इलाम : झापाको दमकदेखि इलामको चिसापानी जोड्ने दमक चिसापानी सडक (प्रस्तावित फाल्गुनन्द मार्ग) खण्ड निर्माणमा निर्माण कम्पनीले काम नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । सडक आयोजना र निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले जिम्मेवार नहुँदा नागरिकले सास्ती भोगिरहेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।
आक्रोशित स्थानीयले माङसेबुङ ३ का अगुवा केहरसिंह योङहाङको नेतृत्वमा सरोकार समिति नै गठन गरी काम चाँडो गर्न निर्माण कम्पनीलाई दवाद दिन थालेका छन् । विहीबार सरोकार समितिले माङसेबुङ गाउँपालिका ४ मार्चेबुङमा वृहत भेला नै आयोजना गरी निर्माण कम्पनीलाई काम चाँडो गर्न दवाव दिएका छन् ।
गाउँपालिकाका प्रतिनिधि, सडक डिभिजन कार्यालयको प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय सरोकारवालाहरुको संयुक्त भेलाले निर्माण कम्पनीलाई चाँडो काम गर्न ताकेता गरेका हुन् । भेलाले निर्माण कम्पनीका प्रतिनिधिहरुलाई तत्काल काम सुरु गर्नेगरी लिखित प्रतिवद्धता गराएका छन् ।
छलफलमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, निर्माण कम्पनी गणपति जेभीका प्रतिनिधि तुलसीराम भण्डारी र महालक्ष्मी किरातेश्वर निर्माण कम्पनीका प्रतिनिधि प्रविन राई, सडक डिभिजन कार्यालय झापाका इन्जनियर सुधिरकुमार झा, रमेश शाह, सुपरभाइजर गणेश पौड्यालसहित दमक र माङसेबुङका स्थानीय सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
निर्णय पुस्तिकामा सडक निर्माणको जिम्म पाएको लुम्बिनी गणपति जेभीका प्रतिनिधि भण्डारी र महालक्ष्मी किरातेश्वर निर्माण कम्पनीका प्रतिनिधि राईले हस्ताक्षर गरेका छन् । उनीहरुले सडक निर्माणको काम तत्काल सुरु गर्ने र यसअघि काम गरेका मजदुरलाई दिन बाँकी रहेको ज्याला समेत तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । लुम्बिनी गणपति जेभीका प्रतिनिधि भण्डारीले १५ दिनभित्र र र महालक्ष्मी किरातेश्वर निर्माण कम्पनीले असार मसान्तभित्र मजदुरले पाउने सबै ज्याला उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएका छन् ।
‘प्राविधिक कारणले हामीले मजदुरलाई समयमै ज्याला उपलब्ध गराउन सकेनौं । जसकारण केही समय काम हुन सकेन । तर अब हामी काम थाल्छौं’ लुम्बिनी गणपति जेभीका प्रतिनिधि भण्डारीले भने, ‘१५ दिन भित्रमा सबै मजदुरको ज्याला भुक्तानी गरी वर्खामा समेत आवतजावतमा अवरुद्ध नहुनेगरी सडक निर्माणको कामलाई निरन्तरता दिन्छौं ।’
निर्माण कम्पनीहरुले करोडौं रकम मजदुरलाई दिन रहेको पाइएको छ । निर्माण कम्पनीले मजदुरलाई रकम नदिएकै कारण मजदुरहरुले काम रोकिएको खुलेको छ । ३ वर्षदेखिको मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । ‘हामीले विगत ३ वर्षदेखि मजदुरको ज्याला पाएका छैनौं । निर्माण कम्पनीले रकम भुक्तानी गरेर हामीलाई भुक्तानी नै भएको छैन भन्दै छलछाम गरिरहन्छ’ माङसेबुङ ४ का निवर्तमान वडा सदस्य समेत रहेका सन्त विश्वकर्माले भने, ‘मैले १० लाख रुपैयाँ पाउन बाँकी छ । रकम नपाएपछि मजदुरहरुले काम गर्दैनन् । जसका कारण काममा अवरोध भइरहेको छ ।’
