इलाममा उभौलीको रौनक (तस्बिरहरु)

  नयाँ बुलन्द  219 पटक हेरिएको

इलाम : ढोल, झ्याम्टाको तालमा इलाममा उभौलीको अवसरमा शुक्रबार तन्नेरीहरु साकेला सिली नाचेका छन् । किरात राई यायोक्खा इलाम नगर समितिको आयोजनामा भएको साकेला सिलीमा किरातीहरुमात्र होइन, गैरकिरातले समेत लहर मिलाएका छन् ।

किरातीहरुले वैशाखे पूर्णिमामा उभौली र मंसिरे पूर्णिमामा उधौली गरी वर्षमा दुई पटक यो सिली नाच्ने गर्दछन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली र मंसिरे पूर्णिमाको बेला उधौली लाग्ने भएकाले उधौली भनिएको अगुवाहरुको भनाई छ ।

उभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोसलगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । मंसिरे उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । मंसिरे पूर्णिमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली मनाउने गरिएको छ। उभौली–उधौली आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ ।

उभौलीको अवसरमा साकेला नाच्न आएका किराती समुदायले ‘कोशी’ प्रदेशको विरुद्ध प्रदर्शनसमेत गरेका छन् । ‘प्रदेशको नाम कोशी खारेज गर’, ‘कोशी नाम मान्दैनौं’, ‘कोशी नाम मुर्दावाद’ लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रमका वक्ताहरुले प्रदेशको नामाङ्करणका क्रममा राज्यले विभेदमा पारेका समुदायको पहिचान र अस्तित्वको मागलाई वेवास्ता गर्दै एकल जातीय आधारमा ‘कोशी’ नाम पारित गरेको भन्दै खारेज गरी पुन: नामाङ्कन गर्न माग गरे । पहिचानको आधारमा पुनःनामांकन नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय उपमहासचिव कृष्णकुमार खालिङ राई, पूर्व केन्द्रीय सदस्य प्रेम नाछिरिङ, किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष उमप्रसाद लिम्बू, इलाम अध्यक्ष बुद्धमाया सोङ्मी र नेपाल तामाङ घेदुङका केन्द्रीय सदिय छिकिन तामाङले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार