‘कोशी’ प्रदेश नामको विरोध गर्दै किरातीहरुले उभौली पर्व मनाए

  राम योङहाङ  168 पटक हेरिएको

इलाम : प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानको आधारमा पुन: नामाङ्कनको माग गर्दै किरात समुदायले शुक्रबार उभौली पर्व मनाएका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन किरात समुदायले प्रकृति तथा भूमि पुजेर हर्षोल्लास पूर्वक मनाउने उभौली पर्व यसवर्ष भने आन्दोलनको रुपमा मनाएका हुन् । पूर्वी नेपालमा बाहुल्यता रहेको किरात समुदायले यस वर्ष पर्व मनाउँदै ‘कोशी’ नाम सच्याउन माग गरेका छन् ।

किरात समुदायले विहान प्रकृति एवम् भूमिको पूजाअर्चना गरी दिउँसो इलाम सदरमुकाममा भेला भएर आन्दोलनको रुपमा साँस्कृतिक प्रदर्शन गरेका छन् । किरात समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजासहित प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानको आधारमा पुन:नामाङ्कनको माग गरेका हुन् ।

आफ्नो सांस्कृतिक पोसाकसहित भेला भएका किरात समुदायले लिम्बू जातिको च्याब्रुङ नाच (केलाङ) र राई जातिको साकेला सिली प्रस्तुत गरेका थिए  । साथै उनीहरुले ‘प्रदेशको नाम कोशी खारेज गर’, ‘कोशी नाम मान्दैनौं’, ‘कोशी नाम मुर्दावाद’ लगायतका नारासहित प्रदर्शन गरेका थिए ।

कार्यक्रमका वक्ताहरुले प्रदेशको नामाङ्करणका क्रममा राज्यले विभेदमा पारेका समुदायको पहिचान र अस्तित्वको मागलाई वेवास्ता गर्दै एकल जातीय आधारमा ‘कोशी’ नाम पारित गरेको भन्दै खारेज गरी पुन: नामाङ्कन गर्न माग गरे ।

आदिवासी भूमिपत्रको पहिचान र अधिकारको मागलाई राज्यले सम्बोधन नगरे राजनीतिक अस्थिरता बढ्ने र त्यसले द्वन्द्व बढाउने चेतावनी दिदैं वक्ताहरुले ‘कोशी’ नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक पहिचानको आधारमा पुनः नामकरण गर्न माग गरे । उनीहरुले प्रदेशको नाम घोषणा भएदेखि नै आन्दोलन गरिरहेको स्मरण गराउँदै पहिचानको आधारमा पुनःनामांकन नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

कार्यक्रममा किरात राई यायोख्खाका केन्द्रीय उपमहासचिव कृष्णकुमार खालिङ राई, पूर्व केन्द्रीय सदस्य प्रेम नाछिरिङ, किरात याक्थुङ चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष उमप्रसाद लिम्बू, इलाम अध्यक्ष बुद्धमाया सोङ्मी र नेपाल तामाङ घेदुङका केन्द्रीय सदिय छिकिन तामाङले सम्बोधन गरेका थिए ।

उभौली पर्वमा बालीनाली सप्रियोस्, अन्नबालीमा किरा-फट्याङग्रा नलागोस्, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गर्ने गरिन्छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गर्ने परम्परा रहेको छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतरि उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको भनाई छ । वैशाख शुक्ल पूर्णमिादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पन उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मंसिर शुक्ल पूर्णीमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस वैसाख पूर्णिमादेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाई पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिन लाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार