इलामका सबै मेडिकल मापदण्ड विपरीत

  नयाँ बुलन्द
875 Shares

इलाम : मानिस आफ्नो स्वास्थ्यलाई अनुकूलमा राख्न खानपानदेखि विभिन्न व्यायाम गर्ने गर्दछ । स्वास्थ्यमा समस्या नहोस् भन्ने उद्देश्यले खानपान देखि विभिन्न क्रियाकलापमा ध्यान दिँदा दिँदै पनि स्वास्थ्यमा खराब आउन साथ स्वास्थ्य संस्था पुग्छ । आफ्नो स्वास्थ्य बिग्रन नदिन स्वास्थ्य संस्था पुगेपछि चिकित्सकको सल्लाअनुसार औषधी प्रयोग गर्ने गर्दछ । तर औषधी बिक्री वितरण गर्ने संस्थाले भने लापरबाहीको कारण स्वास्थ्यमा खेलबाड गरिरहेका छन् ।

जसको उदाहरण हो इलाम बजारमा सञ्चालन भएको मेडिकलहरू । यहाँ सञ्चालनमा आएका कुनै पनि मेडिकल मापदण्ड अनुसार औषधी बिक्री वितरण गरेका छैनन् ।  मेडिकलले औषधी बिक्री वितरणका लागि दर्ता गरे पनि मेडिकलले दर्ता भन्दा बाहिर रहेर मापदण्ड विपरीत औषधी जन्य सामग्रीहरू बिक्री वितरण गरिरहेका छन् । मापदण्ड विपरीत औषधीजन्य सामग्री वितरणले  मानिसको स्वास्थ्यमा अप्रत्यक्ष रूपमा खेलबाड त गरिरहेको छन् यसले गर्दा कर छली पनि भएको देखिन्छ । मेडिकलहरूले दर्ता नै नगरी क्रिम, डाइपर प्याड, पेस्ट, हरलेक्स लगायतका स्वास्थ्य सामग्री बिक्री गरिरहेका छन् ।

जिल्लाका सबै जसो मेडिकलले रेडियोमा सूचना बजाएर डाक्टर आउने विज्ञापन गरिरहेका छन् । दर्ता विना नै यसरी डाक्टर बोलाएर उपचार गर्नाले बिरामीमा समस्या आएको जबाफदेही हुने भन्नेमा पनि समस्या देखिएको छ । इलाममा केही बाहेक अन्य कुनै पनि मेडिकलले औषधि र औषधि जन्य सामग्री छुट्टा छुट्टै राखेर बिक्री नगरेको पाइएको छ, केही मेडिकलले त  औषधी र पशुका औषधी समेत एउटै पसलमा सञ्चालन गरिरहेको पाइएको छ ।

मापदण्ड विपरीत मेडिकल सञ्चालन हुँदा  स्वास्थ्य कार्यालय इलामकी सूचना अधिकारी रिता अधिकारीले अनुगमनको क्रममा कुनै पनि मेडिकलले बिरामी चेक गरेको डाटा नराखेको हुँदा कस्ता प्रकृतिका कति बिरामीले सेवा लिए भन्ने यकिन तथ्याङ्क नदेखिएकाले राष्ट्रिय तथ्याङ्कमा नै असर पुगिरहेको बताइन् । उनले निजी अस्पतालले उपचार गरेका बिरामीको रिपोर्टिङ नभएको कारण यकिन तथ्याङ्कमा समेत असर गरिरहेको भन्दै सरकारी अस्पतालको मात्रै तथ्याङ्क आइरहेको हुँदा मेडिकलको लापरबाहीले सिङ्गो तथ्याङ्क नै गलत देखाएको बताइन् ।  मेडिकलले औषधी बिक्री वितरण गर्ने गरी दर्ता गरे पनि सबै मेडिकले औषधीजन्य सामग्री मात्र होइन क्लिनिक नै सञ्चालन गरिरहेको  छन् ।

सबै जसो मेडिकलले दर्ता विना नै औषधी जन्य सामग्री बिक्री वितरण हुनुले कर छलि हुन सक्ने देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कोइरालाको नेतृत्वमा भएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनले औषधी र औषधीजन्य सामग्री एकै ठाउँ राखेको, समूह क र ख वर्गको औषधिहरु केही मेडिकलमा बाहेक व्यवस्थित रूपमा नराखिएको, म्याद गुज्रिएका औषधी व्यवस्थित नराखिएको, क्लिनिकमा सेवा शुल्क नराखिएको, अपाङ्गमैत्री नभएको र मापदण्ड पूरा नगरेको उल्लेख छ ।

त्यस्तै गरी सबै जसो मेडिकलले क्लिनिक सञ्चालनको अनुमति नलिई विशेषज्ञ चिकित्सक बोलाएर सेवा दिइरहेको, पुर्जा विना नै औषधी किनबेच गरिरहेको पाइएको हुँदा नियमित रूपमा अनुगमन सञ्चालन नहुँदा नियन्त्रण गर्न चुनौती रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै अनुगमन टोलीले दुर्गा मेडिकल हल र माई पोखरी डेनटलमा भेटिएको वन्ली फर हस्पिटल सप्लाई नामको मूल्य नभएको औषधी औषधी विभागले आवश्यक प्रक्रिया अघि बढाउने समेत प्रतिवेदनमा उल्लेख छ । सहायक प्रजिअ कोइरालाले मापदण्ड विपरीत सञ्चालनमा रहेका मेडिकल, डेन्टल, क्लिनिकहरूलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई पत्र पठाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार