इलाम : इलामको इलाम नगरपालिका १ साँखेजुङमा अनिर्वाय महिनाको एक दिन श्रमदान कार्यक्रम सुरु भएको छ ।
शनिबार वडा कार्यालयको संयोजजन र दुईवटा बाटो उपभोक्ता समितिको आयोजनामा श्रमदान कार्यक्रम सुरु भएको हो । आगामी दिनमा साँखेजुङका सबै बाटोमा श्रमदान अभियान सुरु गर्ने वडाअध्यक्ष गायत्रीराम बस्नेतले बताए ।
वडा अध्यक्षले उद्घाटन गरेको श्रमदान कार्यक्रममा शनिबार घडेरीखोला-गैरीवास सडक र लिमलिमा-सेती- धारा सडकका उपभोक्ता समितिका उपभोक्ता र इलाम १, साँखेजुङवासीहरुको सहभागिता रहेको थियो ।
श्रमदान गर्न एक सय भन्दा बढी स्थानीय सहभागी थिए । उनीहरुले नेपाल सरकारले तोकेको श्रम अनुसार ५० हजार भन्दा वढीको श्रमदान गरेका छन् । उनीहरुले ४ किलोमिटर सडकमा श्रमदान गरेका थिए । साँखेजुङका सडक मध्येको सबैभन्दा पुरानो सडकको रुपमा रहेको घडेरी खोला-गैरीबास सडक लामो समयसम्म अलवेदर नभएकोले अव यो सडकलाई अलवेदर बनाउन आफुलागी पर्ने पनि अध्यक्ष बस्नेतले बताए ।
श्रमदान कार्यक्रममा साँखेजुङका ७० वर्षीय समाजसेवी ओमबहादुर ढकाल, घडेरी खोला-गैरीवास सडकका उपभोक्ता समितिका अध्यक्ष धनराज दाहाल, लिमलिमा सोतीधारा सडकका उपभोक्ता समितिका अध्यक्ष गिरी वहादुर राईको सक्रिय सहभागिता रहेको थियो । श्रमदानमा साविक साँखेजुङ वडा नम्बर २ का पूर्ववडा अध्यक्ष हरप्रसाद तिम्सीना, केन्द्रीय चिया सहकारीका संस्थापक अध्यक्ष गोविन्द दाहाल, ग्रिनहिल एकाडोमीका संस्थापक दिपेन्द्र थापा, समाजसेवी युक्तवहादुर सुवेदी, नेपालटार माध्यमिक विद्यालयका शिक्षक टेकेन्द्र बस्नेत लगायतको सहभागीता रहेको थियो ।
श्रमदान गर्ने एक सय बढीलाई नेपालटारका युवा व्यवसायी तथा समाजसेवी तारा थपाले खाजाको व्यवस्था गरेका थिए ।