सम्पदाको प्रचार गर्न इलाममा माङमालुङ महोत्सव

  नयाँ बुलन्द
217 Shares

इलाम : प्राकृतिक छटाहरूले भरिएको पर्यटकीय माङमालुङका स्थानीय नयाँ वर्षमा हजारौं पर्यटकलाई स्वागत गर्ने तयारीमा जुटेका छन् ।  तीन सय वर्ष पुरानो धार्मिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय क्षेत्र माङमालुङमा १७ सय रोपनी भन्दा बढि क्षेत्रमा लुकेर बसेका मनै लोभ्याउने नीधिहरूको प्रवद्र्धन गर्ने उद्देश्यसहित माङमालुङ कृषि तथा पर्यटन महोत्सवमा जुटेका स्थानीयले नयाँ वर्षको पहिलो र दोस्रो दिन पाहुनालाई स्वागत गर्ने चाँजोपाँजो मिलाएका हुन् ।

बहुल संस्कृतिको केन्द्रजस्तै लाग्ने माङमालुङमा जात जातिको झाँकीसहित एक दर्जन कलाकारको गीत र नृत्यको मजा पनि लिने अवसर मिल्ने आयोजक समितिकी सदस्य कमलमाया राईले बताइन् । इलामको पश्चिमी क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ र ६ मा पर्ने माङमालुङ पर्यटकीय क्षेत्र रहेको छ ।

बैशाख १ र २ गते हुने महोत्सवमा पालिका भित्रका कृषि सामग्रीको बिक्री वितरण र प्रदर्शन हुनेछन् । महोत्सबले यहाँ उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा  पुर्‍याउनका लागि सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले जनाएको छ ।

एक लाख ५० हजारभन्दा बढी पर्यटक भित्राउने उद्देश्यका साथ आयोजना गरिएको दुई  दिने महोत्सवबाट यहाँका पर्यटकीय क्षेत्रका प्रचारप्रसार गरी विश्वमा चिनाउने लक्ष राखिएको छ । कृषितर्फ अलैंची, कूचो, अदुवा,चिया,स्कुसलगायत खाद्यान्न बाली मकै,आलु मुख्य हुन् ।

व्यापारिक हिसाबले चिसोपानी पञ्चमी बजार पाँचथरको दक्षिणी र इलामको दक्षिण पश्चिमी क्षेत्रका लागि केन्द्र मान्न सकिने भएको कारण महोत्सवको आयोजना गरिएको आयोजक समितिका सचिव कमल कार्कीले जानकारी दिए ।

तराई पहाड हिमालको अनुपम दसष्य अवलोकन गर्न सकिने माङमालुङ अहिले पाहुनाको पर्खाइमा रहेको सचिव कमल कार्कीले बताए । माङमालुङको आफ्नै गर्भिलो धार्मिक महत्व रहेको छ । अनिकाल, अनाविष्टिमा समेत स्थानीयले माङमालुङको पुजाआजा गर्दा फलिफाप हुने स्थानीय देश बहादुर राई बताउँछन् ।

स्थानीय राई समुदायको लागि माङमालुङ आस्थाको केन्द्र नै हो । अन्य समुदायका लागि पनि एक पटक घुम्नै पर्ने धार्मिक क्षेत्रको रुपमा विकास गर्न स्थानीय कम्मरकसेर लागेका छन् । किरात धर्मगुरुले ध्यान गरेको क्षेत्रसहित यहाँ कान्छी औंलाले हल्लाउन सक्ने विशाल ढुंगा समेत रहेको छ । अन्य प्रशस्त देव स्थलको बेग्ला बेग्लै महत्व रहेको स्थानीय इश्वरमान राई बताउँछन् ।

माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ ।  सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँके, घुर्पिसे पञ्चमी, रवीहुँदै र अर्को बाटो इलामकै मंगलबारे, गजुरमुखी, इभाङ हुँदै गाडीबाट पनि पुग्न सकिन्छ । झापाको दमकदेखि गाडी चढे रतुवा खोलाको किनारैकिनार त्यसपछि माङसेबुङ भएर तीन घण्डामा माङमालुङ पुग्न सकिन्छ ।

पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे,टोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । इलाम सदरमुकामदेखि पश्चिममा अवस्थित माङमालुङ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।

माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाईमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको एक पवित्र धार्मिक क्षेत्र मानिन्छ ।

यहाँ उधौली र उभौलीमा गरी वर्षामा दुई पटक पूजापाठ हुने गरेको छ । यहाँका मठमन्दिरमा बलि पूजा नगर्नु यसको प्रमुख विशेषता हो । आयोजक समितिका अध्यक्ष किरण राई इलामको पश्चिमी क्षेत्रमा पर्यटकीय चहलपहल वृद्धि गर्न महोत्सवको आयोजना गरेको बताउँछन् ।

माङमालुङमा औपचारिक पूजा गर्न थालिएको साढे तीन दशक जति भएको पाईन्छ । यसको उत्पति भने तीन सय वर्ष अघि भएको अनुमान स्थानीय बासिन्दाको छ । माङमालुङ प्राकृतिक सौन्दयले भरिपूर्ण क्षेत्र हो । यहाँ विभिन्न प्रजातीका वनस्पति, बोटविरुवा, जीवजन्तु, राचुरुङ्गी, रंगीचंगीहरु नजिर्कबाट नियाल्न सकिन्छ । यहाँका गुराँसेडाँडा (रमिते), ढेङ्गुरे, तीनथुम्की र हस्टेडाँडालगायतका क्षेत्र सर्योदय र सर्यास्त दृश्यावलोकनका लागि  समेत उपयुक्त क्षेत्र हुन् ।

OLYMPUS DIGITAL CAMERA

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार