इलामको वायुको गुणस्तर संवेदनशील समूहका मानिसका लागि अस्वस्थ

इलाम : इलामको वायुको गुणस्तर संवेदनशील समूहका मानिसका लागि अस्वस्थ रहेको पाईएको छ ।

नेपाल सरकारको वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार इलामको वायुको गुणस्तर संवेदनशील समूहका मानिसका लागि अस्वस्थ रहेको पछिल्लो एक अध्ययनले देखाएको हो ।

इलाम चोकबजारस्थित अमेरिकन कर्नरमा जडान गरिएको लो कस्ट सेन्सरको तथ्याङ्क अनुसार इलामको वायुमा औसत प्रतिघनमिटर १४७ माइक्रोग्राम सुक्ष्म कणहरु पाइएको हो । जुन नेपाल सरकारको वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड भन्दा करिब चार गुणा बढी र विश्व स्वास्थ्य संगठनको भन्दा २९ गुणा बढी हो । जसले बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रस्वास र मुटुका बिमारीहरुलाई बढी प्रभावित पार्नेछन् ।

वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डले पिएम २ दशमलव ५ मापन गर्दा प्रतिघनमिटर वायुमा औसत ४० माइक्रोग्रामसम्म सुक्ष्म कण भएमा गुणस्तरीय वायु भन्ने बुझिन्छ । त्यसैगरी १०० माइक्रोग्रामसम्म मध्यम, १०० देखि १५० माइक्रोग्रामसम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५० देखि २०० माइक्रोग्रामसम्म अस्वस्थ, २०० देखि ३०० माइक्रोग्रामसम्म धेरै अस्वस्थ र ३०० देखि ५०० माइक्रोग्रामसम्म भएमा खतरानक अवस्था रहेको बुझिन्छ ।

अमेरिकी दुतावास स्वच्छ उर्जा नेपालको सहयोगमा हरित शान्ति अभियान, इलाम नगरपालिका, अमेरिकी कर्नर इलामको सहआयोजनामा वातावरण संरक्षण मञ्च नेपाल (इसिएफ नेपाल) ले इलाम नगरपालिकाभित्र संचालन गरेको वायु प्रदुषण सम्बन्धी सचेतनामूलक अभियानका क्रममा इलाम बजारको वायुको गुणस्तर सम्बन्धी अध्ययन गरेको थियो ।

सोमबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी इसिएफ नेपालका अध्यक्ष हैकम घिसिङले इलाम चोकबजारको वायुको गुणस्तर सम्बन्धीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन्  । अध्यक्ष घिसिङले इलाम बजारको वायुको गुणस्तर स्वस्थ कायम गर्नका लागि सरोकारवाला सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

‘अव्यवस्थित शहरीकरण, औद्योगीकरण, वन, डढेलो, पुराना सवारी साधन निर्वभ संचालन, अव्यवस्थित फोहरमैला, सडक पूर्वाधार निर्माण, पराल, फोहोर तथा हानिकारक वस्तु खुल्ला रुपमा जलाउने जस्ता क्रियाकलापले वायुमा हानिकारक कणहरु मिसिन गई प्रदुषण बढ्दै गईरहेको छ’ पत्रकार सम्मेलनमा अध्यक्ष घिसिङले भने, ‘बढ्दो वायु प्रदुषणले मानव स्वास्थ्यमा नकरात्मक असर पारिरहेको छ । यसतर्फ सरोकारवाला सबै पक्षको विशेष ध्यान जान जरुरी छ ।’

इसिएफ नेपालले स्वच्छ उर्जा नेपालको ‘सबैका लागि स्वच्छ र सफा वायु अभियान’ अन्तगत देशका विभिन्न ८ शहरमा स्थानीय युवाको अगुवाईमा सम्बन्धित क्षेत्रका विज्ञहरुद्वारा जनप्रतिनिधि, स्थानीय तथा सरोकारवालाई वायु प्रदुषण सम्बन्धी सचेतना अभिवृद्धि गराउने, अध्ययन अनुसन्धान मार्फत वायु प्रदुषणको अवस्था, प्रभाव र न्युनीकरणका लागि पहल गर्ने विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।

इसिएफ नेपालले इलाममा वायु प्रदुषण सम्बन्धी २५ स्थनमा विद्यालय तथा समुदाय सचेतना कार्यक्रम, वायु प्रदुषण सम्बन्धी युवाहरुबीच टिकटक प्रतियोगिता, प्रश्नावली सर्वेक्षण, सचेतनामूलक होर्डिङ बोर्ड निर्माण, पर्चा वितरण, वायु प्रदुषण सम्बन्धी वक्तृत्वकला र चित्रकला प्रतियोगिता संचालन गरिरहेको  छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार