चुलाचुली गाउँपालिकाको चौथो सार्वजनिक सुनुवाई हात्तीलेदामा

  नयाँ बुलन्द
287 Shares

चुलाचुली इलामको चुलाचुली गाउँपालिकाले चौथो पटकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार चुलाचुली १ को हात्तीलेदामा सम्पन्न गरेको छ ।

गाउँकार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र १ नम्बर वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने तयारी गरेको चुलाचुलीले १ नम्बर वडा सम्पर्क कार्यालय हात्तीलेदामा चोथो पटक सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।

‘जनतासँग अध्यक्ष कार्यक्रम’ अन्तरतगत चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ५० जना सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा १० जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा गोवर्धन लिम्बू, सन्तोष थाम्सुहाङ, भवानी आचार्य, उत्तमकुमार फियाक, महेश राई, विजय पाख्रिन, मानबहादुर पौड्याल, लक्ष्मीप्रसाद दङ्गाल, मञ्जु खनाल र गोपाल राईले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले स्थानीय सडकको नामाङ्करण, टोल विकास संस्थाको क्षेत्राधिकार, कृषि शाखाबाट दिईने अनुदान, स्थानीय खोलाले गरेको कटान, सडक निर्माण, लम्की स्कीन रोगको महहामारीका लागि पालिकाको भूमिका, योजनाहरुको स्थलगत अनुगमन, कुमालेखोलाको पूल, माङतोकमार्गको कालोपत्रे, गाउँपालिकाको बेरुजु, चालू खर्च, पूँजिगत खर्च, आन्तिरिक आम्दानी, रासायनिक मल, प्रशासकीय भवन अपाङ्गमैत्री नभएको, सिचाईंतर्फको बजेट, जग्गा धनीपूर्जा, हात्ती आतङ्क नियन्त्रणको प्रयास, आपङ्गता सम्बन्धी नीति नियमको पालना, सडकको ग्राभेल, सडकमा खानेपानीको पाइपलाई विस्तारलगायतको चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु योङहाङ लावती, वडा अध्यक्ष पूर्ण लावती र गाउँपालिकाका पशु सेवा शाखा प्रमुख महेशकुमार राईले दिएका थिए ।

उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । सेवाग्राहीको सुझावलाई आगामी नीति, कार्यक्रम र योजनामा समेट्दै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रमको उदेश्यसहित स्वागत वडा सचिव गोविन्दप्रसाद ढकाल र वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी जानकारी वडा अध्यक्ष लावतीले  प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३१ जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३१ जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले चुलाचुली गाउँपालिकाले वडासत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिरहेको छ ।

बाँकी वडा नम्बर २, ४ र गाउँपालिकामा समेत चाँडै सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिने गाउँपालिकाले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार