माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ४ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार वडा कार्यालय मार्चेबुङको सभाहलमा सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
माङसेबुङ गाउँपालिका ४ नं. वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ४५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा ४ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा गजेन्द्र राई, भीमकुमारी राई, विष्णुकुमारी लिम्बू र जितेन्द्र चेम्जोङले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले सामुदायिक वनसँग सम्बन्धित क्षेत्रमा गाउँपालिकाले बजेट विनियोजन नगरेको, सीमसार, झरना र नदीनालाको क्षेत्रमा बजेट विनियोजना नभएको, आफ्ना नानीहरु विद्यालय जान रतुवा खोलामा झलुङ्गे पुलको नभएकाले समस्या रहेको, मुसे टोलमा खानेपानीको मर्मत सम्भारको आवश्यकता रहेको, कोलेनी-काभ्राबोटे सडकको ट्रयाक परिवर्तनको आवश्यकतालगायतका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष नविन लिम्बूले दिएका थिए ।
उनले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष लिम्बूले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उदेश्यसहित स्वागत वडा सचिव एवम् असिष्टेण्ड सब इन्जिनियर इश्वरप्रसाद दाहालले र वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष लिम्बूले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ । नागरिक अभिमतमार्फत वडा र पालिका तहमा सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति बढाइनुपर्ने, सभाबाट कानुन बनाउँदा र कार्यपालिकामा नीति, नियम, निर्देशिका, मापदण्ड तयार गर्दा सरोकारावालाई छलफलमा प्रतिनिधित्वि गराईनुपर्ने, कार्यालयमा भएको नागरिक बडापत्रको उपयोगिता र प्रयोग बढाइनुपर्ने, उजुरी पेटिकाको व्यवस्था गरी त्यसको उपयोग सम्बन्धी जनचेतना वृद्धि गरिनुपर्ने, गाउँपालिका र वडाको आम्दानी र खर्च बाहिर सूचना पाटीमा नियमित टाँस गर्नुपर्ने, गाउँपालिकाको वार्षिक नीति, कार्यक्रम र श्रोतका बारेमा नियमित जानकारी गराइनुपर्नेलगायत सुझावहरु औंल्याएको छ ।
त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । राम्रा पक्षहरुमा कर्मचारीको नियमित र समयमै उपस्थित हुने गरेको, सेवाग्राहीलाई समयमा नै सिफारिस उपलब्ध गराईएको, योजनाको अनुगमन राम्रोसँग हुने गरेको, सरसफाई, बस्ने कुर्सी सोफाको राम्रो व्यवस्था रहेको, आफूले राखेको विषयमा जनप्रतिनिधिले राम्रोसँग सल्लाह सुझाव दिने गरेको, पार्किङको व्यवस्था राम्रो रहेको, कर्मचारीले राम्रो र विश्वासनीय काम गर्ने गरेको, समयमा नै कार्यालय संचालनमा रहेकोलगायत रहेका छन् ।
त्यस्तै सुधार गर्नुपर्ने विषयहरुमा वडा सचिव र प्राविधिक छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने, सिसी क्यामेराको जडान गर्नुपर्ने, सेवाग्राहीको काम छिटो र सरल तरिकाबाट हुने व्यवस्था गरिनुपर्ने, पार्किङको व्यवस्था गरिनुपर्ने, कार्यालय बाहिरको सरसफाई गरिनुपर्ने, पासफोटो खिच्ने व्यवस्था पनि कार्यालयमा भए राम्रो हुने, कार्यालय परिसर तारबार र वृक्षारोपण गरे राम्रो हुने, वडा कार्यालयमा मात्र नभएर टोलगाउँमा पनि सूचना बोर्ड राखे राम्रो हुने, योजनाहरुको सूचना सप्रेषण गर्ने व्यवस्था गरिनुपर्ने, नबुझेको विषयमा सोध्दा कर्मचारीहरु झर्किने प्रवृति अन्त्य हुनुपर्नेलगायत औंल्याइएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो नेपालवाणी एफएम इलाम र नयाँ बुलन्दको अफिसियल फेसबुक पेज नयाँ बुलन्द र किरात समाचारबाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमका तस्विरहरु :