उपभोगका लागि सचेत हुनुपर्नेमा जोड दिइन् । उनले आदिवासी जनजातिहरुको भाषा, लिपि एवम् संस्कृतिको संरक्षणका लागि पालिकाले बजेट विनियोजन गर्ने गरेको बताउँदै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाइन् । ‘हामीले हाम्रो पालिकामा सकेसम्म आदिवासी जनजातिको क्षेत्रमा पर्याप्त बजेट विनयोजन गरेर सम्बोधन गर्ने प्रयास गरेका छौं । तर त्यसको सही सदुपयोगका लागि आदिवासी जनजातिहरु समेत सचेत हुनुपर्नेछ’ उपाध्यक्ष राईले भनिनन् ।

नेपाल आदिवासी जनजाति महासंघका सल्लाहकार मोहनसिंह थेवेले संविधानले दिएको अधिकारको अधिकतम उपयोग गरेर आदिवासी जनजातिको क्षेत्रमा काम गर्न स्थानीय तहलाई सुझाव दिए । ‘स्थानीय सरकारहरुले स्थानीय पाठ्यक्रम बनाएर स्थानीय भाषा र संस्कृतिको बारेमा पढाउनुपर्छ’ थेवेले भने, ‘यहाँको मन्दिरहरुको मात्र होइन, गुम्बा र साकेला थानहरुको पनि पढाइ हुनुपर्छ । त्यसको नेतृत्व इलाम नगरपालिकाले गरोस् ।’
नेपाल आदिवासी जनजाति महासंघका कानुनी सल्लाहकार यामप्रसाद लिम्बूले आदिवासीहरुको समाधिस्थल राज्यबाटै अतिक्रमण भइरहेको बताउँदै त्यसको संरक्षण र संवर्द्धनमा तीनै तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

संविधान र कानुनले प्रत्याभूत गरेका अधिकारहरु समेत उपभोग गर्न आदिवासीहरुले नपाउनु विडम्बना रहेको उल्लेख गर्दै उनले सबैलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पछिल्लो समय रैथाने आदिवासीहरूको पहिचान, संस्कार, संस्कृति, इतिहास खतरामा पर्दै आएकोप्रति सचेत हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका वक्ताहरुले विश्व आदिवासी दिवसले नेपाल तथा विश्वका आदिवासीहरूको अधिकार स्थापित गराउन र एकताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
कार्यक्रममा आदिवासी जनजातिहरुको पहिचान र अधिकारको आन्दोलनलाई सफल बनाउन एवम् आदिवासी जनजातिहरुको परम्परागत ज्ञान, सीपको प्रवर्द्धन गर्दै पूर्ख्योली भूमि, भाषा र संस्कृतिको संरक्षणका लागि आगामी दिनमा निर्वाह गर्नुपर्ने विषयमा जाती संस्थाहरुसँग छलफल भएको थियो । जातीय संस्थाहरुले विभिन्न राजनीतिक दलहरुसँग छलफल, वहस पैरवी, संगठन सुदृढीकरण, प्रशिक्षणलगायतका कार्ययोजना तयार गरी कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
महासंघका अध्यक्ष चक्र येक्तेन (अभिषेक) को अध्यक्षता भएको कार्यक्रममा विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमो स्वागत उपाध्यक्ष भक्त थामी र संचालन सचिव जीवन वाङदेले गरेका थिए ।

विश्व आदिवासी दिवस आज अगस्ट ९ का दिन विश्वभर मनाइँदै छ ।















































