नेपाली मौलिक पर्यटन विकास गरौं : मन्त्री किराँती

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली मौलिक पर्यटन विकास गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका मन्त्री किराँतीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताउँदै नेपाली पर्यटन नेपालीपनकै हुनुपर्नेमा जोड दिए ।

पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिकीकरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री किराँतीले पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिने संरचनाले पूर्खाको झल्को दिनुपर्नेमा जोड दिए ।

‘विदेशीको नक्कल गर्ने बानीले हामी बिग्रिरहेका छौं’, मन्त्री किराँतीले भने, ‘यहाँको प्रकृति आफैँमा सुन्दर छ । डाँडाडाँडामा भ्युटावर जरुरी छैन । श्रमबाट संरक्षण गरौँ, डोजरबाट होइन ।’

नेपालको पर्यटन विकासले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै मन्त्री किराँतीले रैथाने स्वाद र स्वामित्व सहितको पर्यटन विकासमा सबैजना लाग्नुपर्ने तर्क गरे । मन्त्री किराँतीले पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार गरेर अगाडि बढ्ने प्रयास गरिएको बताए ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेतले इलाम जिल्लाको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भएपनि यस वर्ष बजेट विनियोजन नहुनु दुःखत रहेको बताए । उनले सम्भावना नै सम्भावना भएको इलामको राजमार्ग अस्तव्यस्त अवस्थामा रहेको बताउँदै यसलाई व्यवस्थित गर्न आफूले जोड दिइरहँदा पनि बजेटको व्यवस्थापन हुन नसकेको गुनासो पोखे ।

कार्यक्रममा प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले यसवर्षको बजेटमा इलामको पर्यटन क्षेत्र नसमेटिनु दुखद रहेको बताइन् । आफूले ६ पटकसम्म बजेट बक्तव्य पढ्दा समेत इलाम नदेखिएको बताउँदै उनले समावेशी विकासमा जोड दिइन् ।

नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा राईले नगरको विकासका लागि कति पनि कञ्जु्याइ नगरी काम गरिरहेको बताए । उनले हरेक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यस आवका लागि लम्पी स्किनले किसानका गाईवस्तुमा पुर्याएको क्षतिपूर्तिका लागि समेत बजेट विनियोजन गरेको बताए ।

कार्यक्रममा नगरको विकासमा योगदान गर्ने २८ व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार