इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले पहिलो पटक सबै वडामा सार्वनजिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
फाकफोकथुमले विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सम्बन्धित वडामा नै सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरी पृष्ठपोषण लिएको हो ।
फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन एवम् सहजीकरणमा सम्बन्धित वडा कार्यालयको प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन भएको हो ।
गएको आइतबार ४ नं. वडा कार्यालय फुएतप्पाको प्राङ्गणदेखि सुरु भएको वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार १ नं. वडा कार्यालय, ठिङ्गेपुरको प्राङ्गणमा आएर समापन भएको हो ।
सोमबार ५ नं. वडा कार्यालय, लुम्देको प्राङ्गणमा, मंगलबार, ७ नं. वडा कार्यालय, दोकानडाँडाको प्राङ्गणमा, बुधबार, ६ नं. वडा कार्यालय, पोखरीको प्राङ्गणमा, विहीबार, २ नं. वडा कार्यालय, कोल्बोटेको प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो ।
यसअघि गएको फागुनमा ३ नं. वडा कार्यालय र गाउँकार्यपालिकाको संयुक्त रुपमा आमचोकमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन भएको थियो ।
कार्यक्रममा राजनैतिक दल, टोल विकास संस्था, सामाजिक संघसंस्था, गैरसरकारी संस्था, उपभोक्ता समिति, सहकारी संस्था, सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, आदिवासी जनजाति, महिला, दलित, बालबालिका, युवा, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवम् सबै लक्षित वर्ग, नागरिक समाज, समाजसेवी, बुद्धिजीवि, संचार जगतलगायत सेवाग्राही र सरोकारवाला वडाबासीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बन्धित वडा कार्यालयहरुबट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।
त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत भएको थियो ।
त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत भएको थियो ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत भएको थियो ।
त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । वडाको तर्फबाट सम्बन्धित वडाका वडाध्यक्षहरुले सेवाग्राहीको प्रश्नको जवाफ दिनुका साथै आगामी दिनमा सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाउनेएका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले फाकफोकथुमले सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
आउँदो असारमा पुन: ३ नं. वडा कार्यालय र गाउँकार्यपालिकाको संयुक्त रुपमा आमचोकमा सार्वजनिक सुनुवाई कार्यक्रम हुनेछ ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।