विश्वकर्मा त प्रनिधिनि पात्र मात्र हुन्, निर्माण कम्पनीले करोडौं भुक्तानी गर्न बाँकी छ । कतिपयलाई रकम विनाको चेक थमाएका छन् भने कतिपयलाई विभिन्न वहानामा अलमलाइरहेको पाइएको छ । निर्माण कम्पनीले सरकारबाट कार्यसम्पादनका आधारमा भुक्तानी लिएको भएपनि मजदुरलाई नदिएपछि मजदुरहरुले काम रोकेका थिए । मजदुरले काम रोकेपछि वर्खा सुरु भएसँगै स्थानीयलाई सास्ती सुरु भएको छ ।
‘पैसा नपाई काम गर्नै सकिदैन । पहिले ज्याला पाउनुपर्यो अनि काम सुरु हुन्छ’ माङसेबुङ ४ का दिलकुमार राई भन्छन्, ‘निर्माण कम्पनीले मजदुरको ज्याला दिने त भन्यो तर खासै विश्वास छैन । किनकी यस्तो भाखा धेरैपटक नाघिसकेको छ ।’
गाउँपालिका उपाध्यक्ष नेम्बाङले मजदुरले ज्याला पनि पाउने र निर्माण कम्पनीले काम पनि गर्ने वातावरण तयार गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाए । ‘मजदुरले ज्याला पनि पाउनुपर्यो तर काम पनि रोकिनु भएन’ नेम्बाङले भने, ‘त्यसका लागि गाउँपालिकाको तर्फबाट हामी आवश्यक पहल गर्नेछौं ।’
झापाको दमक नगरदेखि इलामको माङसेबुङ गाउँपालिकास्थित चिसापनी जोड्ने सडकको कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको ठेक्का लुम्बिनी गणपति जेभीले पाएको थियो । दुई खण्डमा ठेक्का लागेको सडकको तल्लो खण्डमा प्रतिनिधिका रुपमा महालक्ष्मी किरातेश्वर निर्माण कम्पनीले र माथिल्लो खण्ड लुम्बिनी गणपति जेभीले काम गरिरहेको छ ।
तर विगत दूई महिनायता दुवै कम्पनीले मजदुरलाई ज्याला नदिई काम अलपत्र पारी सम्पर्कविहीन भएका थिए । सडक आासपासमा निर्माणका लागि ल्याईएका रोलर, ग्रेडर, स्काभेटर, जेसीभी, टिप्परलगायत थुप्रै उपकरणहरु देखिन्छन् । तर ती उपकणहरुमा खिया लाग्न थालिसकेको देखिन्छ ।
निर्माण कम्पनी सम्पर्कविहीन भएपछि सडक निर्माणको काममा चासो नदिएको र सडक अलपत्र पारेको स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए । स्थानीयबासीले आक्रोश बढ्दै गएको भन्दै सडक निर्माणमा आयोजना र सडक विभागलाई गम्भीर चासोका साथ काम अघि बढाउन आग्रह गरेका थिए । सो सम्बन्धी समाचार नयाँ बुलन्दमा प्रकाशित भएपछि स्थानीयले सरोकार समिति गठन गरी निर्माण कम्पनीलाई ताकेता गर्न थालेको हो ।
लुम्बिनी गणपती जेभी नयाँबानेश्वर, काठमाडौंले तत्लो खण्ड ५४ करोड ४४ लाख ८७ हजार छ सय ३९ (भ्याट र पिएससहित) र माथिल्लो खण्ड ५९ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैयाँ (भ्याट र पिएससहित) मा सडक कारोपत्रे स्तरको स्तरोन्नति गर्ने कार्यका लागि २ फागुन २०७६ मा सरकारसँग सम्झौता गरेको थियो । सम्झौतामा २ फागुन २०७९ मा नै काम सम्पन्न गर्नुपर्ने उल्लेख भएपनि सम्झौता मिति सकिएपछि म्याद थप गरेको छ ।