माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई सम्पन्‍न

  नयाँ बुलन्द
602 Shares

माङसेबुङ इलामको माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ६५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा १६ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा धनकुमार आङदेम्बे, सुजन न्यौपाने, भीमप्रसाद भट्टराई, किरण लिम्बू, यमराज नेम्बाङ, बसन्त योङहाङ, प्रेमबहादुर पुलामी, रमा आचार्य, भुपेन्द्र लिम्बू, चिन्तामणी बराल, खड्गबहादुर विश्वकर्मा, उमा निरौला, याम योङहाङ, सुवास मुखिया, अशोक निरौला र लोकराज योङहाङले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले पूर्वाधार विकास, सडक निर्माण, खानपानी व्यवस्थापन, शिक्षा, स्वास्थ्यलगायत विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष भुपाल योङहाङ, वडा सचिव टीकामाया नेपाल, सब इन्जिनियर युवराज दाहाल, पशु प्राविधिक हिमाल खनाललगायतले दिएका थिए ।

उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष योङहाङले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको उदेश्यसहित स्वागत  वडा सचिव नेपालले र वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष योङहाङले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु ‍औंल्याईएको छ । नागरिक अभिमतमार्फत वडा तहमा सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति बढाइनुपर्ने, सभाबाट कानुन बनाउँदा र कार्यपालिकामा नीति, नियम, निर्देशिका, मापदण्ड तयार गर्दा सरोकारावालाई छलफलमा प्रतिनिधित्वि गराईनुपर्ने, नागरिक बडापत्रको उपयोग बढाइनुपर्ने, उजुरी पेटिकाको व्यवस्था गरी उपयोगमा वृद्धि गरिनुपर्ने, आयोजना सम्पन्न भएपछि जाँचपास गर्दा प्राविधिकबाट सहज र प्रभावकारी समन्वय गरिनुपर्ने, वडाको आम्दानी र खर्च बाहिर सूचना पाटीमा नियमित टाँस गर्नुपर्ने, वडाको वार्षिक नीति, कार्यक्रम र श्रोत (बजेट) का बारेमा नियमित जानकारी गराइनुपर्नेलगायत सुझावहरु औंल्याएको छ ।

त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । कुनैपनि काम गर्दा सबैलाई खबर गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा बाँड्नुपर्ने, कार्यालयमा नियमित सरसफाईमा ध्यान दिनुपर्ने, कार्यालय परिसरभित्र फूल नर्सरी गर्नुपर्ने, कार्यालयमा दरबन्दी अनुसारको कर्मचारीको व्यवस्था गरिनुपर्ने, कार्यालयमा खानेपानीको व्यवस्था गरिनुपर्ने, सेवाग्राहीको कामको लागि फोटोकपी वडा कार्यालयबाटै गर्ने व्यवस्था गरिनुपर्ने, वडा कार्यालयमा देखिने गरी नागरिक वडापत्रको व्यवस्था गरिनुपर्ने, सूचना एवम् जानकारी समावेशी रुपमा गरिनुपर्ने, कार्यालयमा डस्टबिन राख्नुपर्ने लगायतका सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो नेपालवाणी एफएम इलाम र नयाँ बुलन्दको अफिसियल फेसबुक पेजबाट भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रमका तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार