
माङसेबुङ : इलामको माङसबुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न र सुझाव लिन स्थलगत रुपमा सरोकारवालासँग छलफल सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष हेमन्त राईको नेतृत्वमा विद्यालय र स्वास्थ्य संस्थाहरुको स्थलगत रुपमा नै अवलोकन, अनुगमन र सुपरिवेक्षण गरी सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।
गाउँपालिकाभरीका विद्यालय र स्वास्थ्य संस्थाहरुमा गरिने छलफल कार्यक्रम शुक्रबार वडा नम्बर ४ बाट सुरु गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
शुक्रबार वडा नम्बर ४ को एक सामुदायिक स्वास्थ्य इकाई र पाँच विद्यालय, वडा नम्बर ५ को एक सामुदायिक स्वास्थ्य इकाई र छ विद्यालय एवम् वडा नम्बर ३ को एक सामुदायिक स्वास्थ्य इकाई र एक विद्यालयसँगको अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल गरेको छ ।
गाउँपालिका अध्यक्ष राईसहित उपाध्यक्ष विनोद नेम्बाङ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडालगायतको टोलिले पहिलो दिन वडा नम्बर ४ को सिमलटार सामुदायिक स्वास्थ्य इकाई, सरस्वती आधारभूत विद्यालय सिमलटार, विद्यासृजनात्मक माध्यमिक विद्यालय मार्चेबुङ, दुर्गम आधारभूत विद्यावय तिनदोभाने, जनज्योति आधारभूत विद्यावय झिल्के, सरस्वती आधारभूत विद्यालय सिङ्फेरेको अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल गरेको छ ।

त्यस्तै वडा नम्बर ५ को भालुटार सामुदायिक स्वास्थ्य इकाइ, सरस्वती माध्यमिक विद्यालय भालुटार, जयस्वरी आधारतूत विद्यालय खानिटार, भालुटार मन्टेस्वरी, फाल्गुनन्द बोर्डिङ स्कूल, किरात सान्जिम्मुन्धुम निसाम हिम आधारतूत विद्यालय र किरात सान्जिम मुन्धुमको अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल गरेको छ ।
त्यसैगरी वडा नम्बर ३ को आत्मानन्द स्वास्थ्य इकाई मनिपुर र पबित्र आधारभूत विद्यालयको अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल गरेको छ ।
अध्यक्ष राईले छलफलका क्रममा सकारात्मक सुझावहरु पाइरहेको बताए । छलफलबाट प्राप्त सुझावलाई गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्नेछ । ‘हामी गाउँसभाको तयारीमा छौं । गाउँसभाका लागि नीति तथा कार्यक्रम बनाउन शिक्षा र स्वास्थ्यको अवस्था बुझ्न अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल सुरु गरेका छौं’ अध्यक्ष राईले भने, ‘हामी गाउँपालिकाभरीका विद्यालय र स्वास्थ्य संस्थामा पुग्नेछौं ।’
आइतबारदेखि वडा नम्बर ३ को खलङ्गेबाट अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल सुरु गरिने अध्यक्ष राईले बताए ।















































