तेह्रथुम, ६ साउन
प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गर्दै आज तेह्रथुम लगायत मुलुकभर विभिन्न कार्यक्रम गरी ४१ औं स्मृति दिवस मनाईएको छ । बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र भातृ संस्थाहरुले पार्टीको ३ रोपनी क्षेत्रफलमा वृक्षरोपण गरेका छन् । दिवशको अवशरमा कार्यक्रमका सहभागीहरुले सल्ला,धुपी,कल्की,अम्बक लगायतका विरुवा रोपेका हुन् । वृक्षरोपण संगै तेह्रथुम सांगितिक समुहको तर्फबाट बिभिन्न सास्कृतिक प्रस्तुती समेत भएका छन् ।

सोही अवशरमा सदरमुकाम म्याङलुङ स्थित पार्टी गणेशमान सिं स्मृती भवनमा एक कार्यक्रमको आयोजना गरि पार्टीका नेता तथा कार्यकर्ताहरुले जननायक बिपिको तश्विरमा फुल माल्यार्पण गरेका छन् । कार्यक्रममा तेह्रथुम कांग्रेस सचिव बिपिन निङलेकु, सभापती अर्जुन तुम्बाहाम्फे लगायतले बिपिको स्ममरण गर्दै उहाँले देखाउनुभएको समाजवादको चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रम नेपाली कांग्रेस म्याङलुङ नगर कार्य समितीका उपसभापती रामकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विक्रम संवत् २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।