
इलाम : लिम्बू विद्यार्थी मञ्च इलामले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जिल्लाका उत्कृष्ट लिम्बू छात्र र छात्रालाई सम्मान गरेको छ ।
सोमबार लालमोहर सन्धिको अवसरमा आयोजित कार्यक्रममा मञ्चले नगद पुरस्कार सहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा छात्रतर्फ उत्सव सुब्बा लाबुङ र छात्रातर्फ सोहानी सुब्बा अगुवा रहेका छन् ।
सूर्योदय नगरपालिका ५ का लाबुङले इलामको समालबुङ माध्यमिक विद्यालयबाट ३ दशमलव ६० जि.पि.ए र इलाम नगरपालिका ४ का अगुवाले बालमण्डल माध्यमिक विद्यालयबाट ३ दशमलव ६० जि.पि.ए ल्याई एसईईमा लिम्बू विद्यार्थीहरुमा उत्कृष्ट भएका थिए । उनीहरुले नगद ५/५ रुपैयाँ सहित सम्मान पत्र प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि लिम्बू विद्यार्थी मञ्चका वरिष्ठ उउपाध्यक्ष रामकुमार लिङदमलगायतले सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
यसैगरी सोही कार्यक्रमको अवसरमा कविता वाचन समेत गरिएको छ ।
कार्यक्रममा प्राज्ञ तथा समालोचक कवि मुनाराज शेर्माले कविता र कवि तथा फरक आयमका संयोजक जितेन पंधाक मुस्कानले कविता र गजल प्रस्तुत सुनाएका थिए । त्यस्तै किरात याक्थुङ चुम्लुङका सल्लाहकार बखतबहादुर आङदेम्बेले पालाम सुनाएका थिए ।

कार्यक्रममा लिम्बुवान र गोर्खा सन्धि वि.स. १८३१ साउन २२ सम्बन्धी विषयवस्तु इतिहासविद् मोहन सिं थेवेले सम्भाषणको रुपमा राखेका थिए । विषयवस्तुमा टिकाटिप्पणी प्राज्ञ तथा समालोचक कवि मुनाराज शेर्माले गरेका थिए । समालोचक प्राज्ञ शेर्माले समेत कार्यक्रमको टिकाटिप्पणी गर्दै कविता सुनाएका थिए ।
कार्यक्रममा लिवि मञ्चका बरिष्ठ उपाध्यक्ष राम लिङदम, किरात याक्थुङ चुम्लुङका संघीय सचिव अभिषेक येक्तेन, लिवि मञ्चका कानुनी सल्लाहकार यामप्रसाद लिम्बू, संस्थापक सचिव सन्तोष नेम्बाङ र निवर्तमान अध्यक्ष अतीत योङहाले मन्तव्य राखेका थिए ।
लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष राजेन्द्र फागोको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष कमल नेम्बाङ र सञ्चालन सचिव सुशील मेरोहाङले गरेका थिए ।
साउन २२ गते तत्कालीन गोरखा राज्य र लिम्बुवानबीच सन्धि भएको ऐतिहासिक दिन हो । इतिहास अनुसार वि.सं.१८३१ साउन २२ गतेका दिन तत्कालीन पल्लो किरात लिम्बुवान राज्य स्वायत्तता र आत्मनिर्णयको अधिकार उपभोग गर्न पाउने गरी तत्कालीन गोरखा राज्यमा गाभिएको थियो । त्यहिं सन्धीलाई वि.सं.१८३१ को लालमोहर सन्धि भनिन्छ ।
तत्कालीन अवस्थामा लिम्बुवान गोरखाको सहराज्यको रुपमा रहने तर, स्वायत्त शासन सञ्चालनको अधिकार लिम्बुवानमै नीहित रहने गरी उक्त सन्धि भएको थियो । उक्त सन्धिमा गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बुवानको तर्फबाट सुन राय, कुम राय र जंग रायले हस्ताक्षर गरेका थिए ।
उक्त लालमोहर सन्धिमा त्यतिबेलाको भाषामा ‘… जगर, बगर, भीरमौरी, तीतेमाछा …’ जस्ता शब्द उल्लेख रहेका छन् । यसबाट सन्धि मार्फत जल, जङ्गल र जमिनमाथिको स्वायत्तता लिम्बुवानलाई नै दिइएको थियो ।
यस सन्धिलाई लिम्बू विद्यार्थी मञ्चले हरेक वर्ष कार्यक्रम गरी मनाउने गरेको छ । पहिचानवादी तथा लिम्बुवानजन्य संघसंगठनले पनि वि.सं.१८३१ को लालमोहर सन्धिको स्मरण गर्दै मनाइएका छन् । लालमोहर सन्धिको मर्म र ऐतिहासिक दसि प्रमाणको आधारमा अहिलेको संघीय संरचनामा अरुण पूर्वका ९ जिल्लालाई समेटेर छुट्टै लिम्बुवान राज्य निर्माण गरिनुपर्ने उनीहरुको माग छ ।















































